महानिरीक्षक वसन्तबहादुर कुँवर सेवानिवृत्त
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (४ चैत) बसेको बैठकले थापालाई प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएअनुसार बैठकले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसअघि आजै गृहमन्त्री रमेश लेखकले सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गरेका थिए ।
आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले बधाई दिँदै सेवा निवृत्तपछिको जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पदसम्मको यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए ।
महानिरीक्षक कुँवर मंगलबार (५ चैत) बाट सेवानिवृत्त हुँदैछन् ।
प्रतिक्रिया