बाथरोग चिन्न र यसबाट जोगिन यस्तो छ डाक्टरको सल्लाह

बाथरोग चिन्न र यसबाट जोगिन यस्तो छ डाक्टरको सल्लाह


बाथरोग एक दीर्घ रोग हो र यो कयौं प्रकारको हुन्छ । प्रकारअनुसार रोगको लक्षण पनि अलग हुने गर्दछ । यद्यपि धेरैजसो बाथरोगमा सामान्यतया देखिने साझा लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो । रोगका अनेक लक्षण हुन सक्छन्, तर हाम्रो समाजमा मानिसहरू रोगको पहिचान भन्दापनि अनुमानको भरमा घरेलु उपचार विधि अपनाउने गर्दछन् ।

जोर्नी दुख्ने समस्या बाथरोगको लक्षण हो, तर जोर्नी दुख्नेवित्तिकै चिसोको कारणले वा खानपानको फेरबदलको कारणले दुखेको हुनसक्ने अनुमान लगाउँदै घरेलु उपचारमा मात्र सीमित रहँदा र समयमै रोगको पहिचान नहुँदा यसले समस्यालाई अरु बल्झाउने र जटिलतातर्फ उन्मुख गराउने काम गर्छ । त्यतिमात्र होइन, जब दुखाइ कम गर्ने उपायस्वरुप अन्जानवश आफूखुशी अनेक औषधिको प्रयोग हुन थाल्छ, त्यसले रोगीलाई अरु शिथिल मात्र बनाउँदैन, रोगलाई जटिल मोडतर्फ धकेल्न थाल्छ । फलस्वरुपः बिरामी डिप्रेशनमा जाने डर समेत हुन्छ ।

जबसम्म रोगको पहिचान हुँदैन, सामान्य रोग पनि असामान्य लाग्न थाल्छ र बिरामीमा मनोवैज्ञानिक असर पर्न थाल्छ । त्यतिखेर रोगले भन्दापनि एकप्रकारको शंका र चिन्ताले बिरामीलाई अरु शिथिल बनाउन थाल्छ ।

बाथरोग सामान्यतयाः हाम्रो शरीरको रोगप्रतिरोधात्मक प्रणालीमा हुने गडबडीका कारणले हुन्छ । बाथरोग हराएर जाँदैन, तर यसलाई कम गर्ने अनेक उपायहरू छन् । यो रोगको समयमै पहिचान हुन सकेन भने शरीरका विभिन्न अङ्गमा यसको असर र प्रभाव देखिन थाल्छ । यसका लागि बाथरोगका लक्षणहरू बुझ्नु निकै जरुरी हुन्छ । हात तथा खुट्टाका जोर्नीहरू सुन्निने, दुख्ने जुन प्रायः बिहानीपख रहन्छ । चिसो पानी चलाउँदा औंलाहरू निलो, फुस्रोे भएर जाने, औंलाका टुप्पामा घाउ आउने, आँखा/मुख सुख्खा भइरहने, आँखामा बालुवा हालेजस्तो बिझाउने, घाममा बस्दा गाला अनुहार धेरै रातो हुने, कपाल झर्ने, छालामा डाबर घाउखटिरा आइरहने, मुख, गुप्ताङ्ग वा शरीरका अरु भागमा घाउ-खटिरा निस्कने, लामो समयसम्म ज्वरो आइरहने, थकान हुने, जिउ धेरै गल्ने, आँखा रातो हुने, पाचनप्रणालीमा गडबडी हुने, ढाड दुख्ने र मध्यराति सुतेको अवस्थामा अर्को कोल्टो फर्किन कठिन हुने, गर्भावस्थामा बच्चा तुहिने इत्यादि सबै बाथरोगका लक्षण हुन सक्छन् ।

बाथ भन्नेबित्तिकै समामान्यतया हामीहरू जोर्नी दुख्ने रोग भनेर मात्र बुझ्छौँ तर यसको असर शरीरका अन्य अङ्गहरूमा पनि देखिन सक्छ । यसले शरीरको हरेक अङ्ग जस्तै फोक्सो, मृगौला, नशा, मुटु, आँखा आदिमा पनि असर गर्न सक्छ ।

बाथरोग लाग्नुमा कुनै खास र विशेष कारणलाई दोष दिन सकिन्न । यो वंशानुगत पनि हुन सक्छ । वातावरणले समेत यसलाई बढाएको देखिन्छ । जोर्नी दुख्यो भन्दैमा अनुमानको भरमा यो बाथरोग हो भनेर पत्ता लगाउन सकिन्न । यसका लागि स्वास्थ्यपरीक्षण अपरिहार्य हुन्छ । बाथका प्रकारहरू अलग-अलग हुने भएकाले उपचारअघि कुन प्रकारको बाथ होे, पत्ता लगाउनु जरुरी हुन्छ ।

कसै-कसैले बाथ त हो नि भन्दै अर्को बाथरोगीका लागि डाक्टरले सिफारिस गरेको औषधि सेवन गरेको समेत भेटिएको छ । यो सर्वथा गलत हो । यसले बिरामीको स्वास्थ्यमा अरु गम्भीर असर निम्त्याउन सक्छ ।

विगतमा हाम्रो समाजमा बाथरोग विशेषज्ञको अभावमा प्रायः बिरामीहरू छिमेकी देश वा त्यो भन्दा पर जानुपर्ने बाध्यता थियो भने आजको सन्दर्भमा नेपालमा नै बाथरोगको उपचार सम्भव छ । विभिन्न प्रकारका बाथरोगमा प्रयोग हुने औषधीहरू यही उपलब्ध छन् । जटिल अवस्थामा प्रयोग हुने बायोलोजिक्स सुईहरू समेत नेपालमै उपलब्ध छन् ।

बाथरोगका प्रकार, यसको उपचार विधि, बाथरोगले पार्ने असर अनि अपनाउनु पर्ने सावधानीका बारेमा सामान्य जानकारी रहनु जरुरी छ । उपचारमा औषधि सेवनको बारेमा मात्र जानकार हुनु पर्याप्त हुँदैन । बाथरोगको औषधि लामो समयसम्म सेवन गर्नुपर्छ । सक्रिय र स्वस्थ रहन चिकित्सकको निगरानीमा औषधी उपचार गर्नु अपरिहार्य हुन्छ ।

(वरिष्ठ बाथरोग विशषज्ञ डा. पुडासैनी आरोग्य स्वास्थ्य सदन, नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेलमा कार्यरत हुनुहुन्छ ।)