नेपालको लोकतन्त्र आज कठिन परिस्थितिबाट गुज्रिरहेको केही हदसम्म सत्य हो । नेपाली काङ्ग्रेस जसले यो देशको हरेक परिवर्तनको मोर्चाको नेतृत्व गरेर मुलुकलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपुऱ्यायो आज उसैका कार्यकर्ताहरू अन्यायपूर्ण रूपमा आलोचनाको सिकार भइरहेका छन् भने शीर्ष नेतृत्व अझैपनि जिम्मेवार बन्न नसकेको देखिन्छ ।
✍ रश्मिशेखर सुवेदी
नेपालमा लोकतन्त्रको अवस्था दिन-प्रतिदिन कमजोर बन्दै गएको भष्य सृजित हुँदै गएको अवस्था छ । दलहरूभित्रको आन्तरिक गुटबन्दी, नेतृत्वको गलत रवैया, सिद्धान्तविपरीत राजनीतिक खेल तथा गैरजिम्मेवार प्रवृत्तिका कारण लोकतान्त्रिक प्रणाली नै दलदलमा फस्दै गएको अवस्था चित्रण भइरहेको छ । नेपालमा सत्ता सञ्चालन गर्ने शैली, सरकारको चरित्र तथा राजनीतिक दलका शीर्ष नेताहरूको आचरण हेर्दा हामी कतै गम्भीर दुर्घटनातर्फ त जाँदै छैनौँ भन्ने डरलाग्दो अवस्थाको आँकलन पनि गरिँदैछ ।
हरेक पार्टीका कार्यान्वयन तहका कार्यकर्ताहरू गाली, आलोचना, र जन असन्तोषको सिकार भइरहेका छन् । तर वास्तवमा यो स्थितिको जिम्मेवार नेतृत्व नै भएको निश्कर्ष छ । नेतृत्वले शक्ति सन्तुलन गर्न नसक्दा, कमजोर निर्णयहरू गर्दा र दलभित्र उचित संवाद हुन नसक्दा तल्लो तहका कार्यकर्ताले सहनुपर्ने आलोचना कति हो कति हुन्छन् ।
उदाहरणका लागि कुलमान घिसिङ प्रकरणलाई नै लिउँ । यदि कुलमानको पदावधि चार महिना मात्र बाँकी थियो र त्यो कार्यकाल पूरा गर्न दिइएको थियो भने मात्र पनि आज सत्तारुढ दललाई अनावश्यक आलोचना सहनुपर्ने थिएन । सरकारको अक्षम निर्णयले पार्टीका कार्यकर्ताहरूले जनताका सामु गलत र दोषी ठहर हुनुपर्ने थिएन । यदि यो कदम उचित हो भने कारण प्रस्तुत गर्नु पर्ने दायित्व पनि निर्णायकहरूकै हुनुपर्दैन र ?
वर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता समीकरणमा माहिर खेलाडी हुन् । उनले सधैं रणनीतिक रूपमा विपक्षीहरूलाई बदनाम गर्ने, आफ्नो पक्षमा जनमत सिर्जना गर्ने र सत्ता आफ्नो हातमा राख्ने नीति राख्छन् । कांग्रेस सरकारमा हुँदा ओली प्रतिपक्षमा रहँदा पनि उनले आफ्ना समर्थकहरूलाई चलायमान बनाए । निरन्तर सरकारलाई असफल देखाउने रणनीति अपनाए ।
अहिलेको अवस्थामा पनि ओलीले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सरकारलाई हानी पुऱ्याइरहेकै छन् । काङ्ग्रेस चुपचाप बदनाम भइरहेको छ । प्रधानमन्त्रीय पद्धतिले ओलीलाई सर्वशक्तिमान बनाएको छ ।
नेपालमा पछिल्लो समय देखिएको सत्ता समीकरण पूर्णरूपमा संख्याको खेल भएको छ । सिद्धान्त, नीति, तथा जनहितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिइएको छ । गठबन्धनको सरकार बने पनि नीति तथा कार्यक्रम स्पष्ट नहुँदा नेपालमा सरकारहरू बारम्बार असफल भइरहेका छन् । काङ्ग्रेसभित्रको कुरा गर्दा गुटबन्दी तथा कमजोर नेतृत्वले गर्दा कार्यकर्तामा निराशा बढिरहेको छ ।
