गणतन्त्रवादीहरू आफू नसच्चिने, मुलुकलाई भ्रष्टाचारमुक्त नतुल्याउने अनि राजालाई धारेहात लगाएर मात्र हुन्छ र ? हिजोका दिनहरूमा राणाराज, काङ्ग्रेसराज र पञ्चायतराज मिल्काएर गणतन्त्रराज ल्याएको (ल्याइएको ?!) हो । अब नि यो राज मिल्काएर विकल्पराज नआउला भन्न सकिन्छ र ? नेतामा इतिहास-चेत हुनुपरो नि !
✍ बलराम सिलवाल
लेखूँ त कति लेखूँ ? नेपाललाई भ्रष्टाचारमुक्त तुल्याउन र नेपालीलाई संस्कारिलो बनाउन निबन्ध मार्फत उद्दत रहँदारहँदै नि एक जुगमा एक दिन एकपल्ट आउँछ कि भन्ने आसैआसमा छोप्राकीले फूलपाती हेरे झैं रनभुलिँदो छु । नेपाल/नेपालीको अधोगतिमा नेताजन (एजेण्ट ?!) अस्पृश्य छैनन् । यिनीहरूले जति मोजमस्ती कसले गऱ्या छ र ? यिनीहरूले मुखले सिंगापुर/स्विट्जरल्याण्ड भट्याए नि रङ्कलाई जनता हुन नदिएर रैती नै बनाइ राख्ने दाउपेच कसले नबुझेको छ र ? एकबद्ध नेपालीलाई धर्मीय, नश्लीय र जातीय नाराले टुक्र्याउँदो छ ।
कलि उत्तरार्ध नपुग्दै पूर्वार्धमा यसको चर्तिकला देखिँदो छ । इसाईले बिटुलेको समाज – धर्म, संस्कृति, रीतिरिवाज, रहनसहन र परम्परा सखाप । छोरो मान्छे छोरी जस्तो, छोरी मान्छे छोरो जस्तो । अपशब्द/दुर्वाच्यको भरमार । रजोनिवृत्ति नहुञ्जेल हो बाइफालेको कटाक्ष । बदामी आँखा दनदनाउँदो श्रृष्टि हेर्न लालायित किंवा स्यालको सिङ झैं दुर्लभ । सुखमा राष्ट्रियता त्याग्ने दुःखमा पसारो पर्ने । यो कस्तो द्वैध मानसिकता ?! दोषमुक्त मनुवा रहेन, भ्रष्टहरूको बिगबिगी । बिना भुक्ति मुक्ति शून्य । कुमान्छे निकृष्ट खाल्टोमा जाकिँदो । आधुनिक चाकडीबाज एजेन्टको चाकडीबाजी गर्दो । प्रत्युन्मतिरहित, लक्षण के पो बुझ्दो हो र ? तथाकथित नेताहरूको धुपौरेहरूले पदवी पाउने भएसि यसको महत्ता के रह्यो र ?
कतै गणतान्त्रिक शासन प्रणालीको असफलतास्वरुप राजावादीहरू मौलाएका त होइनन् ? गणतन्त्रवादीहरू आफू नसच्चिने, मुलुकलाई भ्रष्टाचारमुक्त नतुल्याउने अनि राजालाई धारेहात लगाएर मात्र हुन्छ र ? हिजोका दिनहरूमा राणाराज, काङ्ग्रेसराज र पञ्चायतराज मिल्काएर गणतन्त्रराज ल्याएको (ल्याइएको ?!) हो । अब नि यो राज मिल्काएर विकल्पराज नआउला भन्न सकिन्छ र ? नेतामा इतिहासचेत हुनुपरो नि । बेलाइतमा राजतन्त्र-गणतन्त्र-राजतन्त्रको चक्र चलेको होइन र ? बेलाइती जनताले गणतन्त्रवादी ओलिवर क्रमवेललाई च्यानबाट निकालेर टुक्रा टुक्रा पारेर प्रतिशोध साँधेका होइनन् र ?
