कर्मण्येवाधिकारस्ते

कर्मण्येवाधिकारस्ते


पाठकवृन्द, यो लघुलेखले निष्पक्ष ढंगले दर्पणले झैं समाज/मुलुकको अवस्था/व्यवस्था र मनुवाको मनोवृत्ति प्रतिविम्बित गरेको मात्र हो; यो कसैप्रति नि पूर्वाग्रही/दुराग्रही छैन ।

भगवान् श्रीकृष्णले श्रीमद्भागवत गीतामा ( ४-७,८ ) भन्नुभएको थियो, ‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।७। परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।८। (हे, भारत ! जब जब धर्म घट्ने र अधर्म बढ्ने हुन्छ; तब तब मैले अवतार लिनेछु । साधूहरूको उध्दार गर्न , पापीहरूको विनाश गर्न र धर्म स्थापनार्थ जुग-जुगमा प्रकट हुनेछु ।)

‘अति सर्वत्र वर्जयेत’ भने झैं मान्छे/व्यवस्थाले अत्याचार गरेमा विस्थापित हुन्छ । यो ध्रुवसत्य भनाइ/दिव्योपदेश नव-सामन्तहरूले आत्मसात गर्देको भए मुलुक अप्ठेरोमा पर्थेन । गतिलो कुरो भए घर्तीको नि अर्ति लिनुपर्छ भन्थे बुढापाकाहरू – मैले बालख हुँदा सुनेको । प्रधानमन्त्री भइसकेका मनुष्यहरूको मुखालारूपी गाली सुन्दा हामी कतियौं शताब्दीमा पो सभ्य र शालीन हौंला जस्तो लाग्छ । एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई तथानाम विशेषण बक्ने विश्लेषण सीपरहित नानाथरी झ्याँक्नेहरू जन्मिंदा छन् । भगवान् बन्न नसके नि मान्छे बन्ने सत्प्रयास त गर्नुपरो नि । सङ्ग्रामको सिलसिलामा केही अर्घेल्याइँ हुन गो भन्दैमा बलभद्र, भक्ति, अमर, कालु , दामोदर र पृथ्वीनारायण जस्ता लडाकुहरूको योगदान अवमूल्यन गर्न मिल्छ र ? All is fair in love and war त भनिएकै छ नि ।

योगदानरहित भुतपूर्व विशिष्टहरूलाई  (?!) आजीवन भत्ता खुवाएर रैतीको टाउकोमा गीर खेल्ने भुटीभाङ बुद्धि नभएका लबस्तराहरू आफ्नो दुनो सोझ्याउन मरिहत्ते गर्दा छन् । युरोपेली तथा अमेरिकाली देशहरूमा त्यस्तो भत्ता वितरण गरेको थाहा हुन सक्या छैन । आफ्नो रैतीलाई दुई छाक अन्न खुवाउन नसकेको गरीबले यस्तो अनावश्यक व्ययभार थेग्न सक्ला र ? सिटामोलको अभावमा जीवन गुमाएका आत्माहरूले कति सराप्दा हुन् । मुट्ठीभरलाई त स्वर्ग छ तर सर्वहारा त सर्वहारा नै रहे । व्यवस्था नराम्रो भन्ने कुरो होइन । यसको नेताले जनताको (?!) अवस्थामा परिवर्तन ल्याउन सक्यो वा सकेन भन्ने प्रमुख कुरो हो ।

आफू चैं रकफेलर झैं समृद्ध हुने र जनतालाई चैं सुदामा बनाउने काइदा ठिक भएन नि । विप्रेषणको लोभमा विदेशीसित श्रम सम्झौता गरेर युवा शक्ति परदेश निर्यात गरेसि कसरी मुलुकले विकासको फड्को मार्न सक्ला र ? यत्र तत्र सर्वत्र हाहाकार, भ्रष्टाचार, अनाचार , अत्याचार र दुराचार । थिति बेथिति भएसि जनताको आशा निराशामा रुपान्तरण हुन्छ । आफू छोटे राजा/प्रतिगामी स्वभावको, अरूलाई फत्तुरमा छोटे राजा/प्रतिगामीको ट्याग भिराउने । वैज्ञानिकताको पगरी गुथाउँदैमा के  परिवर्तन हुने हो र ?

पश्च पञ्चराजमा शासकले ‘ जय नेपाल ‘ भन्नेलाई काङ्ग्रेसी भनेर कारागारमा हुल्थ्यो । संस्था/ संस्थान/ कम्पनी शाही ब्रान्डिड थिए । शरद्चन्द्र, ताराबहादुर, रेवतीरमणहरूको हालीमुहाली थियो । शाहवंश बाहेक अरू स्वतन्त्रताबाट वञ्चित । जनताको स्वार्थमा आँच आएसि ऊ जता मल्कू उतै ढल्कू भैदिन्छ । ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भनिन्थ्यो परन्तु जनता प्रजातान्त्रिक भैदिए प्रजातन्त्रराजमा; गणतान्त्रिक भैदिए गणतन्त्रराजमा । गणतन्त्रराजले नि जनचाहना नबुझे पञ्चराजकै नियति भोग्नु पर्नेछ । तथाकथित स्वतन्त्रता छ; गाँस, बास र कपास छैन । ऱ्याङठ्याङ नमिलेर हो कि क्या हो, स्वतन्त्रता त कहिले बधुँवा डिंगा त कहिले छाडा डिंगा जस्तो भैदिन्छ । युधिष्ठिर कम, हनुमान बेसी – गणतन्त्रराजमा । असम्भव भन्ने केही नरहेकोले गणतान्त्रिक नेताहरूले बेला रहँदै ऐतिहासिक चेत लिएर आफूलाई/ व्यवस्थालाई सुधारेर जनताको पक्षमा काम गर्नु परो; अन्यथा के भन्न सकिन्छ र ?

