लोकतन्त्र बलियो बनाउन नागरिकहरू सचेत र सक्रिय हुनुपर्छ । जनताको सक्रिय सहभागिता हुनुपर्छ । केवल चुनावमा भोट हालेर मात्रै होइन, निरन्तर नेताहरूलाई जवाफदेही बनाउँदै राजनीति स्वच्छ बनाउन जनताले भूमिका खेल्नुपर्छ ।
✍ रश्मिशेखर सुवेदी
राजनीति जटिल छ, तर जनताका लागि यसलाई सरल बनाउन सक्नुपर्छ । नेपाली कांग्रेसका समाजवादी नेता सीके प्रसाईले आफ्नो पुस्तक ‘आजको सरल राजनीति’मा यही धारणा प्रस्तुत गर्नुभएको छ । अहिलेको नेपालमा हामीले यस पुस्तकको सन्देशलाई झनै जीवन्त रूपमा आत्मसात् गर्न आवश्यक देखिन्छ ।
राजनीति जनताको लागि हो, व्यक्तिका लागि होइन । सीके प्रसाईंको विचारअनुसार राजनीति कुनै व्यक्तिविशेषको महत्वाकांक्षा पूरा गर्ने साधन होइन, यो जनताको सेवा गर्ने माध्यम हो । तर, अहिले राजनीतिक दलहरूभित्र व्यक्तिवाद, नातावाद, गुटबन्दी र निहित स्वार्थहरू हाबी भएका छन् । हामीले पुनः सम्झनुपर्छ- ‘राजनीति जनताको विश्वास जित्ने र उनीहरूको जीवनस्तर सुधार गर्ने अभ्यास हो ।’
समाजवाद केवल नारा होइन, व्यवहारमा लागू गर्नुपर्छ । समाजवाद समताबाट समानतातिरको आरोहण हो । सिकेले त्योबेला भन्नु भएको थियो- ‘समाजवाद केवल भाषणमा सीमित हुने कुरा होइन, हामीलाई आर्थिक समानता, समाजिक सुरक्षा, शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने नीतिहरू आवश्यक छन् ।’
सीके प्रसाई जस्तै समाजवादी सोच भएका नेताहरूले राज्यसंयन्त्रलाई सबल बनाउन, भ्रष्टाचार रोक्न र अवसरहरू सबैलाई समान रूपमा उपलब्ध गराउन पहल गर्नुपर्छ । राजनीतिक सुधारबिना समृद्धि सम्भव छैन । नेपाली राजनीति झन्-झन् विकृत बन्दै गइरहेको छ । प्रसाईंले भनेझैं, जबसम्म राजनीतिक संस्कार सुधार हुँदैन, तबसम्म देशले समृद्धिको यात्रा तय गर्न सक्दैन ।
अहिले हामीलाई युवाहरूको सहभागिता, नीतिनिर्माणमा पारदर्शिता र नेताहरूको जवाफदेहिताको खाँचो छ । राजनीतिमा लोकतन्त्रलाई बलियो बनाउने प्रमुख आधार भनेको जनता आफैं सचेत हुनु हो । केवल पाँच वर्षमा एक पटक भोट दिएरमात्र लोकतन्त्र सुदृढ हुँदैन । जनता निरन्तर रूपमा सचेत भएर, राजनीतिक नेतृत्वलाई प्रश्न गर्न सक्नुपर्छ ।
सीके प्रसाईंले प्रस्तुत गर्नुभएको ‘सरल राजनीति’ आज पनि उत्तिकै सान्दर्भिक छ । नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवादको मार्गलाई अगाडि बढाउन उहाँका विचार र सिद्धान्तहरू व्यवहारमा उतार्न जरुरी छ । नेपालका जनता, विशेषगरी नयाँ पुस्ताले राजनीति बुझ्नुपर्छ, प्रश्न गर्नुपर्छ र परिवर्तनका लागि अघि सर्नुपर्छ । केवल नारामा सीमित समाजवादले होइन, कार्यान्वयनमा आधारित समाजवादले मात्र देशलाई सही दिशामा अघि बढाउन सक्छ ।
नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ । समाजवाद केवल नारामा सीमित हुनुहुँदैन, यो आर्थिक समताको मुलाधार हो भन्ने बुझ्नुपर्छ । राजनीतिक नेताहरूको नैतिक आचरण र आदर्श उच्च हुनुपर्छ । नत्र, अवसरवाद, भ्रष्टाचार, र गुटबन्दीले लोकतन्त्रलाई कमजोर बनाउँछ ।
लोकतन्त्र बलियो बनाउन नागरिकहरू सचेत र सक्रिय हुनुपर्छ । जनताको सक्रिय सहभागिता हुनुपर्छ । केवल चुनावमा भोट हालेर मात्रै होइन, निरन्तर नेताहरूलाई जवाफदेही बनाउँदै राजनीति स्वच्छ बनाउन जनताले भूमिका खेल्नुपर्छ । सरकार, दल, र नागरिक समाजले आफ्नो भूमिका इमानदारिताका साथ निर्वाह गर्न सक्नुपर्छ ।
