यतिबेला राष्ट्रपति ट्रम्पभित्र विचित्रको दिव्यज्ञान पलाएको छ । उनी रुसलाई हेर्ने ‘पुरानो चस्मा’ फेर्न आतुर छन् । फलस्वरूप युक्रेनलाई दिँदै आएको सम्पूर्ण सैनिक सहायता रोकिएको छ । जान-अनजानमा जिलेन्स्की बन्न चाहेका या बनिरहेका विश्वभरका ‘जिलेन्स्की’हरूलाई अर्थपरक सन्देश दिएका छन् । असफल ओभल वार्ताबाट उत्पन्न ‘ट्रम्प हलचल’ बुझ्न विश्वलाई अवसर दिँदै छन् ।
✍ दीपेन्द्र पाण्डे
‘रुस-युक्रेन’ युद्धमा राष्ट्रपति ट्रम्पको कार्यले थप मानव-जीवन बरबाद हुनबाट जोगिन्छ या पुरानो औपनिवेशिक शक्तिहरूको संरक्षक ‘ट्रान्सएटलान्टिक सैन्य गठबन्धन’ कमजोर बन्छ भने विश्वले दुःख मान्न जरुरी छ र ? युक्रेनी राष्ट्रपति जिलेन्स्कीको कच्चा कूटनीतिको कारण अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्ड (फाइभ आइज) बीच आउँदै गरेको फुटमा राष्ट्रपति ट्रम्पको विशेष योगदान रहेमा विश्वलाई राहत नै हुनेछ । सैद्धान्तिक रूपमा सार्वभौम सत्ता समान रहे पनि हरेक मुलुकको हैसियत र ल्याकतअनुसार असमान हुन्छ भन्ने देखाएको असफल ओभल वार्तापश्चात् राष्ट्रपति ट्रम्पलाई धन्यवाद भन्ने कि जिलेन्स्कीलाई ‘परिचालित मूर्ख बालक’ भन्ने विवादमा विश्व बाँडिएको छ ।
वास्तवमा राष्ट्रपति ट्रम्पले जिलेन्स्कीलाई ओभल वार्तामा स्वागत गर्दै रुस, पुटिन र राजनीति बुझ्ने अवसर दिएका थिए । युक्रेनमा शान्ति वाञ्छनीय छ, तर कुन सर्तमा ? सन् १९९१ मा उदय भएको स्वतन्त्र युक्रेनको सार्वभौमसत्ता २०१४ मा उल्लंघन हुँदा चुप बसेको अमेरिकी सत्तालाई नचिनेका जिलेन्स्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आतंकवादी भन्न हौसिए । युक्रेनको संविधानले पुटिनसँग वार्ता गर्न निषेध गरेको बुझाउन अमेरिका पुगेका जिलेन्स्की सम्हालिन सकेनन् । हातमा आएको सुनौलो मौका जिलेन्स्कीले दुर्भाग्यवश फालिदिए । गुम्दै गएको लोकप्रियता फर्काउने बहानामा युक्रेन र युक्रेनी नागरिकलाई जुवामा हालिदिए । ओभल वार्तामा कच्चा कूटनीति पोख्दै विश्व-राजनीतिमा नयाँ सङ्कट थपिदिए ।
पहिला उचाल्ने, सुरक्षाको आश्वासन दिँदै विनाशकारी युद्धमा फसाउने र ‘क्षतिपूर्तिको बिल’ तिराउने अमेरिकी रणनीति र स्वार्थलाई बुझ्न नसक्ने ‘कमेडियन राष्ट्रपति’को अमेरिका यात्रा प्रहसनमा टुङ्गिएको छ । ‘ट्रम्पयुग’ सुरु भएको समयमा छचल्किएको अभिमान र अल्पज्ञानपश्चात् सम्पूर्ण गुमाएर राजनीति र कूटनीति बुझ्दैछन् । राष्ट्रपति ट्रम्प र जिलेन्स्की बीच ’शान्तिको लागि सुरक्षा’ र बहुचर्चित खनिज सम्झौता बिना निष्कर्ष रोकिएको छ । यही समयमा केही अमेरिकी सांसदले अमेरिकाको ’अपमान’ गरेको भन्दै जिलेन्स्कीको कडा आलोचना गरेका छन् । फलस्वरूप वासिङ्टनको न्यानो माया कीभले पाइरहने सम्भावना समाप्त भएको छ ।
