वर्तमानको नेतृत्व अब सच्चिन सक्दैन । सम्पूर्णमा समाप्त भइसकेको कुरा फेरि ब्यूँतन सम्भव पनि छैन । अहिलेकै नेताहरूले जनआक्रोशको तीव्रतालाई रोक्न सक्दैनन् । राजतन्त्रको विरोध र गणतन्त्रको मौखिक जपनाले अब मुलुक थेगिनेवाला छैन – गणतन्त्रवादीहरूले यसमा ढुक्क भए हुन्छ । नभए निश्चित रूपमा दुर्घटना हुने कुरा कसैले रोक्न सक्ने छैन ।
✍ राजेश ढुंगाना

यतिबेला मुलुकमा राजतन्त्र र गणतन्त्रको बीच ‘युद्ध’ चलिरहेछ । राजाको पक्षमा मुलुकभर, विशेषतः राजधानीकेन्द्रित भीड जम्मा भएर आफ्नो शक्ति देखाउँदैछन् भने यही बहानामा तीन वटै ‘ठूला’ राजनीतिक दलहरू अप्रत्याशित रूपले एक ठाउँमा आएका छन् ! यस अर्थमा दलहरूले आफैं भन्ने गरेको ‘चिहानमा पुऱ्याएको राजतन्त्र’ फेरि तीन वटै प्रमुख दलहरूको बराबरीमा आइसक्यो । नभए चिहानमा पुऱ्याइसकिएको भनिएको राजसंस्थासँग डराएर यत्तिसारो कोकोहोलो मच्चाउन जरूरी छँदै थिएन – सडकदेखि सदनसम्म; पार्टीदेखि सरकारसम्म ।
केही वर्ष अघि अत्यन्त अलोकप्रिय भएर नेपाली जनताले डाँडो कटाएका राजा निश्चित रूपमा आज बलियो भएको कुरा नकार्न सकिन्न । यसको पुष्टि पहिले धनुषा र पोखरा, त्यसपछि राजधानीमा नांगा आँखाले स्पष्ट देखिएको राजाको पक्षमा उर्लेको जनसमूहले गरेको छ । उनको लोकप्रियता ह्वात्तै बढेको छ – दृश्यमा यही छ ।
दुनियाँको सबैभन्दा राम्रो राजनीतिक व्यवस्था गणतन्त्र (प्रजातन्त्र ?) नै हो भन्ने कुरामा कुनै विवाद र द्विविधा छैन । तर, किन नेपाली जनता आफैंले ल्याएको गणतन्त्र केही वर्षमै यति सारो निरीह भएको छ ?- यो प्रश्न महत्वपूर्ण छ । राजसंस्थाको विरुद्धमा उत्रिएको जनसागर किन आज राजतन्त्र बोलाउँदै छ ? गणतन्त्रवादी राजनीतिक दलहरूले समयमै सोच्नु पर्ने थियो, त्यो सोचिएन । समयमै सोचिएन मात्र होइन, अझै सोचिने सम्भावना पनि देखिंदैन ।
जसरी भ्रष्टाचारको फाइल खुल्ने डरले ओली सरकार बन्यो, त्यसरी नै अब यतिबेला माओवादी, जो प्रतिपक्षमा छ, सरकारमा गएको देख्नु नपरोस्; राजाको प्रतिरोधमा भनेर ! मुलुकमा ‘कपडा’ नलगाएका नांगेझार शासकहरू रहेको अवस्थामा माओवादी सरकारमा गयो भने त्यो कुनै आश्चर्य हुने छैन । किनकि, अब उनीहरूलाई राजावादीहरूसँग ‘सशक्त’ मुकाबला गर्नु छ ! तर, तीन वटै शक्ति (पार्टी !) एक भएर राजाका विरुद्ध लड्नु पर्ने यो दिन किन र कसका कारणले आयो – उनीहरू चुइँक्क बोल्दैनन् !
