नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’ र गायक प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को शीर्ष १० मा पुग्ने हरेक प्रतिस्पर्धीले जनही रु तीन लाख पुरस्कार पाउने भएका छन् ।
नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ सुरू गरिएको दुई प्रतियोगिताका आयोजक इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले अन्तिम प्रतिस्पर्धा हुने दुवै कार्यक्रमका प्रतियोगिलाई सम्मानस्वरूप उक्त पुरस्कार दिइने घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘आफ्नो माटोको सुगन्धसहितको मौलिक संस्कृतिलाई भावी पुस्तामा पुर्याउने अभियानले नेपालीको सांस्कृतिक राष्ट्रवाद अझ मजवुत बनाएको छ । नेपाली जातिको पहिचान अझ सशक्त बनाउन र संस्कृतिका माध्यमबाट नेपाली जातिलाई एकताबद्ध बनाउन गायन र नृत्यका कार्यक्रम गरिरहेका छौँ ।’
उहाँले नेपाली संस्कृतिका प्रतिभा जन्माउने र उनीहरुलाई प्रशिक्षित गरी तिखार्ने अभियानमा लाग्नु हुने सम्पूर्ण प्रशिक्षकमा अभार व्यक्त गर्दै यसमा राज्यले निरन्तर साथ दिनुपर्ने धारणा राख्नुभयो ।
विश्वभरका अडिसनबाट गायनमा १२० र नृत्यमा १२० छनोट गरेर अन्तिम प्रतिस्पर्धा काठमाडौँमा गराइने छ । यी कार्यक्रमले विश्वभरका नेपाली जातिका प्रतिभालाई एक ठाउँमा ल्याउने उद्देश्य राखेको छ ।
अमेरिका, बेलायत, पोर्चुगल, अष्ट्रेलिया, जापान, हङगकङग, थाइल्याण्ड, दुवाई, कतार, सिलगुडी, मुम्बई, पोखरा, नेपालगञ्ज, विर्तामोडलगायतका ठाउँमा अडिसन सम्पन्न भइसकेको र काठमाडौँमा चैत १६ र १७ मा हुने आयोजकले जानकारी दिएको छ ।
दुवै प्रतियोगिताका विजेताले एक÷एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन् । यसबाहेक समूह नृत्य प्रतिस्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले पाँच लाख पाउने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।
कप्तान सुब्बा नेपालमा
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा नेपाल आउनुभएको छ । आफ्नो जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को प्रदर्शनको अवसर पारेर दर्शकसँग भेटघाट गर्न नेपाल आएको उहाँले जानकारी दिनुभयो ।
ग्रिसमा व्यावसायिक फुटवल खेलिरहनुभएकी कप्तान आज बिहान १० बजे कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘दर्शकको माया देखेर म नेपाल नआई रहन सकिन् । मेरो जीवनले केहीलाई पनि प्रेरित गर्यो भने चलचित्र बनाएको सफल हुन्छ भन्ने जस्तो लाग्छ । यो चलचित्रले सङ्घर्षले सफलताको महत्व बुझाउन मदत गर्छ ।’
उहाँले आमाको मेहनत, सङ्घर्ष र विश्वासले आफूले सफलता हासिल गर्न सफल भएको र चलचित्रका निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठकै हौसलाले आफू अभिनय पनि गर्न सफल भएको बताउनुभयो । ‘मेरो भूमिका भए पनि म अभिनय गर्न तयार छु भन्ने विश्वास निर्देशकसहितको टिमले दिनुभयो । यो मेरा लागि पनि नयाँ अनुभव रह्यो, निकै खुसी छु’, उहाँले भन्नुभयो ।
नेपाल बसाइँको क्रममा उहाँले शुक्रबार र शनिबार काठमाडौँ र आइतबार मोफसलका दर्शकसँग साक्षात्कार गर्ने जानकारी निर्देशक चाम्सले दिनुभयो । चलचित्रमा कप्तान सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय गर्नुभएको छ ।
rss
प्रतिक्रिया