‘आजको सरल राजनीति’ केवल नेताहरूको मात्र क्षेत्र होइन, जनताले पनि बुझ्नुपर्छ भन्ने विचार स्थापना गर्ने पुस्तक हो । यो पुस्तक विशेषगरी लोकतान्त्रिक समाजवादमा विश्वास राख्ने, राजनीतिलाई जनमुखी बनाउन चाहने र नेपाली कांग्रेसभित्र समाजवादी धारलाई बलियो बनाउन चाहनेहरूसँग निकै सम्बन्धित छ ।
यो विचार नेपाली कांग्रेसका समाजवादी कार्यकर्ताहरू, युवाहरू, तथा राजनीति बुझ्न चाहने आम नागरिकहरूका लागि प्रेरणादायक छ । सीके प्रसाईंको कृति यसले राजनीति गर्ने वा बुझ्न चाहने इच्छुक व्यक्ति वा कार्यकर्तालाई महत्वपूर्ण शिक्षा प्रदान गर्दछ ।
‘गरिब-दुःखी जनतालाई आँखा देखाउने, तिनीहरूको हक-हित चिताउने र तिनीहरूको भलाइ गर्न सिकाउने शास्त्र नै राजनीति हो’ भन्नुहुने सीके गरीब जनताले चाख नलिने हो भने राजनीति दुई चार धनीमानी र छट्टुहरूको धन र मान कमाउने साधन बन्ने प्रष्ट धारणा राख्नुहुन्छ । जनतालाई आफ्नु पक्षमा राख्न जनसेवा नै मूल कर्म हो । मजदुर, किसान, अन्यायमा परेका, शोषित पीडित जनताको पक्षमा काम गर्नु नै राजनीतिक सेवा हो भन्नुहुन्छ सीके प्रसाईं ।
सबै मिलेर, काम गरेर देश र जनतालाई सुखी र समृद्ध बनाउन कै लागि राजनीतिको आवश्यकता रहेको र यसले जनतालाई धक फुकाएर बोल्न र विचार पोख्न पाउने जनअधिकार स्थापित गर्न सक्नुपर्दछ । यो लोकतन्त्रमा मात्र सम्भव देख्ने सीके प्रसाईंले लोकतन्त्र जनताको भलाइ गर्ने, जनताका आधारभूत आवश्यकताको पूर्ति गर्ने, दमन शोषण र अन्यायबाट मुक्ति दिलाउने व्यवस्था हो भनेर सरल व्याख्या गर्नुभएको छ ।
२०१७ सालमा पञ्चायती व्यवस्थाले प्रजातन्त्रलाई विस्थापित गरेपछि भारत निर्वासनमा जानुभयो । उहाँले लोकतान्त्रिक समाजवादबारे विभिन्न लेख, बहस तथा प्रशिक्षणहरूमार्फत नेपाली कांग्रेसभित्र बौद्धिक जागरण ल्याउनुभयो । प्रजातन्त्र पुनःस्थापनाका लागि थुप्रै संघर्ष गर्नुभयो र नेपाली कांग्रेसलाई बौद्धिक रूपमा सबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो ।
बीपी विचारका प्रखर ब्याख्याता सीके प्रसाईं गहन अध्येता, चिन्तक र लेखक हुनुहुन्थ्यो । देवीप्रसाद प्रसाईं जस्ता जमिन्दारका सादगी पुत्र सीकेले बीपीले प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजवादको वकालत गर्दा तात्कालीन पञ्चायती शासनले सर्वस्वहरण सहित निर्वासन र जेलनेलको सजाय दियो, तर पनि शासकहरूसँग आत्मसमर्पण गर्नुभएन ।
सीके प्रसाईं (भरत बाबु) बीपी. कोइरालाले प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजवादको सरल, स्पष्ट र प्रखर बौद्धिक व्याख्याता हुनुहुन्थ्यो । सक्रिय वैचारिक राजनीति मार्फत उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो ।
२०४६ मा लोकतन्त्रको पुनःस्थापनापछि झापाबाट उहाँ सांसदको उम्मेदवार भएपनि दुई चोटी पराजित हुनुभो । तथापि उहाँले वैचारिक क्रान्तिको माध्यमद्वारा लोकतन्त्रलाई सबल बनाउन लागिनै रहनुभयो ।
‘मिठो बोलीवचन र राम्रो आचरणले राजनीतिक संगठन गर्न ठूलो मदत पुऱ्याउँछ । नत्र जनतालाई हात लिन गाह्रो हुन्छ’ भन्नुहुने सिकेको चिन्तनलाई आज अधिकांश नेताहरूले बेवास्ता गर्दाको परिणाम भोग्दैछौँ हामी अहिले ।
नैतिक रूपमा बलियो बनेर जनतासमक्ष बोलिने कुरा र गरिने ब्यवहारप्रति इमान्दार रहनु राजनीतिकर्मीहरूका निमित्त अहिलेको प्रवल खाँचो बनेको छ । नत्र राजनीतिक प्रदूषणले टाढिनेछन् जनताहरू ।
लोकतान्त्रिक समाजवाद र आस्थाप्रतिको सीके प्रसाईंको यो निष्ठा हामीमा पनि जागृत हुन आवश्यक छ । तब मात्र पार्टी र राजनीतिको स्वास्थ्य सबल हुनेछ ।
(लेखक नेपाली कांग्रेस झापाका सूचना, संचार तथा प्रचार संयोजक हुन् ।)
प्रतिक्रिया