टिमुर्केको यो मन, भ्रष्ट सहन्न । भ्रष्टहरू  ठाँटिंदा लाजले लाज मान्दो । राम्रो कामको राम्रो इतिहास, नराम्रो कामको नराम्रो इतिहास । नराम्रो काम गर्नेले मरेर जाँदा नि श्राप खाँदो ।  शासकले जनहितमा ध्यान दिए त काम रड्किने थिएन । सामाजिक सञ्जालको टीकाटिप्पणी पढ्दा त नेता भनाउँदोले अपविशेषण कसरी पचाउन सक्या होला जस्तो लाग्छ । बाँच्नको निम्ति खाने हो, खानको निम्ति बाँच्ने होइन । सार्थक बँचाइ पो बँचाइ हो । किरा फटेङ्ग्राले नि आफ्नो जीवन बाँचेकै छन् ।

युवा हीनताभासले दबिएको देख्दा टीठ लाग्छ । लागुको त्वमशरणम् परेर जीवन रित्याउनु हुन्न । धेरैले सुन्दर जिन्दगी खण्डहर तुल्याउँदा, ख्वै कसरी पो उद्धार होला ? वैचारिक स्वतन्त्रता नै राजनीतिक व्यवस्थाको प्राण हो किन्तु तानाशाह यो सत्यता बुझ्दैन वा बुझेर नि बुझ पचाउँछ । मान्छेहरू कृष्ण पक्षधर नि छन्, कंश पक्षधर नि छन्; राम पक्षधर नि छन्, रावण पक्षधर नि छन् । आ-आफ्नो बुझाइ । सबैको एउटै बुझाइ हुँदो हो त दुनियाँ किन विभाजित हुन्थ्यो होला र ?

मान्छे भन्या नैतिकवान् हुनुपर्छ, नैतिकहराम होइन । सुकामको सह्राना र कुकामको आलोचना हुनुपर्छ नत्र त गोबर र गुहुमा के भिन्नता रह्यो र ? शिष्टाचारी/अनुशासित हुनुपर्छ न कि व्यभिचारी/अनाचारी । यही हो सारयुक्त जीवन । सत्यता अँगाल्दा एक्लै पर्छु कि भनेर डराउनु हुन्न । सत्य व्यक्ति एक्लिन्छ । आफूलाई चिन्ने हो; एक्लै जन्म्या, एक्लै मर्न्या । फिक्री के को लिनु र ?

मान्छे गर्ने स्वर्गको बखान । शील स्वभावकी धर्मपत्नी र आज्ञाकारी सन्तान भए स्वर्ग यही हो; कहीं खोज्नु पर्दैन । छोरो छोरो हुनुपर्छ; छोरो मोरो हुनुहुन्न । बस्, यत्ति भए पुग्छ । सभ्य छिमेकी भए सुनमा सुगन्ध । कुमेकी निरर्थक ।

नेपाली भूगोलको कथा । एकपल्ट रामानन्द गुरूले आफ्नो चेलोलाई रुख चढ्ने आदेश दिनुभएछ । रुख अग्लो र सुरिलो । चेलो रुखको टुप्पोमा पुगेर ओर्लन थाल्यो । एक चौथाई भाग बाँकी रहँदा गुरूले चेलोलाई सजग गराउँदै भन्नुभयो, ‘बाबु ! बिस्तारै ओर्ल; बाबु ! बिस्तारै ओर्ल ।’  चेलो रुखबाट ओर्लेर गुरूकोमा आयो र भन्यो , ‘गुरू ! म रुखको टुप्पोमा पुगें; ओर्लेर तल आईपुग्दासम्म हजुरले मलाई केही भन्नुभएन । अन्तिममा आईपुग्दा सतर्क गराउनु भो, किन ?’ प्रत्युत्तरमा गुरूले भन्नुभयो- ‘बाबु ! रुख चढ्दा तिमी आफै सजग थियौ; धेरै तल आइपुग्दासम्म नि सतर्क थियौ । आखिरमा धर्ती आइपुग्यो भनेर हामफालेका भए तिम्रो गोडा खञ्जा हुन्थ्यो । यसैले मैले तिम्लाई सजग गराएको हूँ । यही रितले धेरै मान्छेहरूले लक्ष्य हासिल गर्ने बखत लत्तो छोड्छन् र लक्ष्यमा पुग्दैनन् । कुरा गऱ्यो कुराकै दु:ख । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !