सत्ताबाट गलहत्याइएका एकाध नेता पनि पूर्वराजाको बढ्दो जनसमर्थनबाट अत्तालिएर बहुलठ्ठीपनमा उत्रिएका छन् । राजनीति भनेको सभ्यता पनि हो, तर राजनीतिक शिष्टताको धज्जी उडाउँदै उनीहरू झनै असभ्य तथा अराजक बन्न उत्ताउलिएको देखिँदैछ ।
✍ राजबाबु शंकर
नेपालमा सक्रिय राजनीतिक दलहरूप्रतिको अतुल घृणा राजा ज्ञानेन्द्र शाह पोखराबाट राजधानी आगमनका क्रममा देखिनु अनपेक्षित होइन । लगभग १६ वर्षयता शासनको बागडोरमा रहेर रैंदालो गर्दै आएका राजनीतिजीवीहरूप्रति आम जनता कुन हदसम्म विरक्त र आक्रोशित रहेछन् भन्ने एउटा प्रमाण राजासमर्थित त्यो विशाल लावालस्करले दिएको मान्न सकिन्छ । मुलुकको परिस्थिति पतनोन्मुख रहेको र आम जनताको अपेक्षा सम्बोधन नगरिएको विषयप्रति निराश जनताको राजाकेन्द्रित सो स्वागताभिनन्दन प्रकारान्तरले उनीसँग गरिएको जनयाचना पनि हो । ‘राजा आऊ, देश सम्हाल, जनताको पुकार सुन, हामी दलीय नन्दी-भृंगी पघिता छोटे राजाहरूबाट वाक्क/दिक्क र निराश भयौं’ भन्ने सन्देश पनि थियो त्यो, शायद !
जनताको भव्य स्वागत र व्यापक समर्थनबीच राजधानी आएका राजाको त्यो उल्लेख्य संख्याको जनउपस्थितिमा भएको परिक्रमापछि खासगरी संसद्सँगै विभिन्न दलीय कार्यक्रमहरू मार्फत नेताहरूको रोदन-क्रन्दन र हुइँया जारी छ । दलका नेतागण र कट्टर सांसदहरू शिष्टतारहित अभिव्यक्तिमा प्रस्तुत भइरहेका छन् । उनीहरू आफ्नो गल्ती/कमजोरी र लापर्वाहीको आत्मसमीक्षा गर्नुको साटो राजसंस्थाप्रति बढ्दो जनसमर्थनबाट अचाक्ली चिन्तित र विचलित भएका पाइँदैछन् । मुलुक संकटमा रहँदा पनि आपसमा लडभिड गर्दै समयको अपव्यय गरिरहेका स्वार्थी शक्ति-समूहहरू विषयान्तर गरेर अझै आ-आफ्नो नालायकी छोप्ने दुष्चेष्टा गर्दैछन् !
देशको सम्प्रभुता तथा निर्णायक हैसियत कमजोर बनाउँदा आफू ‘नायक’ भएको भ्रम पालिरहेका ती जो-जो हुन् र ज-जसले ‘लोकतान्त्रिक गणतन्त्र’को ब्यानर टाँगेर शासकीय अधिनायकवाद र सर्वसत्तावाद लादिरहेका छन्- वस्तुतः खलपात्रहरू हुन् । शासकीय भोगाधिकार पाएकाहरू ‘प्रतिगमन’ आ-आफैं गरिरहेकाहरू छन्, तर ‘प्रतिगमनकारी’ भनेर फत्तुर अरूहरूलाई नै लाउन उद्यत हुँदै आएका छन् ! केहीको खलनायकीको त अब दिनगन्ती पनि शुरु भइसकेकै छ । सत्ताबाट गलहत्याइएका एकाध नेता पनि पूर्वराजाको बढ्दो जनसमर्थनबाट अत्तालिएर बहुलठ्ठीपनमा उत्रिएका छन् । राजनीति भनेको सभ्यता पनि हो र राजनीतिक शिष्टताको धज्जी उडाउँदै उनीहरू झनै असभ्य तथा अराजक बन्न उत्ताउलिएको देखिंदैछ ।
अतीतका गल्तीहरूबाट पाठ सिक्दै देशमा नाजायज रूपमा कायम संक्रमणकालीन परिस्थितिको पटाक्षेप गर्ने आत्मसमीक्षायुक्त प्रयास कतैबाट भएन भने सम्भवतः आगत दलहरूको पकडमा रहने छैन ।
यसका अलावा सार्वजनिक समारोह र बृहद् जनउपस्थितिका माझ ‘…मुर्दावाद’ भन्नेको संख्या बढ्दै जानु, त्यसो भन्ने युवाहरू पार्टीका गुण्डाहरूबाट कुटिनु, कतिपय नेतालाई जुत्ताले हानिनु र तिनलाई गिरफ्तार गरेर लगिनु जस्ता वर्तमान अवस्थासम्ममा घटनावलीले विभिन्न झण्डाधारी नेतागण र शासकहरूप्रतिको घृणाको ग्राफ बढ्दै गएको नमान्ने कारण रहेको छैन । त्यसैले राजा ज्ञानेन्द्र शाहको समर्थनमा जुटेको अपार भीड, खासमा दलीय अकर्मण्य नेताहरूप्रतिको घोर घृणा र विरोधको, परावर्तन हो भन्ने अर्थमा बुझिनु श्रेयस्कर हुन सक्छ । अबका दिनहरूमा नेतागण वा ‘मै सर्वेसर्वा हुँ’ भन्ने दम्भी जुनसुकै दलका नेताहरूले के बोल्छन्, त्यसले अर्थ राख्न छोडेको छ । नेपाली जनताको चेतावनी र आन्दोलनले चैं अब बहुअर्थ राख्ने पक्का छ ।
नेपाललाई स्वतन्त्र, सार्वभौम, अखण्ड र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्न आह्वान गर्ने राजाप्रति समर्थनको आकार बढ्दै जाने वातावरण यसकारण पनि बन्दैछ कि, २०६३ सालपछि नेपाली राजनीतिमा बहाल हुन पुगेका नेताहरूले जनताप्रति कृतघ्नताको हद पार गरेका छन् । राजाप्रतिको पछिल्लो लोकप्रियता नेतागणले जनतासँग गरेको त्यो बेइमानीको जवाफ पनि हुन सक्छ । यसै पनि केही समयअघि इण्डियन सञ्चारमाध्यममा २०६३ सालको जनान्दोलनमा इण्डियन संस्थापनको भूमिकाको पर्दाफास गर्दै १२बुँदेका आठभाइ र त्यो परिवर्तनबाट फाइदा लिनेहरूलाई नंग्याइएको जो छ ।
पूर्वराजाको फागुन ७ गतेको सन्देशको अर्थ- सम्भवतः आन्तरिक राजनीति बारे, कुनै पनि विदेशी हस्तक्षेप बेगर, यहाँका जनताले सामूहिक आत्मनिर्णयको अधिकारको अभ्यास गर्न पाउनुपर्छ भन्ने पनि लाग्दछ । अब विकल्प के छ भने, विदेशीले जे भन्यो/गऱ्यो; त्यही ठीक भनेर २०६३ साल यताजस्तै मान्दै आउने वा दुई निकट छिमेकका देशबीच कूटनीति सन्तुलन र सौहार्द्धता बढोत्तरी गर्दै सार्वभौम मुलुकको दर्जाअनुरूप तटस्थ र विश्वसनीय बन्ने ? अतः अब भने अतीतका गल्तीहरूबाट पाठ सिक्दै देशमा नाजायज रूपमा कायम संक्रमणकालीन परिस्थितिको पटाक्षेप गर्ने आत्मसमीक्षायुक्त प्रयास कतैबाट भएन भने सम्भवतः आगत दलहरूको पकडमा रहने छैन । समय कसैको वशमा रहँदैन पनि ।
प्रतिक्रिया