‘श्रीमानले असहमति जनाउँदाजनाउँदै मेरै आग्रहमा श्रीमान र मबीच सम्बन्ध विच्छेद गरियो । विद्यार्थीको रुपमा विदेश जान लागेकी छिमेकी बहिनीसँग कोर्ट म्यारिज गराएर डिपेन्डेड भिसामा श्रीमानलाई विदेश पठाएको थिएँ । विदेशमा गएर पैसा कमाउलान् र सुख मिल्ला भनेर मेरै इच्छा, आग्रह र सहमतिमा सम्बन्ध विच्छेद गरेर ती नानीसँग विवाह गराइ विदेश पठाएकी हुँ । यसरी विदेश पठाएका श्रीमानले उताबाट सम्पर्क नै गरेनन्, अहिले तीन वर्षपछि नेपाल आउँदा पनि मलाई वास्ता गरेनन् । मलाई न्याय चाहियो, मेरो पति मलाई चाहियो..।’
✍ रसना ढकाल
घटना नम्बर एक
जिल्ला प्रहरी परिसर काठमाडौंमा एक महिला सम्बन्ध विच्छेदको कागज देखाउँदै आफ्नो पति झिकाउन फिराद गर्दै थिइन् । उनको फिराद सुनेर सम्बन्धित कर्मचारीहरू अचम्ममा परे । एक महिला प्रहरीले ‘तपाईंले सम्बन्ध विच्छेदको कागज ल्याउनुभएको छ, अनि फेरि श्रीमान् झिकाइदिनु भन्नुहुन्छ, हामीलाई स्पष्ट भन्नुस्- कसको पति झिकाउने ?’ भन्दै जिज्ञासा राखिन् । त्यसपछि ती महिला भन्छिन्- ‘म्याम.., मेरै पतिलाई झिकाउन अनुरोध गरेकी हुँ ।’ तर आश्चर्यपूर्ण कुरा के भने उनको हातमा उनले नाम लिइरहेको पतिसँग सम्बन्ध विच्छेद भएको कागज थियो ।
ती महिलासँगै उनको काखेनानी पनि थिइन् । पुनः प्रहरीद्वारा उनलाई शान्त रहन अनुरोध गर्दै प्रश्न गरिन्छ- ‘के भएको… ? अर्को विवाह गर्नुभएको हो ? कि सम्बन्ध विच्छेदमा भनेजस्तो पतिले नानीलाई हेरचार नगरेको या अरु नै केही हो ?’ त्यसरी जिज्ञासा राखेपछि बल्ल ती महिला कुरा खोल्छिन् ।
‘पोल्याण्डबाट नेपाल आएकी एक छिमेकी बहिनीले कोही पुरुष मसँग डिपेन्डेड भिसामा पोल्याण्ड जान्छ भने लैजान सक्छु भनी मसँग भनेकी थिइन् । अनि मैले मेरै पतिलाई हाम्रो आर्थिक अवस्था कमजोर छ बरु तपाईं नै विदेश जानुहोस्, यो राम्रो मौका हो भनी आग्रह गरेँ । तर मेरा पति मानेका थिएनन् । पछि मेरै करकापले पति तयार भए र डिपेन्डेड भिसामा विदेश पठाउने भइयो । अनि सहमतिमै सम्बन्ध विच्छेद गरेर उही नानीसँग अदालती विवाह गरेर विदेश पठाएकी थिएँ । डिपेन्डेड भिसामा जान नाता चाहिने भएकोले मेरै आग्रहमा पतिसँग सम्बन्ध विच्छेद गरेर ती नानीसँग विवाह गराएर विदेश पठाएकी हुँ । अहिले पति तीन वर्षपछि नेपाल आएका छन्, तर मलाईवास्ता नै गर्दैनन्, बीचमा पनि सम्पर्क गरेनन् ।’ यति भन्दै ती महिला रुन थालिन् ।
