को हुन् पच्चीस करोड भन्दा बढीको अवैध रकम ओसारपसार गर्ने कुसाङ लामा ?

को हुन् पच्चीस करोड भन्दा बढीको अवैध रकम ओसारपसार गर्ने कुसाङ लामा ?


पच्चीस करोड भन्दा बढीको अमेरिकी डलर, युरोलगायत विभिन्न देशका मुद्राहरूसहित पक्राउ परेका फुच्चे भन्ने कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरुले राजस्व छली गरी अवैध रूपमा ओसारपसार तथा कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (टेकु)बाट खटिएको प्रहरी टोलीले सोमबार राति ११ बजे टोखा नगरपालिका-२ झोरबाट ना. ७ ख १६५२ नं. को मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकमा अवैध सामग्री ओसारपसार गरिएको गाडी शंका लागेपछि नियन्त्रणमा लिइ खानतलासी गर्दा ट्रकको ड्राइभर बस्ने क्याविनको बायाँतर्फको माथिल्लो भागमा फल्सबटम बनाइ छिपाएर ल्याएको अमेरिकी डलर, युरो लगायतका मुद्राहरू फेला पारी सवारीचालक कुसाङ लामालाई पक्राउ गरिएको हो ।

सिन्धुपाल्चोक भोटेकोशीका ४३ वर्षीय लामाले अवैध तरिकाबाट भन्सार तथा राजस्व छलेर अवैध विदेशी मुद्राको कारोबार गरेको हुँदा निजलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

लामा २०७३ साल पौष १३ गते राजस्व छली सुन चोरीपैठारी मुद्दामा ७ केजी सुनसहित पक्राउ परी ५ वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् ।

यस मामलामा अन्य ब्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।