बाबु वा आमा कि बाबु र आमा ?

बाबु वा आमा कि बाबु र आमा ?


बच्चा दुई वर्षको हुनै लाग्दा उनीहरू छुट्टिए । कानुनी रूपमै सम्बन्धविच्छेदपछि बच्चा बाबुसँगै रह्यो, यसप्रकारको परिस्थितिमा प्रायः बच्चा आमासँग हुने भए पनि उनीहरूको सवालमा त्यस्तो भएन । समयक्रममा दुवैको विवाह भयो । अहिले उनीहरूको बच्चा नौ कक्षामा पढ्दै छ । नयाँ बन्ने संविधानको नागरिकतासम्बन्धी व्यवस्थामा वंशजको आधारमा नागरिकता प्राप्त गर्न आमा र बाबु दुवै नेपाली नागरिक हुनुपर्ने प्रावधानले पेसाले इन्जिनियर उनलाई तनावमा धकेलिदिएको छ । यस पङ्क्तिकारसँग उनले भने, ‘कस्तो अचम्म † अब म विवाह भएर आफ्नो घरसंसार बसाइसकेकी मान्छेलाई कुनै बेला तिमी मेरी श्रीमती थियौ, हामीबीच एक सन्तान थियो, उसलाई अब नागरिकता दिनुप¥यो, त्यसैले मेरो छोरा हो भनेर प्रमाणित गरिदेऊ’ भन्न कसरी जाऊँ ? फेरि अहिले ऊ कहाँ छ पनि मलाई त थाहा छैन, बच्चाले पनि उसकी कान्छी आमालाई नै आफ्नी आमा ठान्छ, यो के–के नियम आएको हो…’
नयाँ बन्ने संविधानमा वंशजको आधारमा नागरिकता प्राप्त गर्नका लागि आमा र बाबु दुवै नेपालको नागरिक हुनुपर्ने कुरा उल्लेख हुन लागेपछि उनलाई सोही विषयलाई लिएर उनले यस्तो भनेका हुन् । समानताका पक्षधर, अधिकारवादी र विशेषगरी सन्तान भएका एकल महिला र पुरुषलाई यो प्रावधानले ठूलो चोट पु¥याएको छ । झट्ट सुन्दा नागरिकताजस्तो कुरामा आमा र बाबु दुवै हुने प्रावधान त हुनुपर्छ नि भन्ने लागे पनि यसभित्रको कथाव्यथा भने विगतको तुलनामा झनै बढ्न सक्ने देखिन्छ । आमाको नामबाट नागरिकता बन्न नसक्दा विगतमा धेरै नेपाली सन्तानको भविष्यमाथि खेलवाड भएको छ भने कतिले आफ्नो जन्मभूमिप्रति अगाध माया हुँदाहुँदै पनि मुलुक नै छोडेर जानुपरेको छ । अगाध प्रेममा परेका बेला भएको सम्बन्धबाट युवतीहरू गर्भवती हुने र त्यसपछि ‘प्रेमी’ले छोडेपछि बाबु प्रमाणित गर्नै गाह्रो पर्ने र परेकाहरूको सङ्ख्या प्रतिदिन बढ्दो छ । एकल अविभावकका रूपमा महिलाले आफ्नो सन्तानलाई नागरिकता दिन नसक्दाका अनेक घटना हाम्रासामु छन् । आमा र बाबुको प्रावधानले आफ्ना सन्तानलाई नागरिकता दिलाउन एकल अविभावकलाई धेरै गाह्रो हुन्छ । त्यसैले आमा र बाबु होइन आमा वा बाबु नै राखिनु आवश्यक छ ।
यस्तै अहिले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेमा तुरुन्तै नागरिकता प्राप्त गर्न सक्ने र महिलाले विदेशी पुरुषसँग विवाह गरेमा ती महिलाका पतिले नागरिकता लिन १५ वर्ष पर्खनुपर्ने प्रावधान राखिएको छ । यो कुरा झट्ट सुन्दा त्यति ठूलो मुद्दाझैं लाग्दैन, या यस्तो पनि लाग्न सक्छ— ठीकै त छ नि विदेशी पुरुषलाई नेपाली नागरिकता किन दिने ? राष्ट्रियताको सवाल हो, राष्ट्रियताको मुद्दामा सम्झौता किन गर्ने ? मनमा उब्जिन सक्ने या उब्जिरहेको यो प्रश्नका लागि एकैछिन तुलसालता आमात्यको जीवनमा भएको घटनालाई हेरौँ । तुलसा नेपाली काङ्ग्रेससँग सम्बद्ध अधिकारकर्मी हुन् । काठमाडौंमै जन्मिएर नेवारी संस्कारमा हुर्किएकी उनलाई सन् ८० को दशकमा नेपालमा बसेर अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहेका नेदरल्यान्डका नागरिक बास भान्दुसबर्गले मन पराए र विवाहको प्रस्ताव राखे । विवाहका लागि तुलसाले तीनवटा सर्त राखिन्—बाबु, आमा र परिवारका सदस्यसँग नेपाली परम्पराअनुसार माग्न जानुपर्ने, चुरोट, रक्सी छोड्नुपर्ने र विवाहपछि नेपालमै बस्नुपर्ने । तुलसालाई असाध्यै माया गर्ने डच नागरिक बासले उनका तीनवटै सर्त मानेपछि नेवारी संस्कारअनुरूप धुमधामसँग उनीहरूको विवाह भयोे । सुरुमा पर्यटक भिसामा नेपालमा रहँदै आएका उनले अब श्रीमतीका लागि नेपालमा पैसा तिर्दै भिसा नवीकरण गर्दै (त्यो पनि सजिलै होइन, अनेक झन्झट र सम्बन्धित नेपाली अधिकारीहरूले दिने मानसिक तनावकाबीच) बस्नुपर्ने भयो । नियमअनुसार उनी एकपटकमा चार महिनाभन्दा बढी नेपाल बस्न पाउँदैनथे, भिसा लगाएको तीन महिना हुन लागेपछि उनलाई तनाव सुरु हुन्थ्यो अब कहाँ जाने ? श्रीमान्ले पाएको दुःख देख्दा तुलसालाई असाध्यै ग्लानि हुन्थ्यो, त्यसैबीच उनीहरूका दुई छोरी र एक छोरा भए । प्रायः हुनेखाने विदेशी नागरिकले छोराछोरी लिंकन या ब्रिटिस स्कुल पढाउँछन्, तुलसाले बुढानीलकण्ठमा राखिन्, श्रीमान्को भिसा नवीकरण कार्य जारी थियो, अब त्यो झन्झट छोराछोरीलाई सुरु भयो । परराष्ट्र मन्त्रालयले विदेशी नागरिकका छोराछोरी भनेर पासपोर्ट दिएन, नेपालमा बसेको डकुमेन्टसमेत बनाउन धेरै तनाव झेल्नुप¥यो, पैसा खर्च गर्नुप¥यो । नेपाली, नेवारी संस्कारमा हुर्किएका, यहीँको खाना मन पराउने, मेरो देश नेपाल भनेर पढेका, आफ्नो देश नेपाल नै हो भनी बाल्यापन र किशोरावस्था बिताएका ती बच्चाले अन्ततः नागरिकता प्राप्त गर्न आफ्ना बाबु जन्मिएको देश नेदरल्यान्ड जानुप¥यो । हिँड्ने बेलामा छोराछोरीले रुँदै आमालाई भने– हामीले आफ्नो ठानेर हुर्किएको तपाईंको देशले हामीलाई तिम्रो देश जाऊ भनेर पराई मुलुकमा पठाइदियो । छोराछोरी, लोग्ने कसैलाई साथमा राख्न नपाउने तपाईंको देशले हामीलाई धेरै तनाव दियो । आमा सक्नुहुन्छ भने तपार्इं पनि हामीसँग हिँड्नुस्, हामी बाबुआमासँगै बस्न चाहन्छौँ ।
तुलसा गइनन् र उनका पति बास पनि यहीँ छन्, चाहेको भए विवाह गरेको १५ वर्षपछि उनले नेपालको नागरिकता लिन सक्थे तर सोचे, लामो समय तनावमा बित्यो अब कति बाँचिएला र ? नागरिकता दिएर भयङ्करै गुन लाएझैं किन पारूँ ? नेपाली र नेवारीमै कुरा गर्न सहज मान्ने उनी अहिले पनि महिनाको दश डलर भिसा फी तिरेर बसिरहेका छन् । नेपाली छोरी विवाह गर्नुको पीडा उनले खुब भोगे । तर, भन्छन्– उनी जन्मिएको देश, मैले मेरी जीवनसाथी पाएको देश मलाई कुनै गुनासो छैन । अहिले नागरिकताको सवालमा नयाँ संविधानमा जुन व्यवस्था गर्न लागिएको छ त्यसबाट धेरै बासहरूले तनाव झेल्नुपर्नेछ, बासझैं प्रतिबद्ध सबै हुन्छन भन्ने छैन, सोही निहुँमा तिम्रो देशमा तिमी नै बस भनेर अवस्था सम्बन्धविच्छेदसम्म पुग्यो भने त्यसमा पनि कुनै आश्चर्य मान्नुपर्ने छैन ।
भारत माइती भएर नेपालमा श्रीमान्को नामबाट अङ्गीकृत नागरिकता प्राप्त गरी संविधानसभामा प्रतिनिधित्व गर्ने १८ जना महिला सभासद् रहेका छन् । तीमध्ये सरिता गिरीले हालै नेपालको संविधान किन भन्ने सगरमाथाको संविधान भने हुँदैन ? भनेर प्रस्ताव राखिन् । नेपालको नामै मेटाउन खोज्ने यी सभासद्का भनाइलाई त्यति वास्ता गरिएन, तर के एउटी नेपाली छोरीले आफ्नो देशको नाम परिवर्तन गर्ने कल्पना गर्न सक्छे ? सूचना तथा सञ्चार राज्यमन्त्री सुरिताकुमारी साह जहाँ पनि हिन्दीमा भाषण गर्छिन्, किनभने भारतमा जन्मी–हुर्किएकी उनलाई नेपाली भाषाप्रति आत्मीयता या सरोकारै छैन । तर, उनीहरूले नेपाली पुरुषसँग विवाह गरेकै कारण राजनीतिकलगायत सम्पूर्ण अधिकार पाएका छन्, विवाहको भोलिपल्टै नागरिकता पाएका छन् । आखिर राष्ट्रियताको नाममा यो विभेदको शृङ्खला कहिलेसम्म ?