ती महिलाको यस्तो समस्यामा प्रहरीलाई केही गर्ने अधिकार नै रहेनछ । किनकि, ती महिलाकै हातमा जिल्ला अदालत काठमाडौंबाट भएको सम्बन्ध विच्छेदको कागज थियो । कुनै पनि घटनालाई हो भनेर पुष्टि गर्ने आधार कागज नै हुन्छ र, कानूनमा ठूलो प्रमाण भनेको नै कागज हो । उनले कुरा नबुझेर उल्टै प्रहरीहरूप्रति नै आक्रोश प्रकट गर्न थालिन् । ‘हाम्रो बीचमा केही नराम्रो भएको थिएन, कमजोर आर्थिक अवस्थाको कारण पैसा कमाउन छिमेकी बहिनीसँग डिपेन्डेड भिसामा जान सम्बन्ध विच्छेद गरेको थियौँ, आज त्यसैको सजाय भोग्दैछु’ भन्दै उनी रुन लागिन् । बल्लतल्ल उनलाई आफ्नो बसोबास रहेको वडा कार्यालयबाट यो घटना समाधान गर्नुपर्छ भनी सम्झाएपछि उनी त्यहाँबाट बाहिरिइन् ।
घटना नम्बर दुई
केही महिनाअगाडिको कुरा हो, अमेरिका बस्दै आएकी एक बहिनीले अनलाइन कुराकानीका क्रममा ‘दिदी.. हेर्नुस् न, त्यो मेरो साथी मसँग बोल्दिन’ भन्दै मसँग गुनासो गरिन् । मैले ‘किन, के भयो तिमीहरूको बीचमा ?’ भन्दै चासो राखेँ । उनले प्रस्ट्याउँदै भनिन्- ‘म अमेरिका आउँदा उसले आफ्नो पतिलाई डिपेन्डेड भिसामा अमेरिका लगिदिन आग्रह गरेकी थिइ, उसले आफ्नो पतिसँग नक्कली सम्बन्ध विच्छेद गर्ने अनि मैले विवाह दर्ता गरेर उसको पतिलाई अमेरिका लैजानुपर्ने उसको अनुरोध थियो । त्यस्तो कुरा मैले स्वीकार गर्नसक्ने अवस्था नै भएन, त्यस्तो गलत काम म कदापि गर्न सक्दिनँ भनिदिएँ । त्यत्तिकैमा उ मसँग रिसाएर बोलचाल बन्द गरी । मैले त उसकै हितका लागि अस्वीकार गरेको थिएँ, तर उसले कुरा बुझिन ।’
त्यसैगरी सम्बन्ध विच्छेदको कागज हातमा लिँदै एक जोडीले ‘थ्याङ्क्स गड ! तिमी थियौ र मैले क्यानडा देखेँ, होइन भने मेरो बाउआमाको पैसाले कहाँ क्यानडा पुग्न पाउनु ?’ भन्दै आफ्नो केटा साथीलाई भन्दै थिइन् । दुवै जना सम्बन्ध विच्छेद भएकोमा खुशी मनाउँदै थिए । कारण बुझदै जाँदा केही वर्षअघि ती केटाकेटी डिपेन्डेड भिसामा क्यानडा गएका रहेछन् । त्याहहाँ पुग्नेवित्तिकै एरपोर्टबाटै छुट्टिए । दुवै जना आफ्नै काममा रमाएपछि नेपाल आएर सम्बन्ध विच्छेद गरे ।
यस्तै, भर्खरै सम्बन्ध विच्छेद गरेर एक जोडीले रेष्टुरेन्टमा जमघट गरी आफ्नो पार्टनरलाई धन्यवाद दिँदै थिए । किनकि, ती दुवै जना तीन वर्षपहिले डिपेन्डेड भिषामा क्यानडा गएका रहेछन् । क्यानडा पुगेपछि दुवै जना आ-आफनै संसारमा गए । पछि आ-आफ्नो जीवन धान्न सक्ने भएपछि नेपाल आएर एकअर्कासँग सम्बन्ध विच्छेद गरेर वास्तविक घरजम गरे ।
माथिका उदाहरण प्रतिनिधिमूलक मात्रै हुन् । यहाँ यस्तो घटना दिन-प्रतिदिन बढिरहेको छ ।
डिभोर्स पनि नक्कली हुन्छ ?
न्यायालय पुगेर कानूनसम्मत गरेको सम्बन्ध विच्छेद नक्कली हुँदैन । अदालतमा डिभोर्स गर्नुपर्छ । नेपालको कानूनमा डिभोर्स गर्ने अधिकार अदालतलाई नै छ । विवाह भएको कुरा जोडीले कुनै सभा-समारोहमा भने विवाह भएको मानिन्छ तर सम्बन्ध विच्छेद गर्न अदालत नै आउनुपर्छ । यति भनिरहँदा समाजमा पति-पत्नी तीन वर्षसम्म छुट्टेर बसेका छन् भने स्वतः डिभोर्स हुन्छ भन्ने सोच व्याप्त छ, जुन बिल्कुल गलत हो । डिभोर्स गर्न अदालत आउनैपर्छ, चाहे छुट्टिएर बसेको १० वर्ष नै किन नहोस् । मुखले एकअर्कालाईभन्दैमा डिभोर्स हुँदैन । हुन त माथिको उदाहरणहरूमा केन्द्रीत हुँदा विदेशिने मोहमा गरेको सम्बन्ध विच्छेद नक्कली थियो तर कानूनबमोजिम निकायमा गएर इजलामा उभ्भिएर फैसला लिएको कागज त नक्कली कदापी हुँदैन ।
एक विवाहित जोडीले सम्बन्ध विच्छेदलाई कल्पना पनि गर्न सक्दैनन् होला तर समय काल परिस्थितीको कारण विच्छेदको निर्णयमा व्यक्ति पुग्न सक्छ । सबै आ-आफ्नो प्रकारको देखाइ र भोगाइ छ । नेपाली महिलाहरू प्राय घरेलु हिंसाबाट प्रताडित हुने र त्यसमा मानसिक र शारीरिक असर महिलालाई नै पर्ने भएकोले अन्तत्व स्वतन्त्र भएर जीवनयापन गर्न सम्बन्ध विच्छेद गर्नुपर्ने प्रावधान भयो । सम्बन्ध विच्छेद गर्न दुईटा बाटो- पहिलो पति-पत्नी राजीखुशीमा हामी मिलेर सम्बन्ध विच्छेद गर्छौं भन्छन् भने दुई दिनमा सम्बन्ध विच्छेद हुन्छ, तर दुईमध्ये एक पक्ष सम्बन्ध विच्छेद गर्न मानेको छैन भने अदालतमा निवेदन परेको एक वर्षसम्म अदालतले हेर्ने त्यसपछि सम्बन्ध विच्छेदको बाटो खोलिदिने प्रावधान छ ।
नेपाली समाजले सम्बन्ध विच्छेदलाई केवल महिलाको धारबाट मात्रै हेरिरहेको छ । कुनै पनि सभा-समारोहमा जाँदा त्यहाँ केवल महिलाको तर्फबाट मात्रै सम्बन्ध विच्छेदलाई ब्याख्या गरिन्छ । तर कानूनसम्मत हेर्दा त्यहाँ पुरुषको अधिकार पनि हनन भइरहेको हुन्छ । बालबालिका छन् भने उनीहरूको भविष्यलाई हेर्दैन । वर्तमान कानूनले पुरुषलाई पनि सम्बन्ध विच्छेद गर्न सिधै अदालत आउने बाटो त दियो तर पुरुषको समस्या सुन्न इजलास पनि उदार भएको देखिँदैन । त्यही फिराद महिलाले दर्ता गरे तुरुन्त सम्बन्ध विच्छेदमा जाने तर पुरुषको हकमा थुप्रै कानूनी लडाइँ लड्नुपर्ने अवस्था छ । कानूनमा नै पुरुष भन्नेवित्तिकै पहिचान र अंश दिनुपर्ने व्यक्तिको रूपमा चित्रण गरेको देखिन्छ, जुन बिल्कुल गलत छ । विवाहसम्बन्धी कानून निर्माण गर्दा तत्कालिन अवस्थालाई मध्यनजर गर्दै बनाइयो तर काल परिस्थिति सधैं एकनासको हुँदैन त्यसकारण कानून संशोधन आवश्यक छ । यतिसम्म कि पतिले सबै सम्पत्ति पत्नीको नाममा राखेको छ, पत्नीले धोका दिइन् भने आफैले कमाएको सम्पत्ति लिन पुरुषले अंशमुद्दा हाल्नुपरेको अवस्था पनि छ । सायद कानूनको परिकल्पना यस्तो थिएन होला तर अपराधिक मानसिकता हरेक वर्ग या लिङ्गमा हुन्छ, फरक यत्ति हो कि कोही देखाउँछन् त कोही लुकाउँछन् । कानून सबैको लागि बराबर भए पनि विभेद व्याप्त छ ।
