‘अप्प दीपो भव’

‘अप्प दीपो भव’


जिज्ञासा, चिन्ता, अपेक्षा र आनन्दले मानिसको चेतनालाई चीरकालिक प्रभाव पार्दछ । यिनै मानविय रुझानको कारण मानिसले आफ्नो अस्तित्वबारे विभिन्न विचारहरू जन्माउँदै गयो । विचारबाटै दर्शनले जन्म लियो । संहिता, गीता, बाइबल, कुरान, त्रिपिटकलगायत सबै दर्शनहरू वास्तबमा मानव गुणलाई खोज्ने क्रममा प्रकट भएका विचारहरू नै हुन् । जीवनको अर्थको चिन्ताले अल्बेयर कामु जस्ता विचारकहरूलाई आफैमा यसको अर्थ नभएको निष्कर्षमा पुऱ्यायो । जीवनको अर्थ वास्तवमा पूर्व तय नभएर चयन कला र खोज हो । यसमा मानिसभित्र रहेका मुलभुत गुण र प्रदत्त गुणका आधारहरूले मुख्य भूमिका खेल्दछन् । ईश्वर र प्रारब्ध भन्ने कुरा पनि मानिसको कल्पनाबाट सृजित विचार नै हो ।

मानिसको लक्ष्य पूर्वनिर्धारित हुँदैन । मानिस जन्मेपछि उसमा क्रमशः धारणाको विकास हुँदै जान्छ र उसले रुचि तथा बाध्यताको बीच लक्ष्यको छनौट गर्दछ । त्यसैले जीवन मूल्य वा गुणहरूको निर्धारण चयनबाट हुन्छ । जीवन लक्ष्यको चयनमा दबाब भन्दा पनि स्वतन्त्रता आवश्यक हुन्छ । अन्यथा दबाबका निर्णयहरू संकटमा पर्दछन् । लक्ष्य चयनको स्वतन्त्रतालाई निजि त्रासदी र सांसारिक त्रासदीले नकारात्मक प्रभाव पार्दछ । अस्तित्त्वभित्र रहेको हुन्छ प्रेम, घृणा र करुणा । तर अस्तित्वको अन्त्यले यी सबैको उत्पन्न हुने गुणलाई पनि मार्दछ । अस्तित्वको भित्री संकटलाई एक घमण्डी र लोभी मान्छेले देख्न सक्दैन । शारीरिक, भावनात्मक र बौद्धिक अत्याचारले ज्यूँदो रहनको लागि संकट पैदा गर्दछ । यसको समाधान अस्पताल नभएर एकान्त आश्रम वा शान्त प्राकृतिक स्थल हुन सक्छ ।

बेकार वा निरर्थक विचार अर्थात् विसंगति, बेबकुफी जस्ता मन धमिलो पार्ने सोच जसलाई एब्सर्ड (बदकबचम) चिन्तन भन्न सकिन्छ, लाई मानिसले बुझ्न सक्दैन । यसका श्रोतको खोजतलास बिना मानिसले स्थापित मान्यताभित्र आफूलाई खोज्छ । अनि उसले विचारमा एकरुपता कायम गरोस् कसरी ? मानिसले कर्मचक्रको श्रृङ्खलाभित्र अद्भुत असफलताको अनुभूत गर्नु, दुःखी हुनु र स्विकार्नुको विकल्प नदेख्नुको खोट उसको धारणा विकास श्रृङ्खलाभित्र रहेको हुन्छ । त्यो खोज्न उसले आफ्नो विगतको गहनतामा प्रवेश गर्नुपर्ने हुन्छ । मानव जीवनका अनागिन्ती विकल्पहरूबारे आन्तरिक बहसमा प्रवेश गर्नुपर्ने हुन्छ । त्यो सबै मानिसबाट सम्भव हुँदैन भन्न खोजिएको हैन । सम्भव हुन्छ तर प्रयासको निरन्तरतामा उ आफै तैरिन सक्ने हुनुपर्छ ।

परम्परागत भाष्यभित्रका राम्रा कर्मको उपयोगितालाई मानिसले जीवनको योग मान्ने भुल गर्छ । मलाई लाग्छ- ‘मिनिङ’ पनि मानिसले निर्माण गरेको भाष्य हो । जीवनमा यति धेरै विरोधाभाष छन् कि हरेक निष्कर्षहरूका उसकै भाष्यअनुरुपका निष्कर्षहरू छन् । उसकै उपयोगिताअनुरुपका निष्कर्षहरू छन् । तर तिनीहरूको युनिभर्सल अर्थ केही हुँदैन । मेरो विचारमा उपयोगिताको आधारमा त्यो आफ्नो लागि सत्य हुन्छ । जस्तो एक निम्छरो मान्छेको लागि भोजन सर्वोपरी भएजस्तै धनीको लागि मनोरञ्जन अहम् हुन्छ । धनीको लागि धनको लालच अहम् हुन सक्छ ।

