अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको एक फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन ललितपुरका तत्कालीन कार्यक्रम निर्देशक बलराम थापासहित सात जनाविरुद्ध आयोगले दायर गरेको मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि आयोगले आइतबार (१७ चैत) सर्वोच्चमा पुनरावेदन गरेको हो ।
निर्देशनालयका तत्कालीन निर्देशक थापा, लेखाअधिकृत रामप्रसाद बजगाईं, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा समेतका प्रतिवादी विरुद्ध रु ४७ लाख ३७ हजार छ सय २९ बराबरको भ्रष्टाचार भएको आरोपमा विशेषमा मुद्दा दायर गरेको थियो ।
तेह्रथुमको म्याङलुङ नगरपालिका-५ जिरीखिम्ती माझगाउँमा आम्फुवा पशु हाटबजार निर्माणमा कामभन्दा बढी भुक्तानी गरेकाले उनीहरु विरुद्धभ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा बिगो बमोजिम जरिवानासमेत माग गरी मुद्दा दायर गरिएको थियो ।
आयोगले दायर गरेको मुद्दामा विशेषले गत २०८० फागुन १ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो । विशेषको उक्त फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया