काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. वाग्ले नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. वाग्ले नियुक्त


काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त हुनुभएको छ ।

विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट प्रा.डा. वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम आज (४ चैत) नियुक्त गर्नुभएको हो ।

उपकुलपति छनोटका लागि डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । सो विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो ।

काभ्रेपलाञ्चोकको वनेपा नगरपालिकामा २०२५ सालमा जन्मनुभएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौं विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिष्ट्रार हुनुहुन्थ्यो । उहाँले सो विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख र एड्जङ्कट प्रोफेसर रहेर काम गरिसक्नुभएको छ ।

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका उहाँले बेलायतको ब्रिमिङ्घम विश्वविद्यालयबाट एमएस्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गर्नुभएको छ ।

डा. वाग्लेसँग प्रधानमन्त्रीको प्रेस सल्लाहकार र नेपाल राष्ट्र बैँकका गभर्नरको सल्लाहकार रही काम गरेको अनुुभव छ । उहाँले व्यवसाय, वातावरण, क्षेत्रीय अर्थतन्त्र, वित्तीय सङ्घीयता र उद्यमशीलता आदि विषयमा अनुसन्धान गर्दै आउनुभएको छ । उपकुलपतिको कार्यकाल चार वर्षको रहने छ ।