अल्लारे, कमेडियन र अल्प बुद्धिको सनकले एउटा सुन्दर र आत्मनिर्भर मुलुक कसरी ध्वस्त हुन्छ भन्ने विश्वले देख्न पाएको छ । साथै, उस्तै र एउटै प्रकृतिको गल्ती गरेर विश्वलाई आर्थिक र राजनीतिक सङ्कटमा डुबाउने ‘डिप स्टेट-राजनीति’ राष्ट्रपति ट्रम्पद्वारा सम्पन्न ओभलवार्ताले अन्त्य गरिदिएको छ । जसले गर्दा जिलेन्स्कीको महत्त्वाकाङ्क्षा र औचित्य समाप्त भएको छ । यतिबेला राष्ट्रपति ट्रम्प जोखिमबाट विमुख छन् । उनी व्यापार र व्यापारीको सफल घेराबन्दीमा छन् । रुस-युक्रेन द्वन्द्व रोक्ने ट्रम्प-रणनीति युक्रेनी नागरिक, युरोप र विश्व शान्तिको निम्ति नभएको बुझ्न जरुरी छ ।
ओभल वार्ताको असफलतापश्चात् लन्डन पुगेका जिलेन्स्की आश्वासनमा रमाउन राजी भए । ‘रुस-युक्रेन’ द्वन्द्व समाधान गर्ने ट्रम्पको रणनीतिले युरोपलाई निराश तुल्याएको अवस्थामा जिलेन्स्कीलाई बेलायती प्रधानमन्त्री स्टामर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो, जर्मनी चान्सलर ओलाफ स्कोल्जको गहकिलो समर्थन प्राप्त गरे ।
रुसी राष्ट्रपति पुटिनसँग सम्पन्न लामो टेलिफोन संवादपश्चात् ट्रम्प प्रशासनले युरोपलाई ‘नोटिस’मा लिन जरुरी देखेन । नेटो सदस्य बन्ने युक्रेनी राष्ट्रपति जिलेन्स्कीको एक सूत्रीय चाहनालाई अमेरिकी रक्षासचिव पीट हेगसेथले ‘अवास्तविक’ भन्दै रुसले कब्जा गरेका क्षेत्रहरू माया मार्न सुझाव दिए । तमाम गतिविधिपश्चात् राष्ट्रपति ट्रम्पभित्र पलाएको अति विश्वास ‘साउदी अरेबिया’मा रुसी प्रतिनिधिसँग अमेरिकी प्रतिनिधिले पोखे । दुर्भाग्यवश राष्ट्रपति जिलेन्स्कीले साउदी अरेबिया भेटघाटलाई नरुचाएको कच्चा कूटनीति देखाउँदा ट्रम्प-अभिमानमाथि ठेस लागेको छ । तथापि, जिलेन्स्कीद्वारा लेखिएको पछिल्लो चिठ्ठीले ट्रम्प-अडान सही सावित भएको छ ।
निकिता ख्रुश्चेभ, लियोनिद ब्रेजनेभ र कोन्स्टान्टिन चेरनेन्को युक्रेनमा हुर्किएको जिलेन्स्कीले बुझ्न सकेनन् । साथै उनीहरूको ब्यञ्जन र संस्कृति एकै थियो भन्ने अनदेखा गर्दा अमेरिकी युद्धनीतिको जालमा फस्न पुगे । हजारौँको ज्यान गइसकेको युद्धमा ट्रम्पको साथबिना युक्रेनको स्वतन्त्र अस्तित्व असम्भव छ । जिलेन्स्कीले वाशिङ्गटनबाट सुरक्षा ग्यारेन्टी खोजिरहेको समयमा ट्रम्पले उनलाई ‘तानासाह’ भनिदिए । साथै कीभले द्वन्द्व सुरु गरेको आरोप पनि लगाए । यसको अर्थ ट्रम्प प्रशासन ‘सुरक्षा ग्यारेन्टी’ नदिएरै युक्रेनको विशेष खनिज चाहन्थ्यो । ओभल वार्ताको बहानामा जिलेन्स्कीलाई अमेरिका बोलाउँदै सम्झौता गर्न बाध्य पार्ने उद्देश्य राखेको थियो । अपरिपक्व जिलेन्स्कीले अमेरिकी यात्राअघि ‘युक्रेनीहरूको १० पुस्ताले चुक्ता गर्नुपर्ने कुरामा हस्ताक्षर नगर्ने’ स्पष्ट पारेको कुरा दुर्घटनावश सही सावित भयो ।