राजनैतिक प्रणालीको सन्दर्भमा पनि युनिभर्सल भन्ने केही हुँदैन । जो जहाँ जुन रूपमा रहेको छ उसको विचार प्रणाली त्यही रूपमा निःसृत हुन्छ । उसको लागि प्रणालीगत सत्य पनि आफू र अरु जत्तिकै फरक हुन्छ । एक गाउँले जसलाई छिमेकीको सहयोग निःशुल्क प्रदत्त हुन्छ तर एक धनी शहरियाले नोकर चाकर राखेर सेवा किनेको हुन्छ । ती भिन्न दुई परिस्थितिले फरक दुई सत्य, फरक दुई प्रणाली र विचारको माग गर्दछन् । यसलाई नै आइस्टाइनले सापेक्षतावादमा व्याख्या गरेका छन् । यसलाई अल्बेयर कामुले अस्तित्वको विरोधाभाष भनेका छन् ।

मानिसको सफलतामा निजी भोगाई महत्वपुर्ण हुन्छ । भन्नाले मानिसको जीवनमा निजी भोगाइको निष्कर्ष महत्वपूर्ण हुन्छ । त्यसैमा हामीले सार्वभौम सत्यताको भ्रममा गर्व गर्दछौँ । सत्यको महसूस गरेको भन्दै दुनियाँलाई आफ्नो विचारको दास बनाउन खोज्छौँ । चराको संगीत, बच्चाको मुस्कान, गीतको लय र प्रकाशका किरण देखेर हामी खुशी हुन्छौँ । सबै खुशी हुन सक्ने यी साश्वत सत्य नभए पनि असत्य पनि हैनन् । यिनीहरूका पनि कारण हुन्छन्, स्वयमको सार्वभौमिक अस्तित्व स्वयममा निर्भर नभएकोले ती आफैमा पूर्ण सत्य नभएपनि आंशिक सत्य हुन् ।

इश्वरमाथि सवाल उठाउँदा धेरैले आफ्नो जैविक अस्तित्व समाप्त पारे । तर ईश्वर आफैंमा खोज हो र अपूर्ण निष्कर्ष पनि हो । स्वतन्त्र अस्तित्वको खोजमा प्रश्न त उठिरहन्छन् । निजी अस्तित्वअगाडि पनि प्रश्नहरू थिए, अहिले पनि ती रहस्य प्रतिका चासोहरू ज्यूँकात्यूँ छन् र खोजको अर्को श्रृङ्खला पछि पनि ती प्रश्नहरू रहिरहने छन् । प्रश्न र जिज्ञासा नै खोजको प्रेरणा हो । त्यसैले भनेको इश्वर खोजको पूर्ण निष्कर्ष हैन भनेर । बुद्धले पनि यो प्रश्नको उत्तर दिन चाहेनन् । कारण स्पष्ट छ, ‘आफैं खोज, खोज्ने काम नरोक !’

मानिस दुःख कम भएर हैन दुःख-सुखमा ध्यान नदिएर खुशी हुन्छ । मानिस आफ्नै निष्कर्षले खुशी हुन्छ । ऊ आफ्नै अनुभव र अनुभूतिले रमाउन सक्दछ । आफ्नै सफलता असफलताको श्रृङ्खलामा टेकेर उभिँदा अग्लिएको महसूस गर्दछ । उसको निष्कर्ष सत्य नहोला तर उसले आफुअनुकुल भाष्य बनाएर खुशी हुन्छ । त्यो सन्तुष्ट हुने एउटा कला हो ।

सही खोज असफलताबाट शुरु हुन्छ । रियाज जारी राख्नुपर्छ । म मेरो भाष्यमा मालिक हुँ । आफ्नो दुःखमा आफैं हाबी हुनु र त्यसलाई झेलेर शक्तिशाली बन्नु मानव हुनुको अर्थ हो । दुःखले मानिसलाई मार्न सक्दैन । रुहानी सम्बन्ध युगान्तक हैनन् । यो पनि मेरो निजी भाष्य हो । मैले भनिरहेको हुन्छु, ‘भिडभाडबाट बचौँ, आफ्नो लागि कुन ठिक हुन्छ, आफैं चुनाव गरौँ, तर भेडचालबाट अलग बसौँ । यो सोच्ने, चयन गर्ने सवालमा पनि भनेको हुँ ।

