✍ सह प्रा.डा. मधु ज्ञवाली
सूर्यबाट निस्किने हानिकारक किरणहरुको कारणले हुने क्षतिबाट छालालाई जोगाउन प्रयोग गरिने साधन नै सनस्क्रिन, सन ब्लक वा सनक्रिम हो । सूर्यबाट निस्किने ताप र प्रकाश हाम्रो लागि उपयोगी भए पनि पराबैजनी किरणहरु (Ultraviolet rays) छालाको लागि हानिकारक हुन्छन् । विभिन्न अध्ययनहरुका अनुसार जनमानसमा घामको नराम्रो असर र यसबाट जोगिने उपायहरुबारे पर्याप्त ज्ञान नभएको देखिएको छ ।
घामले छालामा पर्ने असरहरु :
■ छाला रातो हुनु, पोल्नु, डढ्नु
■ घमौरा आउनु
■ छालामा डाबर आउनु, चिलाउनु
■ घामको एलर्जी हुनु
■ काला दाग(धब्बा एवं चाया(पोतो आउनु
■ उमेर नपुग्दै छाला चाउरी पर्नु
■ छालाको क्यान्सर हुनु
घामबाट जोगिनैपर्ने व्यक्तिहरु
■ घामको किरणले एलर्जी हुने व्यक्ति (जसको छालामा घाम पर्ने बित्तिकै चिलाउन थाल्छ)
■ घामले असर गर्ने छाला (लुपस जस्तै अन्य छालाको बाथ भएका व्यक्तिहरु)
■ छालामा कालो दाग-धब्बा, चाया-पोतो आदि समस्या भएका व्यक्तिहरु
■ सेतो दुवी (पाण्डु रोग र Vitiligo) भएका व्यक्तिहरु
■ घाममा बसेर काम गर्ने व्यक्तिहरु
■ आफ्नो छालाको स्याहारप्रति संवेदनशील व्यक्तिहरु (प्राकृतिक रुपमा हुने बुढ्यौलीलाई रोक्न त सकिंदैन, तर उचित तरिकाले नियमित रुपमा सनस्क्रिनको प्रयोग गर्नाले अस्वभाविक वा उमेर नपुग्दै देखिने बुढ्यौलीका चिन्हहरुलाई चाँहि केहि हदसम्म रोक्न र फर्काउन पनि सकिन्छ ।)
घामको असरबाट जोगिने उपायहरु :
■ मध्यदिनको घाममा सकभर बाहिर ननिस्कनुहोस् ।
■ घाममा निस्किनै परे पुरा छाला ढाक्ने गरि लामो बाहुला भएको लुगा लगाउनुहोस् ।
■ सन ग्लासको प्रयोग गर्नुहोस् ।
■ घाममा जाँदा छाता ओढ्नुहोस् ।
■ फराकिलो घेरा भएको टोपी, छतरी वा ह्याट लगाउनुहोस् ।
■ सनस्क्रिनको प्रयोग गर्नुहोस् ।
सनस्क्रिन प्रयोग कसरी गर्नुपर्छ ?
घामबाट जोगिनुको अलावा हरेक दिन उचित तरिकाले सनस्क्रिनको प्रयोग गरेमा सूर्यका किरणहरुले छालामा गर्ने असरलाई रोक्न सकिन्छ । हामी धेरैले जानेर वा लहैलहैमा सनस्क्रिन लगाईरहेका छौं । तर उचित र प्रभावकारी तरिकाले यसको प्रयोग नहुँदा यसबाट जति फाईदा हुनुपर्ने हो, त्यति फाइदा पाउन सकेका छैनौं । बिशेषगरि युवती र महिला माझ यो लोकप्रिय देखिए पनि वालक, महिला र पुरूष सबैले यसको प्रयोग गरेर फाइदा लिन सकिन्छ ।
■ कम्तिमा पनि SPF-30 को (Water resistant) पानी प्रतिरोधक सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
■ पराबैजनी किरण ए (UV A) र पराबैजनी किरण बी (UV B) दुवैबाट बचाउने Braod Spectrum सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
■ चिल्लो छाला भएको व्यक्तिले Water based र सुख्खा छाला भएको व्यक्तिले Cream based सनस्क्रिन लगाउनु पर्छ ।
■ सूर्यको किरण छालामा पर्नु भन्दा १५-२० मिनेट अघि नै सनस्क्रिन लगाईसक्नुपर्छ । यो लगाउँदा नमाडीकन ‘दुधको तर’ जस्तै पत्र हुने गरि लगाउनुपर्छ ।
■ अनुहार र घाँटीको छालामा लगाउनको लागि करिब आधा चिया चम्चा सनस्क्रिन पर्याप्त हुन्छ ।
■ अनुहारबाहेक लुगाले नछोपेको सबै भाग जस्तै- ओठ, कान, घाँटी, गर्दन, पाखुरा, आदिमा पनि सनस्क्रिन लगाउनुपर्छ ।
■ घाम नलागेको दिन (जस्तै- बादल लागेको, पानी परेको दिन) मा पनि पराबैजनी किरण बादललाई पार गरेर पृथ्वीमा आउने भएकोले यस्तो बेलामा पनि सनस्क्रिन लगाउनुपर्छ ।
■ घाममा बसेर गर्नुपर्ने काम जस्तै- खेती/किसानी, पौडी खेल्नु, हाइकिंग/ट्रेकिङ गर्दै हुनुहुन्छ भने हरेक २/२ घन्टा फरकमा सनस्क्रिन लगाउनुपर्छ ।
सुर्यको प्राकृतिक प्रकाशबाहेक कृत्रिम प्रकाश जस्तै, एलईडी, मोबाइल, कम्प्युटर आदिबाट निस्किने प्रकाशले पनि हाम्रो छालालाई असर पुऱ्याउने हुनाले यी साधनहरु प्रयोग गर्दा पनि आफ्नो छालालाई जोगाउनु पर्छ ।
जहिले पनि यो कुरा याद गर्नुहोस्- कुनै पनि सनस्क्रिन हाम्रो छालालाई जोगाउन आफैमा पूर्ण रुपमा सक्षम हुँदैनन् । त्यसैले सनस्क्रिन सँगसँगै घामबाट जोगिने अन्य उपायहरु पनि अवलम्बन गर्नुपर्छ ।
(लेखक आरोग्य स्वास्थ्य सदन जाउलाखेलमा छाला तथा यौनरोग विशेषज्ञ हुनुहुन्छ ।)
प्रतिक्रिया