यसकारण म चोरबाटो दक्षिण अफि्रका गएँ

यसकारण म चोरबाटो दक्षिण अफि्रका गएँ


-वसन्तराज कुँवर
विश्वकपको समुद्घाटन दक्षिण अफि्रकामा हुँदै थियो । म बेलैमा टेलिभिजनको अगाडि बसिसकेको थिएँ । टेलिभिजन स्त्रिmनमा केही क्षणमै दक्षिण अफि्रका देखियो । को दर्शक, को फुटबल खेलाडी, को शुभचिन्तक, सबैको अनुहारमा अभुतपूर्व चमक थियो । खुसीको आँसु थियो । हर्षोल्लास थियो । दक्षिण अफि्रकाको सम्पूर्ण संस्कृति झल्काउने गीतहरू अफि्रकी गायक-गायिकाहरू फुटबल ग्राउण्डको मध्यभागमा गाउन थाले । को काला, को गोरा, केटाकेटीदेखि जवानसम्म एउटै तालमा नाच्दै थिए । दक्षिण अफि्रकी दर्शकको आवाजसँगै म पनि उत्साहित भएँ । त्यस क्षण मैले सोचेँ मेरो देशमा यसैगरी विश्वकप आयोजना गर्ने क्षण कहिले आउला ? एक-एक गरी प्रचण्ड, शेरबहादुर, माधव नेपाल, सुशील कोइरालादेखि लिएर झलनाथसम्मको अनुहार सम्झेँ । तिनका अनुहार सम्झँदा तिनका नेतृत्वमा मेरो देशले विश्वकप आयोजना गर्ला भन्ने मलाई जिरो प्वाइन्ट वान प्रतिशत पनि विश्वास लागेन । जब मलाई यकिन भयो कि मेरो देशमा विश्वकप आयोजना हुनेवाला छैन र मैले आफ्नो झन्डा बोकेर दक्षिण अफि्रकी जनताले झैं आफ्नै भूमिमा हर्षोल्लास मनाउने मौका यस जीवनमा पाउने छैन । त्यसपछि एकाएक मैले निर्णय गरेँ म पनि दक्षिण अफि्रकी जनतासँगै बसेर त्यहीँ पुगी आजै त्यो समुद्घाटन समारोहको आनन्द लिन्छु । यही सोच मनमा राखेर म मेरो टेलिभिजनको स्त्रिmनबाट खुसुक्क छिरिहाले र पुगेँ दक्षिण अफि्रकाको त्यो विशाल स्टेडियममा जहाँ समुद्घाटन कार्यक्रम हुँदै थियो ।
म त्यहाँ पुगेर बसेँ नेपालको सानो झण्डा बोकेर त्यही दर्शकदीर्घाबीच । त्यहाँको अन्य दर्शकहरूलाई म दर्शकदीर्घामा पुगेको पनि थाहा भएन किनकि म त सुटुक्क टेलिभिजनबाट छिरेर टिकटै नलिईकन भित्र छिरेको थिएँ । चौरको विशाल टेलिभिजनमा नेल्सन मण्डेलाको फोटो आयो । सम्पूर्ण अफि्रकी सम्मानसाथ चिच्याए । मैले पनि ताली बजाएँ । मलाई कसैले देखिरहेका थिएनन् किनकि म टेलिभिजनबाट छिरेको र दक्षिण अफि्रका पुगेको एक आत्मा मात्र थिएँ । मैले सोचेँ- मेरो देशमा मण्डेला जन्मेनन् । यहाँ त प्रधानमन्त्री र मन्त्री पदका लागि संविधान नै नबनाउने स्वार्थी पात्रहरू मात्र जन्मे । त्यसैले मैले सोचेँ मेरो देशमा कहिले विश्वकप फुटबल हुनेवाला छैन । अब मेरो जीवन नै कति बाँकी होला र । बाँकी रहने केही वर्षहरूमा पनि यहाँ विश्वकप हुने सम्भावना पनि कतै देखिँदैन किनकि यहाँ मण्डेलाजस्ता पद त्याग गर्ने नेता नै जन्मेनन् । जो जन्मे ती आफ्नै लागि मात्र जन्मे । पदका लागि तिनले देशलाई नै बन्दी बनाउन पनि पछि हटेनन् । तिनले यो मुलुकमा जाबो राष्ट्रिय सरकार त बनाउन सक्तैनन् । १७ अर्ब खर्च गरी संविधान त दुई वर्षमा लेख्न सक्तैनन् भने कहाँबाट तिनले विश्वकप आयोजना गर्लान् त ? यो सब कुरा बुझेपछि नै मैले निश्चय गरेको थिएँ कि मौका आउँछ पर्खिंदैन । त्यही सोचेरै म टेलिभिजनबाटै भए पनि छिरेर उद्घाटन समारोह हेर्दै थिएँ ।
म अब नेपाली दौरा-सुरुवाल र भादगाउँले टोपीमा सानो नेपालको झन्डा बोकेर जोहान्सबर्गको त्यो विशाल स्टेडियममा थिएँ । माथिबाट धुवाँ उडाउँदै फाइटर जेटहरू कुदे । वरिपरि हेरेँ । प्रत्येक व्यक्ति मनबाटै हाँसेका छन् । गौरवान्वित महसुस गरेका छन् । त्यतिबेला मैले केही वर्षअगाडिको दक्षिण अफि्रकालाई सम्झेँ । दक्षिण अफि्रका कुनै बेला संसारकै असुरक्षित ठाउँमध्ये एक मानिन्थ्यो । कुनै अफिसियल कामले त्यहाँ जाँदा पनि यो टोलमा नजानु त्यो टोलमा नजानु भनेर निर्देशन हुने गर्दथ्यो । काला जाति र गोरा जातिबीचको सङ्घर्षले त्यस भूमिलाई ज्यादै ठूलो द्वन्द्वमा पारेको थियो । जातीय विभेद र रंगभेदले चर्को रूप लिएको थियो । नेल्सन मण्डेलालाई झन्डै तीन दशकसम्म अँध्यारो कालकोठरीमा राखेका गोरा जातिहरू अझै त्यहीँ छन् । हिंसा, अपराध र वर्णभेदको चपेटमा परेको त्यो मुलुक यति छिट्टै फेरि सामान्य अवस्थामा र्फकनेछ र त्यति मात्र होइन त्यो मुलुकले यति छिट्टै विश्वकपसमेत आयोजना गर्नेछ भन्ने कसले विश्वास गरेका थिए होला र ? अझ त्यति मात्र होइन त्यो विश्वकपमा वर्षौंसम्म एक-अर्कालाई जन्मँदैदेखि दुश्मन ठानेर हुर्केका काला जाति र गोरा जातिहरू पुराना सबै कुरा बिर्सेर हातेमालो गर्दै समारोहमा साथसाथै हिस्सा लिनेछन् र समान ढङ्गको गौरव महसुस गर्नेछन् भन्ने पनि कसले विश्वास गरेका थिए होला र ? तर, यो संसारमा त्यस्तो पनि हुँदोरहेछ । अझ दक्षिण अफि्रकाको यो सफलता हामी सम्पूर्ण अफि्रकीवासीको गौरवको विषय हो भनेर घानादेखि नाइजेरियासम्मका सम्पूर्ण अफि्रकी मुलुकले आ-आफ्ना गायक र सांस्कृतिक झलक पर्ठाई त्यो समारोहको शोभा बढाइदिनु र दक्षिण अफि्रकाको यो उपलब्धिमा पूरै महादेशले गौरव मान्नु अर्कै आश्चर्यजनक कुरो थियो । म त दर्शकीदर्घर्ाा यो सब हेर्दाहेर्दै रुन पुगेँछु । म रुन पुगेँ किनकि मेरो देशमा मण्डेला जन्मेनन् जसले आज बिगँ्रदै गएको राष्ट्रिय एकतालाई फेरि पुरानै अवस्थामा फर्काउन सकोस् ।
मेरो देशमा पृथ्वीनारायण शाहको सालिक तोडेर गणतन्त्र आएको आभाष दिन खोज्ने नेता त छन् तर गणतन्त्रलाई समावेश गरिएको संविधान लेख्ने क्षमता तिनमा छैन । यहाँ वर्ग-वर्गमा बाँडेर जनताबीच टाउको फुटाफुट गर्न उत्साहित गर्ने नेताहरू त छन् मण्डेलाजस्तो पद त्यागेर राष्ट्रका लागि सोच्ने नेता छैनन् । यहाँ जात-जातबीच जातीयताको बिउ रोपेर नेपाली-नेपालीबीच लडाउने नेताहरू त छन् तर २८ वर्ष आफूलाई कालकोठरीमा थुन्ने गोराहरूलाई पनि आफ्नै मुलुकका दाजुभाइजस्तो ठान्ने मण्डेलाजस्तो विशाल हृदय भएको नेता छैनन् । दुर्भाग्य यही भयो कि मेरो देशमा नेता हुनेहरूमा नेताको चरित्रै भएन । उनीहरू नेता बन्न त खोजे तर तिनका व्यवहार भने कसैको तस्करजस्तो, कसैको लुटेराजस्तो, कसैको व्यापारीजस्तो, कसैको षड्यन्त्रकारीजस्तो, कसैको जमिन्दारजस्तो, कसैको भारदारजस्तो, कसैको डनजस्तो, कसैको माफियाजस्तो, कसैको हत्याराजस्तो, कसैको अपाङ्गजस्तो मात्र देखियो । खोइ मण्डेलाको जस्तो निश्चल मुस्कान – खोइ मण्डेलाको जस्तो चरित्र – खोइ मण्डेलाको जस्तो त्याग – खोइ मण्डेलाको जस्तो महानता – आज संसारका सबै ठूला बहुराष्ट्रिय कम्पनीहरू ढुक्कसाथ दक्षिण अफि्रकामा लगानी गर्न तयार छन् । यहाँका नेताहरू अहिले पनि