समाप्त भएको भनिएको राजतन्त्रसँग किन यत्रोविधि डर ? बारम्बार पालैपालो सत्तामा रहेका कांग्रेस, एमाले र माओवादीलाई भन्न लाज लागे पनि जनतालाई थाहा छ र भन्दै पनि छन् – तिनै तीन दलकै कारणले यो स्थिति आएको हो । हो, गणतन्त्र कमजोर भएको छ – यिनै नेता र दलहरूका कारणले । जनताका कारणले होइन । जनता त नेताहरू भन्दा अग्रभागमा थिए- गणतन्त्र मांग्न । तर, गणतन्त्र गणतन्त्र भनेर त्यो निरपेक्ष हुँदैन । त्यसलाई पनि सापेक्षतामै हेरिनु पर्दछ ।
हो, नेपालमा राजतन्त्र दुई वटा स्थितिमा फर्कन सक्छ । एउटा- राजाको समर्थनमा सेना उत्रिनु पऱ्यो । अर्को, राजावादीले क्रान्ति नै गर्नु पऱ्यो । यद्यपि सेना उत्रने सम्भावना न्यून छ भनिन्छ । तर, क्रान्ति नै भएमा राजतन्त्र ब्यूँतन सक्छ । तथापि अहिले नै यो ‘क्रान्ति’को पीडादायी स्थितिको कामना नगरौं, सोच समेत नबनाऔं ।
गणतन्त्रका नाममा तीन वटै पार्टी र त्यसका नेता-कार्यकर्ताहरूका लागि निरन्तर असीमित ‘भोजन’ नै ‘गणतन्त्र’ हो त ? गणतन्त्रका यतिका वर्षमा त यही देखियो ! विधिको शासनको समाप्ति र चरम भ्रष्टाचार (त्यो पनि गणतन्त्रवादी भनिने दलहरूबाटै) नै ‘गणतन्त्र’ हो त ? त्यो त पक्कै नहुनु पर्ने हो । तर, भइरहेछ त्यही ! त्यही भएकाले यतिबेला जनआक्रोश तीव्र छ – कथित ‘गणतन्त्रवादी’ नेता र पार्टीहरूसँग ।
गणतन्त्रको समर्थनमा निस्किएको जनसागर मुर्झाएको छ, निरीह र निराश छ – ती तीन दलहरूसँग । यसैले राजा क्रमशः बलियो भएका हुन् । यी राजनीतिक दलहरूलाई समयमै चेतना भएन भने अग्रगामी निकास खोजिएको बेला मुलुक पछाडि पनि फर्कन सक्छ । त्यसैले यतिबेला सबैले अग्रगामी निकास नखोज्ने हो भने, राजावादी शक्तिहरू अझ बलियो हुने कुरा पक्का छ ।
त्यो अग्रगामी निकास भनेको के त ? यसको प्रारम्भ विधिको शासन स्थापना र चरम भ्रष्टाचारको अन्त्यबाट गरिनु पर्दछ । तर त्यो विधिको शासन स्थापना गर्न र भ्रष्टाचारको अन्त्य गर्न यिनै विधि तोड्ने र भ्रष्टाचारमा आकण्ड डुबेका नेताहरूबाट सम्भव छ ? छैन । उनीहरू अब के सुध्रनु ? जसले सिङ्गो मुलुक बिगारे ! त्यसका लागि पनि राजनीतिमा, गणतन्त्रवादीहरूभित्र रहेका इमानदार र सक्षम नेतृत्वले पहिला आफ्नै नेतृत्व विरुद्ध ‘क्रान्ति’ गर्नु पर्छ । अर्थात्, नयाँ निकास खोज्न मुलुकमा नयाँ सोच भएको राजनीतिक नेतृत्व आउनै पर्दछ । त्यो बाहिरबाट पनि हुन सक्छ र राजनीतिक पार्टीहरू बीचबाटै पनि हुन सक्छ, हुनु प¥यो ।
मुलुक प्रसव-वेदनामा छ । अब यो प्रसवलाई कसैले रोक्न सक्दैन । वर्तमानको नेतृत्व अब सच्चिन सक्दैन । सम्पूर्णमा समाप्त भइसकेको कुरा फेरि ब्यूँतन सम्भव पनि छैन । अहिलेकै नेताहरूले जनआक्रोशको तीव्रतालाई रोक्न सक्दैनन् । राजतन्त्रको विरोध र गणतन्त्रको मौखिक जपनाले अब मुलुक थेगिनेवाला छैन – गणतन्त्रवादीहरूले यसमा ढुक्क भए हुन्छ । नभए निश्चित रूपमा दुर्घटना हुने कुरा कसैले रोक्न सक्ने छैन ।
प्रतिक्रिया