राजसंस्था पुनःस्थापनाका लागि भएको प्रदर्शनमा कीर्तिपुरका सविन महर्जनको मृत्यु

राजसंस्था पुनःस्थापनाका लागि भएको प्रदर्शनमा कीर्तिपुरका सविन महर्जनको मृत्यु


राजसंस्था पुनःस्थापनासहितको आन्दोलनका क्रममा आज (१५ चैत) काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।

गृह मन्त्रालयले शुक्रबार सँझ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिए ।

‘झडपमा घाइते भएका महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो, काठमाडौंका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन्’, सहसचिव रिजालले भनेका छन् ।

गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३, सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका छन् ।

शुक्रबारको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याउनुका साथै आन्दोलनबाट भएको क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने उनको भनाइ छ ।

Representative image