कहिले आरएनएसीले जहाज खरिद गर्ला र म तीन पुस्तालाई पुग्नेगरी कमिसन कुम्ल्याउँ भन्ने धुनमा मात्र देखिन्छन् । कुनै जलस्रोत बन्न लाग्यो भने लाइसेन्स दिनेदेखि नै तिनलाई खान आतुर हुन्छ । त्यो लगानी गर्नेले कति दु:खसाथ त्यो रकम जुटाएको छ तिनलाई मतलब हुँदैन । अझ सके बिनालगानी सेयरसमेत माग्न सक्छन् तिनले । कुनै लाज, सरम, घृणा नभएका नेताहरू भएका मुलुकमा म जन्मेकै कारण मैले मेरो मुलुकमा विश्वकपको आयोजना खिलखिलाएर हाँस्दै हेर्न पाइनँ र मलाई चोरबाटो हुँदै टेलिभिजनबाट छिरेर त्यहाँ जानुपर्‍यो । धिकार छ मलाई ।
कुनै पनि मुलुकमा त्यागी नेताहरू पाउनु पनि जनताको भाग्यकै कुरो रहेछ । दक्षिण अफि्रकालाई हेरेर त्यो कुरा महसुस भयो मलाई । हरेक दिन पार्टी अफिसबाट निस्केर टेलिभिजनछेउ कुर्सीका मात्र कुरा गर्ने नेताहरूको अनुहार हेरेर मलाई बान्ता आउन थालिसक्यो । संसार कहाँ पुगिसक्यो । चीन विश्व सुन्दरी प्रतियोगिता गर्छ नेपालमा सानो सुन्दरी प्रतियोगिता रोकेर नेताहरू के-के न गरेकोझैं गौरव गर्छन् । भारतको बिहार भन्ने बिग्रेको भनिएको राज्यमा पनि नितिसकुमारले नयाँ हाइवेहरू थपेर उदाहरणीय काम गरेका छन् । नेपालका नेताहरू चक्रपथको खाल्डो पुर्न सक्तैनन् । जापानका पहाडी बाटामा पहिरो झर्ला भनेर पूरै पहाड ढलान गरिएका छन् । नेपालका नेता गोरेटो बाटो थप्न सक्तैनन् । हिउँमा पुरिएका स्विडेन र नर्वेजस्ता देशहरू संसारमा सबैभन्दा बढी सामाजिक सुरक्षा दिने मुलुक बनेका छन्, इजरायलजस्तो ज्युज धर्म मान्ने राज्यले क्रिस्टियानिटीदेखि मुसलमान धर्मसम्मका सबै सांस्कृतिक धरोहरहरू जोगाई लाखौं पर्यटक भित्र्याउने काम गरिरहेका छन् भने नेपाल सगरमाथादेखि बुद्ध जन्मेको र पशुपतिनाथदेखि विशाल-विशाल नदी भएको मुलुक भएर पनि यिनै निकम्मा नेताहरूको कारणले संसारकै गरिब र असुरक्षित देश बन्न विवश भएको छ ।
कतै कुनै एउटा त्यस्तो काम वा उपलब्धि भएको छैन जसलाई हेरेर म यो भन्न सकौँ कि मेरो देशको पनि राम्रो भविष्य छ । म त भन्छु मेरो देशको सुन्दर भविष्यको सबैभन्दा ठूलो बाधा भनेकै नेताहरू नै हुन् । तत्कालै कुनै मण्डेलाको जन्म नेपालमा होलाजस्तो पनि म देखिरहेको छैन । मान न मान मै तेरा मेहमान समान मात्र नेताहरूको अस्तित्व देखिन्छ । जब मलाई विश्वास भयो कि यी नेताहरूले मेरो देशमा कुनै दिन विश्वकप आयोजना गरी सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाउने कुनै सम्भावना छैन र मेरो जीवनकालमा त यसको सम्भावना बिलकुलै छैन, त्यसपछि मैले निर्णय गरेँ यिनको भर गरेर बस्नुभन्दा टेलिभिजनबाटै भए पनि सुटुक्क छिरेर दक्षिण अफि्रका पुग्नु नै मेरो बुद्धिमतापूर्ण काम हुनेछ । त्यसैले म टेलिभिजनका चोरबाटोबाट दक्षिण अफि्रका गएँ । म त भन्छु तपार्इंहरू पनि यी नेताहरूको भर नपरी खुरुक्क टेलिभिजनबाट छिरेर दक्षिण अफि्रका पुगिहाल्नुहोस् । के तपाईंहरूलाई लाग्छ कि आज हाम्रा वरिपरि देखिएका नेता भन्नेहरूले यो मुलुकमा विश्वकप आयोजना गर्न सक्नेछन् ? सक्दैनन् भन्ने तपाईंको ठहर छ भने नेताहरूको भर किन पररिहनुहुन्छ ? छिर्नुहोस् आजै टेलिभिजनबाट दक्षिण अफि्रका ।