गणतन्त्रको अन्त्य सुनिश्चित !

गणतन्त्रको अन्त्य सुनिश्चित !


‘गणतन्त्रवादी’ र ‘राष्ट्रवादी’बीच तय भएको चैत्र १५ गतेको अलग-अलग सभाले २०३६ सालको जनमतसंग्रहको परिणामको छनक दिएको छ । जनमतसंग्रहको परिणामपछि बहुदलीय पद्धतिका पक्षपोषकहरूको असन्तुष्टिलाई निमिट्यान्न पार्दै जसरी बीपी कोइरालाले निकट भविष्यमा ब्यवस्था बदलिने ग्यारेन्टीका साथ अब केही वर्ष नेता-कार्यकर्तालाई धैर्य गर्न सुझाएको बखत जनताले दिएको मतको परिणाम जस्तोसुकै आएतापनि स्विकार्दै अगाडि बढ्नुपर्छ, जित-हार भनेको एक मतको अन्तरालमा पनि हुन्छ, कित्ताकाट हुनु नै जनमत संग्रहको अब्बल पक्ष भएको जानकारी गराएका थिए । त्यसको लगत्तै एक दशक नबित्दै पञ्चायती ब्यवस्था ढल्यो र बहुदलिय ब्यवस्था स्थापित भयो । तर त्यसभित्रको असन्तुष्टि ब्यवस्थापन गर्ने सुझबुझ नेताहरूमा नहुँदाको परिणाम २०५२ सालमा ४०बुँदे मागपत्र प्रस्तुत गर्दै आएका केही झुण्डको सम्बोधन नहुँदाको परिणाम बहुदलिय प्रजातान्त्रिक ब्यवस्था डेढ दशक पनि टिक्न सकेन । परिणामतः गणतन्त्र स्थापित भयो । यसको मतलव ब्यवस्थापकीय टिकाउपन देखिएन ।

लोकतन्त्र आफैमा जनसम्झौताकारी ब्यवस्था भएको र यसलाई सञ्चालन गर्नेहरू आफैमा सुझबुझपुर्ण र परम् अनुशासित हुनुपर्छ । त्यसो हुनका लागि नेताहरूमा अभ्यास, चरित्र र इमानदारिता प्रमुख गुण हो । एउटा सामन्तवादी समाजमा हुर्किएका, आफै सामन्तकै सन्तान भएका, सम्पत्ति जोगाउन कांग्रेस-कम्युनिस्ट चरित्र धारण गरेका र समयसापेक्ष सन्तुलित स्थायित्वका खातिर रङ्ग परिवर्तन गरेका नश्लवादीहरू नै परिवर्तित पार्टीका प्रमुख ठहरिए । अधिकांश नेताहरू कमसेकम बीपी जत्तिको सुझबुझ र अभ्यासबाट खारिएका नेताद्वारा कम्तिमा दुई दशकजति प्रशिक्षित शासकीय उच्च दर्जामा रहेकालाई लगाम लाग्न सकेको भए यसले गति लिनेथियो । तर अपशोच ! सुझबुझपुर्ण नेताको खडेरी पर्नु र केही योगदान दिएर आएका नेताहरू स्वयं लकी–लुकी स्वार्थमा लिप्त भइदिए ।

समय बदलिँदो थियो । मिडियाको प्रभुत्वका साथै अधिक राजनीतिक चेत र दायित्वभन्दा अधिकार सर्वस्व ठान्ने चेतना जनतामा हाबी भएकै कारण माथिल्ला नेताहरूको चरित्र भुसको आगोजस्तै तलसम्म फैलियो । अनि संसार ग्लोबलाइज भएसँगै भौतिकवादी चरित्र समाजमा हाबी हुँदै गयो । फलस्वरूप कार्यकर्ताहरू समेत अत्यन्तै अराजक र भष्ट्राचारी भएका कारण समाज असन्तुलित हुँदै जनमानसमा आक्रोश बढ्नु र केही किनाराकृत शक्तिलाई ती सबै दोष थोपरेर सदाका लागि पन्छाउने मानसिकता नै आजको राजनीतिक अस्थिरताको बिज हो भन्दा फरक नपर्ला ।

भलै आजको गणतान्त्रिक र राट्रवादीहरूको कित्ताकाटमा केही कमवेसी जतापट्टि पनि हुन सक्छ तर अन्तत्वगत्वा त्यसको परिणाम भनेको यो ब्यवस्थाको अन्त्येष्टि नै हो । आजकै दिनबाट दिनगन्ती शुरु भएर कतिसम्म अगाडि जान सक्ला त्यसको सहजै आँकलन त गर्न नसकिएला तर विगतको जस्तो लामो कोर्स त अबको परिवर्तनले लिँदैन । किनकि अहिलेको युग भनेको सञ्चारको युग भएका कारण पलपल जनता जगाउनेहरूको कमी छैन । त्यसैले ढिलोचाँडो गणतान्त्रिक ब्यवस्थाको अन्त्य नै आजको विभाजनको परिणाम सावित हुनेछ ।

बरु लोकतान्त्रिक नेतृत्वमा सुझबुझ भए समय छँदै सम्झौता र सहकार्यपुर्ण अग्रता अपनाउन सके भने र, गणतन्त्रवादी र राष्ट्रवादी दुवै नेपाल/नेपालीको शक्ति ठानेर समयमै सम्झौता र सहकार्यमा विश्वास लिनदिन सक्ने एउटा मध्यस्थ बिन्दु खोजियो भने जनधनको क्षति कम गर्दै राष्ट्र र राष्ट्रियता जोगाउने हकमा सबै नेपालीहरूको एकता कायम गरेर धर्म संस्कार संस्कृति र राष्ट्रिय एकता कायम गरेर राजसंस्थासहितको राजनीतिक ब्यवस्था कायम गरेर विगतका गल्ति-कमजोरी नदोहोऱ्याउने सर्त/सहमतिसहित चरम भ्रष्टाचारको अन्त्य गर्दै देश रहे दल र दल रहे नेता-जनता सबै रहन्छन् भन्ने मुल सोच बनाएर अगाडि बढ्दै अबको नेतृत्व सुझबुझसहितका विद्वान्, विज्ञ र युवा समुदायलाई सुम्पिएर बुढाखाडा सुझावी पङ्क्तिमा रही मुलुक अगाडि बढाउनुको विकल्प छैन । नत्र अप्रिय राजनीतिक घटनाको सिकार जो-कोही हुन सक्छन् । अस्तु !