इतिहासको अवमूल्यन गर्ने मनुवाले दुःख पाउँछ । नेताको शैक्षिक योग्यता घटीमा स्नातक (राजनीति शास्त्रमा) हुनुपर्छ । शासकहरूले नेपाली रैतीहरूलाई (जनता ?!) पटक-पटक थाङ्नामा सुताएका (श्लील अर्थमा) छन् । नेता भिजन मरु, प्रजा मासुच्युरा भकुरु । मिथ्याङ्कलाई तथ्याङ्क भनेमा आफै फसिन्छ । Rome was not built in a day भनेर रैतीलाई थुमपुर्याएको नि तीन दशक कटेछ । संविधानले संविधानको अनुभूति गर्न नपाएको- फगत कागजको खोस्टो बन्न परेको छ, पालिकाको उलङ्घनले । आफ्नो विगत चर्चेर ब्याज खान पल्केका साइँदुवाहरूको बखान कोही सुन्न चाहन्न – नयाँ पुस्ता त विकास, सुशासन र रुपान्तरण चाहन्छ ।
राजा नि राजा जस्तो हुनुपर्छ, नेताजस्तो हुनु भएन । बेलाइत, जापान र थाइलैण्डमा राजतन्त्रको लचकताले राजसंस्था दीर्घायु भएको । जे होस्, नेतालाई भन्दा राजालाई देशको माया बढी हुन्छ, किनभने उसको पिता-पुर्खाले आर्जेको हो नि ! नेता त मुलुकमा संकट परेसि विदेशतिर टाप कस्छ तर राजा सुइँकुच्चा ठोक्दैन बरु मारिन्छ । देश विकासार्थ इमान्दार राजनेता र सभ्य/अनुशासित जनताको अपरिहार्यता । हाम्रोमा त अगुवा नै भ्रष्ट छ अनि पछुवा भ्रष्ट अस्पृश्य होला र ? समाज बेथितिपूर्ण – परस्त्री परपुरुषको भेद रहेन । तमाम कुरो पैसोले तमाम गर्दो । पारिश्रमिकस्वरुप डलर पाउने भएसि माताको हुर्मत लिन के साहित्यकार के कलाकार के पत्रकार के अलपत्रकार कोही पछि परेनन् । शिक्षालयहरू अव्यावसायिक/अव्यावहारिक शिक्षा दिँदो, बेरोजगार उत्पादन गर्दो । पञ्चायतराजमा ‘उड्ने र गुड्ने पञ्चका घर, धेरै लगाए जनतालाई कर’ भनेर उड्किने चप्पल पड्कुवाहरूकै काण्डहरू कहिसाध्य रहेन ।
आफ्नो स्वार्थार्थ धार्मिक अनुष्ठान गर्नाले सनातन धर्मको ओज घटेको हो । भारतमा कतिपय बाबाहरू यौनदुराचारको अभियोगमा कारावासको कुरिच खाँदैछन् । पीपलपाते मन घरबार बिगार्दो !
रानी संगिनीसित बात मार्दै गर्दा बिनाअनुमति राजा भोजराज छिरेसि रानीले ‘आऊ मूर्ख’ भनिछिन् । रानीले मलाई किन मूर्ख भनेकी होलिन् सोच्दै गर्दा राजा उदेक परे । उनीले राजसभामा उपस्थित भएसि त्यहाँ आउँदै गरेका विद्वान्, साहित्यकार र कविगणलाई ‘आऊ मूर्ख’ भन्दै रहे । उनीहरू आज हाम्लाई राजाले किन मूर्ख भनेका होलान् भन्दै नाजवाफिएर चकित परे । आखिरमा आएका कालीदासलाई नि राजाले ‘आऊ मूर्ख’ भनेर सम्बोधन गरे । यसको प्रत्युत्तरमा उनले चतुऱ्याइँपूर्वक यसो भने-
खादन्न गच्छामि हसन्न जल्पे, गतं न शचामि कृतं न मन्ये । द्वाभ्यां तृतीयो न भवामि राजन ! किं कारणं भोज ! भवामि मूर्खः ? (म बाटोमा हिड्दै केही वस्तु खान्नँ; हाँस्दै कुरा गर्दिनँ; बितिसकेको कुरामा पछुतो गर्दिनँ; उपकार गरेको बखान गर्दिनँ र दुई जना बात मारेको ठाउँमा नसोधी जान्नँ भने राजा भोज ! कसरी मूर्ख भएँ ?)
तीन चार सय वर्षअघिको सत्य घटना अहिले नि सान्दर्भिक भएकोले यहाँ प्रस्तुत गरेँ । गोलीगाँठो भएको टेकोलाई ‘गोडा’ र खुर भएको टेकोलाई ‘खुट्टा’ भनिन्छ भनेर पाठकवृन्दले आफ्नो औरसलाई बताइदिनुभए यो लघुलेखले आफूलाई धन्य ठान्ने थियो । जति डोरी बाटे नि गाँठो एउटै । बाउसे सकियो । आजलाई मैजारो । बाँकी अर्को भेटमा । अस्तु !
प्रतिक्रिया