वैदेशिक रोजगारीमा रहेका आफ्ना पति र उनले पठाएको पैसालगायत सम्पत्ति लिएर अरुसँग विवाह गर्ने महिलाहरूको सङ्ख्या पनि धेरै नै छ भने अर्कोतर्फ जसको महिला वैदेशिक रोजगारमा गएका छन् त्यस्ता पुरुषमाथि समाजले ‘श्रीमतीलाई बाहिर पठाएको छ, लोग्नेमान्छे भएर आफू घरमा बसेको छ’ भनेर तथानाम भन्नेहरू पनि छन् ।
वर्तमान नेपाली समाजमा दिनैपिच्छे सम्बन्ध विच्छेदका घटना आउँदा समाज तरङ्गित भएको छ । जति सम्बन्ध विच्छेद भयो त्यति महिलाहरूमा चेतना आएको भन्दै एक वर्ग एकोहोरो बोलिरहेको छ भने अर्को पक्ष जीवनमा अरुसँग केही लाभ लिनको लागि पनि एक व्यक्तिलाई त्यागेर अरुसँग विवाह गर्न लालायित भएको देखिन्छ । अझ यसमाथि वैदेशिक रोजगारीको पीडा त झन् भयावह नै छ । वैदेशिक रोजगारीमा रहेका आफ्ना पति र उनले पठाएको पैसालगायत सम्पत्ति लिएर अरुसँग विवाह गर्ने महिलाहरूको सङ्ख्या पनि धेरै नै छ भने अर्कोतर्फ जसको महिला वैदेशिक रोजगारमा गएका छन् त्यस्ता पुरुषमाथि समाजले ‘श्रीमतीलाई बाहिर पठाएको छ, लोग्नेमान्छे भएर आफू घरमा बसेको छ’ भनेर तथानाम भन्नेहरू पनि छन् । त्यस्तो अवस्थामा ती पुरुषले महिलालाई घर बोलाएर आफू बाहिर गएको पनि उदाहरण छ ।
मिश्रित धारबाट समाज गुज्रिँदै छ । भएका कानूनहरूलाई फेरि एकपल्ट हेर्नु नितान्त जरुरी भैसकेको छ । किनकि, कानून भन्ने चिज जेण्डरभन्दा माथि हुनुपर्छ । तर हामीकहाँ यो कुराको कमी छ । त्यसैले दिन-प्रतिदिन घटनाहरू हुँदा समाजमा नकारात्मक चित्रण गैरहेको छ । यसमा विवाद आउँछ कि भनेर यसतर्फ कोही बोल्न चाहन्नन् । यससम्बन्धमा माथिको उदाहरणबाट थाहा हुन्छ ।
ऐनमा भएको व्यस्था अपर्याप्त :
जंगबहादुर राणाको शासन कालमा सन् १९१० मा निर्माण भएको मुलुकी ऐनलाई वर्तमान कानूनले प्रतिस्थापन गरेर मुलुकी देवानी कार्यविधि संहिता २०७४ निर्माण भयो । मुलतः सर्वेत्तम कानूनको रूपमा नेपालको संविधान हो भने त्यसअनुरूप बनेका कानून शाखा कानून हुन तथा एकदमै महत्वपूर्ण कानून हो । मुलुकी देवानी कार्यविधि संहिता २०७४ को भाग ३ मा पारिवारिक कानूनको व्यवस्था गरिएको छ । जुन घर-परिवारसँग सम्बन्धित कुराहरू गर्दछ । यसैअन्तर्गत विवाहसम्बन्धी व्यवस्था, विवाह बदर हुने अवस्थाहरूलगायत वैवाहिक सम्बन्ध अन्त्य