‘समृद्धिका लागि चीनबाट पाठ सिक्न जरुरी’

‘समृद्धिका लागि चीनबाट पाठ सिक्न जरुरी’


मुलुकको आर्थिक वृद्धि तथा भौतिक समृद्धिका लागि चीनले गरेको सकारात्मक प्रयासबाट मुलुकले पाठ सिक्न जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।

‘फ्रेन्ड्स अफ सिल्क रोड क्लब-नेपाल’ले बिहीबार (७ चैत) आयोजना गरेको ‘चीनको दुई सत्र २०२५ : नेपालका लागि पाठ, अवसर र प्रभाव’ विषयक छलफलमा उनीहरुले चीनसँगको मैत्री सम्बन्ध बढाएर समृद्धिको पाठ सिक्न सकिने बताएका हुन् ।

पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री कर्णबहादुर थापाले चीनको नीतिभित्र रहेर नेपालको समृद्धिका लागि पहल गर्नुपर्ने बताए । ‘चीन–नेपाल सम्बन्ध विस्तार गरेर प्रमुख नीतिगत निर्णय, आर्थिक रणनीति, अन्तरराष्ट्रिय सहकार्य, दिगो विकास नीति कार्यान्वयनका लागि चीनबाट हामीले धेरै कुरा सिक्न सक्छौँ’, उनले भने- ‘यसका लागि राजनीतिक तवरबाट नै कूटनीतिक सम्बन्ध बलियो बनाउन जरुरी छ ।’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का युवा नेता युवराज चौलागाईंले आर्थिक रुपमा चीन र नेपालबीच सम्बन्ध बढाएर अझै बढी फाइदा लिन सकिने सम्भावना रहेको बताए भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले चीनले पछिल्लो समय प्राविधिक क्षेत्रको विकासमा फड्को मारेकाले चीनबाट प्राविधिक ज्ञान लिएर नेपाल पनि अगाडि बढ्नसक्ने सम्भावना रहेको औंल्याए ।

आर्थिक विकास तथा प्रशासन केन्द्र (सिइडिए)का कार्यकारी निर्देशक प्राडा अर्जुनकुमार बरालले चीनले गरेको आर्थिक समृद्धिबाट र चीनले गरेको विकासबाट पाठ सिकेर नेपालका विकास तथा आर्थिक समृद्धिका योजना कार्यान्वयन गर्न सकिने सुझाव दिए।

परारष्ट्र मामिलाका जानकार गोपाल खानालले नेपालले आर्थिक वृद्धि, औद्योगिक आधुनिकीकरण तथा सुशासन सुधारका लागि चीनका रणनीतिहरूबाट पनि पाठ सिक्न सकिने धारणा राखे

यसैगरी ‘फ्रेन्ड्स अफ सिल्क रोड क्लब-नेपाल’ का महासचिव डा. कल्याणराज शर्माले चीनसँग सहकार्य गर्न सकिने क्षेत्रको विषयमा स्पष्ट रणनीति तर्जुमा आवश्यक रहेको उल्लेख गर्दै भने, ‘नेपालको समृद्धिका लागि चीनसँग लगानी साझेदार गर्न सकिन्छ, चीनसँगको सम्बन्ध बढाएर चीनबाट वैदेशिक लगानी भित्र्याउन सकिन्छ ।’

rss