अर्को कुरा, नैतिक बन्धन र गुलामी रोल मोडेल कोड तोड्दा झेल्नुपर्ने जोखिम धेरै हुन्छ । मतलवबिनाको मोडेल तोड्दा मलाई एक खालको स्वतन्त्रताको अनुभूति हुन्छ । त्यसले एकखालको एकान्तता प्रदान गर्छ । भिडबाट अलग हुनु वा बनाइनु पनि एकान्तको सुख प्राप्त गर्नु हो । एक्लै हुँदा कल्पना प्रवाल हुन्छ जसले मानिसलाई चिन्तनतर्फ लैजान्छ । त्यसले नै हामीलाई नयाँ खोजको लागि प्रेरणा दिन्छ । एक्लै नभइ आविस्कार गर्न सकिन्न ।

एक्लै हिँड्ने बाटो कठिन छ । सजिलो हैन मानिसले कठिन बाटो रोज्नुपर्छ । कठिन फैसलाले पराधीन मानिसहरू अलग हुन थाल्दछन् । एक्लोपन झेल्न धेरै किसिमका वैचारिक बन्धनबाट मुक्त हुनुपर्छ । त्यसैले नै मानिसलाई सामाजिक प्रदुषणबाट हामीलाई मुक्ति दिन्छ । वैयक्तिक खोजसमेत मानिसले आफैंबाट शुरु गर्नुपर्छ ।

लुकेको सत्य बाहिरी सुन्दरताभित्र पुगेर हेर्दा त्यति सुन्दर देखिँदैन । जीवनको अर्थ खोज्न मानिस भौँतारिएका छन् । अरुका विचार र परम्पराका कसिङ्गर बटुलेर आफ्नो आविष्कार भएझैँ लास भएर बहकिइरहेका छन् । जसको अर्थ उनीहरूको निजी भाष्य नभएकोले ती मिथकहरू सत्य लाग्न सक्छ । अरुको जीवनमा त्यसको खासै अर्थ हुँदैन भन्ने उसलाई हेक्कासमेत रहँदैन ।

बौद्धिक कल्पना र अनुभवको सारले ज्ञान मात्रै बन्दैन, त्यसले विज्ञानको लागि ढोका खोल्दछ । दार्शनिक कान्टले समय र स्थानको सीमितताबाट ज्ञान प्राप्त हुन्छ भनेता पनि यसमा पर्यावरणको समेत भूमिका हुन्छ । फिनोमिना वा भनौँ कर्तव्यबाट प्रेरित भएको ज्ञान नै महान् हुन्छ । दार्शनिक नित्सेले भविष्यको समतामुलक सभ्य समाजमा महामानवको भूमिकालाई निर्णायक बताएका छन् । उनको महान् उपन्यासमा मुख पात्र जराथुस्त्रमार्फत उनले जनावरजस्तै झुण्डमा रमाउने मानवले कसरी स्वतन्त्र रुपमा ज्ञानको खोजी गर्न सक्छ भनेर प्रश्न तेर्साएका छन् । उनले मानिसलाई उट, सिँह र बच्चाको उपमा दिँदै आफ्नो तर्कको पुष्टि गरेका छन् । एकथरि मानिसले उँटले झैँ जीवनभरि पारिवारिक बोझ उठाउँछन् । मजदुरी गर्दागर्दै उँटले झैँ आफ्नो प्राण त्याग्छन् । केही मानिसले आम मानिसले भन्दा फरकरूपमा आफुलाई पुऱ्याउँछन् । त्यो चरण मानिसको विद्रोही चरण हो । उनीहरूले त्यतिखेर नैतिकता, परम्परागत कुसँस्कारलाई आफुबाट अलग गर्छन् र आत्मविश्वास, साहस एवम् संकल्पको दृढताबाट आफ्नो मालिक आफैलाई बनाउन सक्दछन् । त्यो भनेको उनीहरू सिँह बन्ने चरण हो । आफूभित्रको खरावी र कमजोरीप्रति विजय हासिल गर्नु भनेको लक्ष्यहासिलको नजिक पुग्नु हो भने हार्नु भनेको समाप्त हुनु हो । जीवनमा ‘हुन्न’ भन्न सक्नु पनि सुपरम्यानको लक्षण हो । त्यसैलाई नित्सेले पवित्र इन्कार भनेका छन् । उनले अरुको हिसाबबाट हैन आफ्नो हिसाबले जिउने कलालाई मानवको महत्वपुर्ण रुपान्तरण भनेका छन् ।