अर्थात् सम्बन्ध विच्छेद बारेमा प्रष्टसँग बोलेको छ । यद्यपि वर्तमान कानूनले विवाहको लागि केवल महिला र पुरुषको पक्षमा बोलेको छ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको हकमा विवाह गर्न बोलेको छैन । तर देशको सर्वोत्तम कानुन संविधानमा लैङ्गिक पहिचानको आधारमा नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । यहीँनिर पारिवारिक कानुनको महलमा विवाद छ ।
यति भनिरहँदा महिला र पुरुषको हकमा केही व्यवस्था छन्, त्यही व्यवस्थाको ढाँचामा टेकेर सम्बन्ध विच्छेदको फिराद तयार गर्नुपर्छ, ढाँचाभन्दा बाहिर गयो भने सम्बन्ध विच्छेद हुँदैन । अब वर्तमान कानूनले सम्बन्ध विच्छेदको लागि दिएको ढाँचा अपर्याप्त भयो किनकि यहाँ अनेक तरिकाले सम्बन्ध विच्छेद गर्न आउन थाले त्यसको लागि छुट्टै क्याटोगोरी छुट्याउन आवश्यक छ । कस्तो कस्तो प्रकारको सम्बन्ध विच्छेद भयो भनेर त्यसको तह गत छुटटाएर कानून निर्माण गर्नु आवश्यक छ । पतिले अर्को विवाह गरे भने पत्नीले मुलुकि फौजदारी कार्यविधि संहिता २०७४ को कानून बमोजिम बहुविवाहको मुद्दा दायर गर्न सक्छिन् तर पत्नीले अर्को विवाह गरेकी छन् भने कानून केहीँ छैन यससम्बन्धी कानून नहुँदा यहाँ तमाम घटनाहरू बढिरहेको छ । पत्नीले कानूनी प्रक्रियामा नगइ ६ वर्षसम्म बाहिर बसेकी छिन्, उनलाई घर-परिवारले बोलाउँदा पनि आइनन म अर्को विवाह गरिसकेकी छु भनेर परिवारलाई भनिन् र यता केटाले पनि विवाह गरेपछि ती विवाहित महिलाले पहिलो श्रीमानलाई बहुविवाहको मुद्दा हालेको अवस्था पनि छ । कानून निर्माणको परिकल्पना गर्दा दूरदर्शिता भएर गर्नुपर्ने हुन्छ । यो ख्याल ख्यालमा हासो ठट्टा गरेर बनाउने कुरा होइन । कानून सबैलाई चाहिने भएकोले यसको निर्माण पनि सोच विचार गरेर अवस्थाहरू हेरेर सम्बन्धित ठाउँमा गएर घटना विश्लेषण गरेर निर्माण गर्नुपर्छ । सबै नागरिकको समान न्यायको पहुँच कानून निर्माण गर्नु आवश्यक छ । पत्नीले अर्को विवाह गरेको खण्डमा कानून खै त ? हामीकहाँ विवाह भएको सामान्य कोहिलाई थाहा हुँदैन तर सम्बन्ध विच्छेद हुन लागेको सबैलाई थाहा हुन्छ ।
कानून, घर-परिवार समाज र राष्ट्रलाई नियमन गर्न बनेको एक महत्वपूर्ण दस्तावेज हो । यसमा सबै नागरिकको न्यायको कुरा गरिन्छ । महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको न्यायको सवाल आउँछ । न्यायलयको ढोकाभित्र व्यक्ति छिरेपछि आफू अन्यायमा परेको र यहीँबाट न्यायको दियो बल्नेछ भन्ने आशमा जान्छ । त्यसैले न्यायको दियोबाट कोही निर्दोषलाई जल्न नपरोस् र कोही दोषी उम्कन नपरोस् । जय कानून !
प्रतिक्रिया