लोकतन्त्र बलियो बनाउन सशक्त जनआवाज आवश्यक भएपनि जनतामा राजनीतिप्रति निराशाको लाभ उठाउँदै ‘वैकल्पिक शक्ति’को नाममा सिद्धान्त, विचार र इतिहासविहीन समूहहरूको चलखेल बढिरहेको अवस्था पर्दामा देखिँदै छ । यो दृश्य हटाउन गुटबन्दीको अन्त्य गरी संगठन बलियो बनाउनुपर्छ ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि संविधान कार्यान्वयनको प्रभावकारिता कमजोर छ । संविधानलाई मनोमानी ढंगले प्रयोग गर्ने प्रवृत्तिले लोकतन्त्र कमजोर बन्दै गएको छ । सरकारको आलोचना शासनविधि तथा कमजोर व्यवस्थापनकै कारण भइरहेको र जनताको विश्वास घटिरहेको छ ।
कार्यकर्ताको चाहना र नेताहरूको निर्णयबीच ठूलो अन्तर छ । शीर्ष नेताहरू सधैं सत्ता र पदमा केन्द्रित हुँदा तल्लो तहका कार्यकर्ताहरू निराश बनिरहेका छन् । सरकार तथा दलहरूले लोकतान्त्रिक मूल्य मान्यताहरूलाई कमजोर बनाइरहेका छन् । भ्रष्टाचार, अराजकता, तथा अनैतिक राजनीतिक चलखेलले गर्दा जनतामा आक्रोश बढेको छ ।
लोकतन्त्र बलियो बनाउन सशक्त जनआवाज आवश्यक भएपनि जनतामा राजनीतिप्रति निराशाको लाभ उठाउँदै ‘वैकल्पिक शक्ति’को नाममा सिद्धान्त, विचार र इतिहासविहीन समूहहरूको चलखेल बढिरहेको अवस्था पर्दामा देखिँदै छ । यो दृश्य हटाउन गुटबन्दीको अन्त्य गरी संगठन बलियो बनाउनुपर्छ । स्थानीय कार्यकर्ताहरूको आवाज सुन्ने नीति बनाउनुपर्छ । शीर्ष नेतृत्वले आफ्नो जिम्मेवारीबारे गम्भीर बन्नुपर्छ ।
भ्रष्टाचार, कुशासन र अनावश्यक खर्च नियन्त्रण गर्नुपर्ने हुन्छ । शिक्षा, स्वास्थ्य, र रोजगारीका क्षेत्रमा प्रभावकारी सुधार ल्याउनु पर्छ, लोकतान्त्रिक संस्कारलाई मजबुत बनाउनु पर्छ, र्पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्नुपर्छ । निर्णयहरू पारदर्शी र जनमुखी हुनुपर्छ, नयाँ पुस्ताको नेतृत्वलाई प्राथमिकता दिनुपर्छ । युवाहरूलाई नेतृत्वमा ल्याएर नयाँ विचार तथा दृष्टिकोणलाई प्राथमिकता दिनुपर्छ । पार्टीभित्र पुराना संरचनालाई सुधारेर नयॉंयुग अनुकूल परिवर्तन गर्नुपर्छ ।
नेपालको लोकतन्त्र आज कठिन परिस्थितिबाट गुज्रिरहेको केही हदसम्म सत्य हो । नेपाली काङ्ग्रेस जसले यो देशको हरेक परिवर्तनको मोर्चाको नेतृत्व गरेर मुलुकलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपुऱ्यायो आज उसैका कार्यकर्ताहरू अन्यायपूर्ण रूपमा आलोचनाको सिकार भइरहेका छन् भने शीर्ष नेतृत्व अझैपनि जिम्मेवार बन्न नसकेको देखिन्छ । यो परिस्थितिलाई सुधार्नका लागि काङ्ग्रेस नेतृत्वले आफ्ना कमजोरी सुधार्नु आवश्यक छ ।
राजनीतिलाई सही दिशा दिनका लागि तल्लो तहका कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्छ । पार्टीभित्र सुधार गर्न दबाब नदिइने हो भने काङ्ग्रेस झनै कमजोर हुँदै जानेछ । समयमै सुधार ल्याउन नसकिए नेपाली लोकतन्त्रको भविष्य हामीले सोचेजस्तो नहुन पनि सक्छ । त्यसैले समयमै सचेत बनौँ ।
प्रतिक्रिया