ओभल वार्ताको असफलतापश्चात् लन्डन पुगेका जिलेन्स्की आश्वासनमा रमाउन राजी भए । ‘रुस-युक्रेन’ द्वन्द्व समाधान गर्ने ट्रम्पको रणनीतिले युरोपलाई निराश तुल्याएको अवस्थामा जिलेन्स्कीलाई बेलायती प्रधानमन्त्री स्टामर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो, जर्मनी चान्सलर ओलाफ स्कोल्जको गहकिलो समर्थन प्राप्त गरे । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयन, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा, इटालीको प्रधानमन्त्री जियोर्जिया मेलोनी, आइरिस प्रधानमन्त्री माइकल मार्टिन,लिथुआनियाका राष्ट्रपति गितानास नौसेदा, मोल्दोभाको राष्ट्रपति माइया सान्डु, नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोर र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज लगायतले युक्रेनको रक्षामा आवाज बुलन्द गरे पनि राष्ट्रपति ट्रम्पको कठोर सहयोगबिना तमाम समर्थन ‘नुनबिनाको तरकारी’ जस्तै भएको छ ।
रुस-युक्रेन द्वन्द्वले शक्ति राष्ट्रबीच भूराजनीतिक प्रतिस्पर्धा नयाँ उचाइमा पुगेको छ । शीतयुद्धकालिन मानसिकतालाई पुनर्जीवित गरेको छ । युरोप र एसियामा ऊर्जा र खाद्य सङ्कट बढाएको छ । युरोपको उत्पादनमूलक क्षेत्रमा गम्भीर असर पुऱ्याएको छ । दोस्रो विश्वयुद्ध पछिको अन्तर्राष्ट्रिय व्यवस्थालाई द्वन्द्वले हल्लाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध थप अस्तव्यस्त बनेको छ । रुस-युक्रेन द्वन्द्वले विश्वव्यापी शक्तिको पुनर्वितरणको नेतृत्व गरेको छ । द्वन्द्वको गतिमा परिवर्तन आएको छ । जसले गर्दा अमेरिकाको अभिन्न मित्र दक्षिण कोरिया र जापानले ‘युक्रेन’लाई गर्दै आएको समर्थन शङ्काको घेरामा पर्दैछ । जिलेन्स्कीको कारणले युरोपको सुरक्षा खर्च अकल्पनीय ढङ्गले बढ्न गएको छ, जसले युरोपको राजनीतिमा हलचल ल्याएको छ ।
द्वन्द्वबाट विश्वमा एकलौटी फाइदा उठाउने मुलुक अमेरिका मात्र हो । रुस-युक्रेन द्वन्द्वको अधिक प्रभाव युरोपमा परेको छ । मुद्रास्फीति, श्रमिक अभाव, उपभोक्ता खर्चमा कमी, उच्च ऋण र निर्यातमा अवरोधको सामना गरिरहेको छ । डरलाग्दो ऊर्जा सङ्कटले आर्थिक वृद्धि कमजोर बन्दैछ । द्वन्द्वले ‘चीन र ईयु’ बीचको बृहत् सम्बन्धलाई गम्भीर रूपमा क्षति पुऱ्याएको छ । अमेरिका-युरोपबीच चुलिँदो असन्तुष्टिले अन्तर्राष्ट्रिय सन्तुलनमा गडबडी निम्त्याउँदै छ । ट्रम्प प्रशासन विशेष किसिमको खनिजमा चीनको भरपर्न चाहँदैन । यस तथ्यलाई राष्ट्रपति पुटिनले बुझ्दै राष्ट्रपति ट्रम्पलाई खुला निमन्त्रणा दिएका छन् । जिलेन्स्कीलाई दबाबमा राख्दै कसिलो बनेको ट्रम्प-पुटिन सहकार्यले ‘इरान-चीन’ दबाबमा पर्दैछ । राष्ट्रपति ट्रम्पले युक्रेन (युरोप) भन्दा ‘गाजा-इरान’ (मध्यपूर्व)लाई रणनीतिक महत्त्व दिँदा युरोप र जिलेन्स्कीको महत्त्व घटेको छ ।
रुस-युक्रेन द्वन्द्वले विश्वव्यापी शक्तिको पुनर्वितरणको नेतृत्व गरेको छ । द्वन्द्वको गतिमा परिवर्तन आएको छ । जसले गर्दा अमेरिकाको अभिन्न मित्र दक्षिण कोरिया र जापानले ‘युक्रेन’लाई गर्दै आएको समर्थन शङ्काको घेरामा पर्दैछ । जिलेन्स्कीको कारणले युरोपको सुरक्षा खर्च अकल्पनीय ढङ्गले बढ्न गएको छ, जसले युरोपको राजनीतिमा हलचल ल्याएको छ ।
विशेषगरी ‘रुस-युक्रेन’ द्वन्द्वले पश्चिमी देशहरूमा परम्परागत शक्तिलाई चुनौती दिएको छ । जसले गर्दा अति दक्षिणपन्थी र रूढिवादी आन्दोलनलाई बलियो बनाउँदै छ । सन २०२४ को युरोपेली संसद्को चुनाव,२०२४ को फ्रान्सेली राष्ट्रिय सभाको चुनाव र २०२५ को जर्मन सङ्घीय चुनावले युरोपमा अति दक्षिणपन्थीहरुलाई स्वागत गरिरहेको छ । ’ट्रम्प र पुटिन’बीचको सम्बन्धले ’अमेरिका र युरोप’बीचको खाडल फराकिलो बनाएको अवस्थामा ‘दक्षिणपन्थ’ले लोभलाग्दो आकार लिँदै छ । ’स्वतन्त्रता र लोकतन्त्र’लाई गौण राख्ने ट्रम्प प्रशासनको पछिल्लो गतिविधिले पश्चिमी देशको वैचारिक आधार भत्किँदै छ । ’ट्रम्पयुग’ सुरु हुनासाथ परम्परागत प्रणाली र सोच नराम्रोसँग धरमराएको छ ।
ट्रम्प-जिलेन्स्की नोँकझोँकपश्चात् सिंहदरबार नराम्रोसँग झस्किएको छ । तत्कालीन ‘डिप-स्टेट’को आड-भरोसामा जारी गरिएको संविधान टुहुरो बनेको छ । नेपालको संविधानलाई नोटिसमा लिएको भारत सरकारको धारणा यथावत् रहेको समयमा ‘ओली-देउवा’ सहकार्य थप चेपुवामा पर्दैछ । यसैगरी चिनियाँ राष्ट्रपति ‘सी जिङ्पिङ’ले नेपाल भ्रमण सकेर स्वदेश फर्किंदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिएको धम्कीलाई सम्मान गर्ने समय आएको छ । जमिन जोडिएका छिमेकीहरूको भूराजनीतिक जटिलतालाई बुझ्दै संविधान संशोधन गर्ने समय आएको छ । हवाई छिमेकीको भर परेर जमिन जोडिएका छिमेकीको स्वार्थको सम्मान गर्न आनाकानी गरे साना मुलुकको स्वतन्त्र अस्तित्व धरापमा पर्ने सन्देश असफल ओभल वार्ताले दिएको छ ।
अन्तमा, राष्ट्रपति ट्रम्पको बुझाइमा ‘रुसी फोबिया’ ब्रिटिस आविष्कार हो । ‘विन्स्टन चर्चिल’ले शीतयुद्धलाई जायज देखाउन रुसविरुद्ध नयाँ बिउ रोपे । जसलाई जेम्स बन्डले जिम्मा लिए । ततपश्चात् अल्फ्रेड हिचककले रुसलाई ‘दानव’ देखाउने जिम्मेवारी समाले । यतिबेला राष्ट्रपति ट्रम्पभित्र विचित्रको दिव्यज्ञान पलाएको छ । उनी रुसलाई हेर्ने ‘पुरानो चस्मा’ फेर्न आतुर छन् । फलस्वरूप युक्रेनलाई दिँदै आएको सम्पूर्ण सैनिक सहायता रोकिएको छ । जान-अनजानमा जिलेन्स्की बन्न चाहेका या बनिरहेका विश्वभरका ‘जिलेन्स्की’हरूलाई अर्थपरक सन्देश दिएका छन् । असफल ओभल वार्ताबाट उत्पन्न ‘ट्रम्प हलचल’ बुझ्न विश्वलाई अवसर दिँदै छन् । दुर्भाग्यवश ओली-देउवा सहकार्य ‘पन्चर टायरमा हावा भर्न’ मरिहत्ते गरिरहेको छ ।
प्रतिक्रिया