सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु


सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल-असदका समर्थकहरूबीच पछिल्लो दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याका घटनाले मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले जनाएको छ ।

सिरियामा १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् । तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् । लाटाकिया सहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।

असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ । सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको बताएको छ ।

असदको अल्पसङ्ख्यक अलावी सम्प्रदायका सदस्यहरू विरुद्ध सरकारप्रति वफादार सुन्नी मुस्लिम बन्दुकधारीहरूले शुक्रबार सुरु गरेको प्रतिशोधात्मक हत्यापूर्व सरकारको पतनको नेतृत्व गर्ने गुट हयात ताहरिर अल–शामका लागि ठूलो धक्का हो । अलावीहरूले दशकौँसम्म असदको समर्थन आधारको ठूलो हिस्सा बनाएका थिए ।

अलावी गाउँ र सहरका बासिन्दाहरूले एसोसिएटेड प्रेससँग हत्याहरूको बारेमा कुरा गर्दै बन्दुकधारीहरूले अलावीहरूलाई, अधिकांश पुरुषलाई, सडकमा वा उनीहरूको घरको गेटमा गोली हानेको बताए । सिरियाको तटीय क्षेत्रका दुई बासिन्दाले एपीलाई आफ्नो लुक्ने ठाउँबाट विभिन्न क्षेत्रहरूमा अलावीहरूका धेरै घरहरू लुटिएका र त्यसपछि आगो लगाइएको बताए ।

उनीहरूले बन्दुकधारीहरूद्वारा मारिने डरले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरे । हजारौँ मानिस सुरक्षाका लागि नजिकैको पहाडतर्फ भागेको उनीहरूले थप जानकारी दिए ।

हिंसाबाट सबैभन्दा बढी प्रभावित बानियास सहरका बासिन्दाहरूले सडकहरूमा लाशहरू छरिएका वा घरहरू र भवनहरूको छतमा गाडिन नपाएका अवस्थामा छोडिएको र कसैले पनि उनीहरूलाई सङ्कलन गर्न नसकेको बताए ।