त्यसपछि एक बालक झैँ मानिसले बल्ल आत्मैदेखि खुशी हुन सिक्दछ । बच्चा बन्ने कलाबाट पवित्र स्वीकारको प्रक्रिया शुरु हुन्छ । त्यही कलाले नै पुरानो युगलाई विस्थापित गर्न थाल्दछ । उसले नयाँ नियम, नयाँ भाष्य, पुराना रीति त्यागेर नयाँ निर्देशहरू जारी गरेपछि ऊ महामानवको पूर्णतातर्फ अगाडि बढ्छ । पुरानो सामाजिक र संस्कारगत बन्धनलाई बुद्धले झैँ हटाएर एक बच्चाले जस्तै सच्चा प्रेम र आत्मिक खुशी ऊभित्र प्रवाहित हुन्छ । आत्मिक शक्तिको विकासले पुरातन नियम र कुसंस्कारलाई खारेज गर्दै नयाँ युगको आविस्कार गर्न पुग्दछ ।

अन्त्यमा, सत्य ब्यक्तिगत हुन्छ किनकि त्यसलाई कतिपय अवस्थामा मानिसले आफैं निर्माण गर्छ र अर्को पुस्ताको लागि समुदायमा बगाइदिन्छ । पिंढी-पिंढीसम्म चलिआएको भ्रम नै मानिसले मानि आएको ‘सत्य’ हो । त्यही निर्मित सत्यलाई मानिसको दिमागमा फिट गरेर शक्तिशाली मान्छेले दुनियामा राज गरेको हुन्छ । तिनै भाष्यबाट हामीले आस्तिकता र नास्तिकताको परिभाषा बनाएका हुन्छौँ । नयाँ खोजको लागि निर्मित भाष्यहरू मन्दविष जस्तै बन्दछन् । त्यसैले बुद्धले ‘अप्प दीपो भव’ अर्थात् सबै मन्दविषबाट बाँच र ‘आफ्नो प्रकाश आफैं बन’ भनेका हुन् ।

सापेक्ष सत्य शक्तिबाट निर्मित हुन्छन् । समयजस्तै भाष्य पनि शक्तिको स्तरअनुसार निर्मित भएकोले त्यसलाई सापेक्ष सत्य भनिएको हो । उदाहरणको लागि एक बोर्डमा खिचिएको लाइनलाई लिन सकिन्छ । त्यो लाइन अर्को लाइन नहुँदासम्म न छोटो हुन्छ न लामो । अर्को लाइन बनाए पछि पुरानो लाइन कि छोटो हुन्छ कि लामो । सापेक्ष सत्य पनि त्यस्तै हो ।

एक खुनी शासकलाई पनि आफ्नो रुचिसापेक्ष भाष्य र दर्शनको जरुरत पर्दछ । कारण- त्यही दर्शनलाई देखाएर उसले पोखिएको निर्दोष रगतलाई लुकाउन सकोस् । भाष्यशक्तिको रुझानले तय गर्दछ । भाष्यले मानिसको मनिविज्ञानलाई स्वतन्त्र हुन दिँदैन । त्यसैले नित्सेले ‘भगवान् बिरामी र डरपोकहरूको घर हो’ भनेका हुन् । असल मान्छेले भावनाको सुन्दर संसारमा रमाउन जानेको हुन्छ । त्यही भावनाबाट उसले अर्कै मिठो आवाज निकाल्छ र स्वतन्त्ररूपले लेख्ने प्रयत्न गर्छ ।

अतः मानिस धर्म हैन, दर्शन र साहित्यको शरणमा जानुपर्छ, भनिएको हो । असल मानिस भनेका निरपेक्ष सत्यलाई खोज्ने मान्छेहरू हुन् । उनीहरूले त्यो आशालाई नित्सेले जस्तै साहित्यमार्फत बचाउन सक्दछन् । एक साहित्यकारले महामानव बन्ने अग्रसरता रोक्न सक्दैन । उसले आफ्नो भाष्य आफैंले निर्माण गर्दै जान्छ । केही समय विवेकशील चार्वाकलाई झैँ तर्क, खोज र विचारलाई मार्ने प्रयत्न गरिन्छ । तर उनीहरू कुनै न कुनै रुपमा युगान्तक बनेर प्रेरणा दिइरहन्छन् । अतः संकल्पको निरन्तरताले पुरानोको खारेजी गर्दै युगलाई तिखार्दै लैजान्छ । अस्तु ।