नेपाली युवाहरूको वैदेशिक पलायनले ल्याउने सङ्कट

नेपाली युवाहरूको वैदेशिक पलायनले ल्याउने सङ्कट


भनिन्छ नि- युवा भनेका हरेक देशको भविष्यको सबैभन्दा ठुलो पुँजी र अनमोल, अनन्त शक्ति हुन्, देशको मेरुदण्ड पनि हुन् । विश्व इतिहासलाई सिंहावलोकन गर्दै नेपालको गौरवमय इतिहासको पाना पल्टायौँ भने पनि वि.सं. १९९७ को राणाविरोधी आन्दोलनमा गंगालालहरूको भूमिकादेखि यता वि.सं २००४ मा जयतु संस्कृतम् विद्यार्थी समुहले राणा शासनको अन्त्य गर्न ठुलो भूमिका खेल्नेदेखि वि.सं. २००७, वि.सं. २०१४, वि.सं. २०३६, वि.सं. २०४६ को जनआन्दोलन, वि.सं. २०५२ देखि सञ्चालित सशस्त्र विद्रोह र मुख्यतः वि.सं. २०६२/६३ को जनआन्दोलनमा युवाको योगदान अतुलनीय थियो ।

यस्ता कठिन मोडमा समेत विचलित नभइकन राष्ट्र निर्माणको महाअभियानमा समर्पित बन्न चाहने शक्ति र सामर्थ्यका धनी नेपाली युवाहरू आजभोलि बेरोजगारीको पीडासँगै विदेशिने र विदेशको बाटो तय गर्न विवश छन् । नेपाली युवाहरू दोस्रो विश्वयुद्धपछि विदेशीन थालेको मानिन्छ विशेषगरी सेनाको अवसरमा । पछिल्लो समय कोरोना महामारीपछि विश्वब्यापी रूपमा युवाहरू विदेसिने एउटा चलन जस्तै चलेको छ किनकी महामारीले जनसंख्याको ठुलो हिस्सालाई असर गर्छ र महामारीको नतिजाहरू दूरगामी र बहुआयामिक हुन्छन् जसले समाजका विभिन्न पक्षहरूलाई असर गर्छ ।

विगत केही वर्षदेखि अर्थात् कोभिड-१९ पछि नेपालमा पनि ब्रेन ड्रेन एउटा मुख्य समस्या भएर जरा गाडिरहेको छ । उज्ज्वल भविष्यको लागि होस् कि उच्च शिक्षाको लागि होस्, आफ्नो साथीहरू पलायन भएको देखेर होस् कि बेरोजगारी भएर होस्, रहर वा बाध्यतामा सबैले विशेषगरी युवाहरूले देश छोड्नेबाहेक अरु विकल्प देखेका छैनन् । जसले देशको दक्ष जनशक्तिसँग सँगसँगै देशको खर्बौं पैसा पनि पलायन भइरहेको छ । विगत केही वर्षदेखि त प्लस टु पछि विदेश जाने एउटा लहर नै चलेको छ विशेषगरी १८ देखि २० वर्षका युवाहरूमा । सुन्दा सामान्य लागे पनि यसका दूरगामी असरहरू परिवार र राष्ट्रको लागी पनी एकदम घातक हुन सक्ने देखिन्छ ।

यो लेख लेख्दै गर्दा केही वर्षअघि मलाई मेरो बुवाले घरनजिक रहेको वृद्ध आश्रममा लगेको यादहरू मानसपटलमा झलझली आइरहेको छन् । पुषको महिना थियो, पारिलो घाम लागिरहेको थियो । नजिकैको चौरभरि उमेरले डाँडा काट्न लागेका बुवाआमाहरू, केही खाइलाग्दो ज्यान भएका त केही एकल महिला, पुरुष जस्तै देखिन्थे । सबैका आ-आफ्नै समस्या, व्यथा, बाध्यताहरू थिए होलान् । केहीले मलाई औँला देखाउँदै भन्दै हुनुहुन्थ्यो- ‘मेरो नाती जस्तो, हाम्रो नाती पनि यत्रै भयो होला है…’ यस्तै यस्तै मन नै सिरिङ्ग अमिलो हुने खालका कुराहरू भन्दै हुनुहुन्थ्यो । उहाँहरूको आँखा, भावनाले प्रष्ट भनिरहेका थिए कि ती मेटिन लागेका हातका रेखीहरूले आफ्नो नाती-नातिनीहरूलाई सुम्सुमाउन नपाएको कति भयो भनेर । यही त होला साउँको भन्दा ब्याजको माया भनेको । छेउमा बस्नुभएका एकजना वृद्ध बुवाले भन्दै हुनुहुन्थ्यो- ‘एक मिनेट बिताउन पनि एक वर्ष जस्तो लाग्छ ।’ सुन्दा सामान्य असाधारण सुनिए पनि त्यसभित्रको पीडा भावना एकदम मन नै अमिलो गराउने खालको थियो । त्यहाँ रहनुभएका बाबुआमाहरूका कुराहरू मनन गर्दा त स्कुलमा पढ्दा मेरो साथीले ठट्यौली पारामा भनेको कुराहरू याद आयो ।

‘जिन्दगी बोर छ, खल्तीमा एक मोहोर छ
त्यही पनि त्यो भाइले चोर्छ
झुन्डेर मरौँ भने समाजको डर छ
बागमतीमा हामफाल्यो भने त्यहाँको पानी असाध्यै फोर (फोहोर) छ !

धेरै वर्षअघि सब परिवार नेपाली कथानक चलचित्र सुखदुःख हेर्दै गर्दा सबैको आँखा भिजाएको क्षण पनि याद आयो । फिल्म सकिएपछि म र मेरो साथीलाई आमाले- तिमीहरू पनि पछि यस्तै गरौँला फेरि भनेको याद आयो । त्यत्तिकैमा काँचो उमेर भएकाले होला, त्यतिखेर हाँसेर ‘गर्दैनौँ’ भनेका थियौ । चलचित्रमा विभिन्न पारिवारिक कारणले हजुरबा हजुरआमाले नातीलाई हुर्काउन र संस्कार दिन सकिरहेका हुँदैनन् र नातीले पनि हजुरबा-हजुरआमाको माया पाउन सकिरहेको हुँदैन । त्यतिखेर यो एउटा काल्पनिक स्क्रिप्ट थियो तर आजभोलि नेपालको स्थिति पनि ठ्याक्कै यस्तै हुन लागेको छ, बिस्तारै ।

वृद्धाश्रममा पनि कोही बेवारिसे छन् त कोही छोरा-बुहारी छोरी-ज्वाईंका हेपाइले गर्दा वृद्धा आश्रममा जान बाध्य छन् भने तर आजभोलि अधिकांश देश छोडेर गएका छोराछोरीको बुवाआमाहरू वृद्ध आश्रममा बस्न बाध्य छन् । अब केही वर्षमा नाति-नातिनाहरूले आफ्नो हजुरबुवा हजुरआमालाई नजिकबाट नियाल्न पनि पाउन सक्ने छैनन् र आफ्नो धर्म-संस्कृति सभ्यता रीतिरिवाजहरू सबै भुल्दै जानेछन् र पश्चिमा संस्कृति रीतिरिवाज अँगाल्ने छन् र आफ्नो देश नेपाल आउँदा पनि विदेशी भएर आउन बाध्य हुनेछन् र भन्नेछन्- Wow How Nice the Nature, Culture, Himalayas and PEOPLES of this Country. दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो छोराछोरी र आफन्तहरूलाई विदेश पठाउन जानेहरूको भिडभाड देख्दा त लाग्छ कि मानौँ त्यहाँ कुनै व्यापारिक मेलाहरू लागिरहेको जस्तो अनुभव हुन्छ । कतै रुवाइका सन्नाटाहरू देख्न सकिन्छ त कतै खुसियाली । त्यहाँको प्रकृति भावना र मनोविज्ञानहरू हेर्दा, सुन्दा त मलाई कोभिड-१९ को समयमा हस्पिटलमा काम गर्दाको पलहरू याद आउँछ, जहाँ रुवाइको सन्नाटाहरूको बेगले भित्ताहरूमा रहेका इट्टा र सिमेन्टीको समीकरणमा दरार आएजस्तो वा चिलले कुखुरा छोपेर लगेजस्तै यानिकी आफ्नो रगत/सन्तानलाई कसैले खोसेर लगे जस्तो ! हुन पनि त हो आफ्नो आँखाअगाडि रहिरहेका मुटुको टुक्रालाई सात समुन्द्र पारी सुम्पिदा कसको बुवाआमाको मन नरोला र ! केही वर्षअघिसम्म आफ्नो मान्यजनको घरमा टिका थाप्न जाँदा होस् कि भेट हुँदा जिउ गरेपछि डाक्टर, इन्जिनियर, पाइलट, वकिल, शिक्षक, पत्रकार भएर देशको सेवा गर्नु भनेर आशिक दिने अग्रजहरूले त आजभोलि देशको अवस्था देखेर वाक्क लागेर होला, छिटोछिटो विदेश जाउ आफ्नो र नाति नातिनाहरूको भविष्य उज्ज्वल बनाउ भनेर आशीर्वाद दिनुहुन्छ । र, आजभोलिको युवाहरूलाई के छ लक्ष्य भनेर सोध्दा एक सेकेन्ड पनि नसोची ‘विदेश जाने हो’ भन्छन्, अधिकांशले ।

बुवाले केही वर्षअघि भुटानको कथाहरू सुनाएको सम्झिँदा जिउ नै सिरिङ्ग हुन्छ । देश त छ, चलेको पनि छ, तर कसले कसरी चलाएको छ भन्ने चुरो कुरा हो । बदलिँदो विश्व भू-राजनीति र देशको घटनाक्रम देख्दा त कहिलेकाहीँ लाग्छ कि फिजिकरण, सिक्किमीकरण, म्यानमार मोडेल, दक्षिण एसियाको गर्भमा हुर्किरहेको एउटा नयाँ देशमा हाम्रो देश पनि समेटिन्छ कि !? राति सुत्दा आफ्नो देशमा र बिहान उठ्दा अर्को देशमा भइन्छ कि भन्ने डर मन-मस्तिष्कमा खेलाउँदाखेलाउँदै निदाएका कति हप्ता बितेका छन् । आखिर दोष कसको हो ? र, कसले सिर्जना गरायो यस्तो अवस्था भन्ने चुरो कुरो हो ।

समय मिलेसम्म मनमिल्ने चिकित्सा साथीहरूसँग सरसल्लाह गरी टिम बनाएर नजिकैको वृद्धाश्रममा स्वास्थ्य शिविर सञ्चालन गर्न जाँदा त्यहाँ भएका दृश्यहरू आँखाले हेर्न नसकिने र कानले सुन्न नसकिने भएर अन्तत अन्धो, बहिरो, बेसारा भए जस्तो भएर मन भारी गराएर फर्केको कती घटनाहरू छन् । वृद्धाश्रममा रहेका बुवाआमाहरूले आफ्नो नाति नातिनाहरूलाई खेलाउन, काखमा राख्न नपाउँदाको पीडा सुन्दा देख्दा त तारादेवीले गाएको गीत – फुलको थुङ्गा बहेर गयो गङ्गाको पानीले,
कहिले भेट होला है राजै यो जिन्दगानीमा…
भन्ने याद आउँछ ।

एउटा चिकित्सकको नाताले, पछिल्लो केही वर्षदेखि हजारौँको संख्यामा नेपाली चिकित्सक/नर्सहरू विदेश पलायन भइरहेको नजिकबाट नियालिरहेको छु । जसको मुख्य कारणहरू- सामाजिक सुरक्षा, उचित तलब/भत्ता, बेरोजगार, आरक्षण कोटा प्रणाली, राजनीतिकरण, जेल विथआउट बेल, देशका विभिन्न स्थानमा श्रृखंलाबद्ध तरिकाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि उपचारमा लापर्बाही, हेलचेक्र्याइँ गरेको आरोपमा धाक-धम्की, कुटपिट तथा अस्पताल तोडफोडका घटनाहरूले गर्दा, चिकित्सक स्वास्थ्यकर्मीहरूको मनोबलमा ह्रास ल्याउने कार्यले गर्दा विदेश पलायन हुन बाध्य छन् । यही अनुपातमा देशको मेडिकल जनशक्तिहरू बर्सेनि पलायन हुने हो भने निकट भविष्यमा हाम्रो देशले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जनशक्तिको अभावले ठुलो मूल्य चुकाउनुपर्ने छ र, जब सामान्य स्वास्थ्य समस्या उत्पन्न हुन्छ तब परीक्षणको लागि छिमेकी देशहरूमा जानुको विकल्प हुने छैन ।

नेपालका युवा, दक्ष जनशक्ति युवाहरू विदेश पलायन हुन किन बाध्य छन् त ? यो गम्भीर प्रश्नको समयमै समाधान गर्न जरुरी देखिन्छ । किनकि, यस्तो डरलाग्दो पलायनले त निकट भविष्यमा हाम्रो देशले हरेक क्षेत्रमा दक्ष जनशक्तिको अभाव झेल्न त पर्छ नै तर देशको हरेक परिस्थितिमा भगिरत तपस्या गर्ने पर्याप्त युवाहरू नै देशले अभाव महसूस गर्न सक्नेछ । निकट भविष्यमा देशको दिनहुँ कामकाज सञ्चालन गर्नलाई विभिन्न देशका जनशक्तिहरू हाम्रो देशले नेपालमा भित्र्याउन बाध्य हुनेछ र भूराजनीतिको चपेटाले पछि ती आयात गरिएका व्यक्तिहरूलाई हाम्रो देशको नागरिक बनाउन दबाब दिइनेछ र निकट भविष्यमा अङ्गीकृत नागरिकता दिलाएर पछि उसलाई आफ्नो पाल्तु मिडियाबाट मिडियाबाजी गरी उसलाई जेलेन्स्कीलाई जस्तै प्रसिद्ध बनाएर केही वर्षपछि हाम्रो देशको कार्यकारी प्रमुख बनाएपछि त्यसको नतिजा के हुन्छ होला भनेर अहिलेदेखि नै सबैले सोच्न जरुरी छ । किनकि, कुनै दिन ऊ कार्यकारी पदमा पुगेपछि उसले र उसलाई नचाउने साहुजीले चाहेअनुसार हाम्रो देश नेपाललाई जे पनि गर्न सक्छ । न उसलाई हाम्रो देश नेपाल र हामी नेपालीप्रति माया स्नेह सद्भाव नै हुन्छ । उसले एक रातमै हाम्रो देश बेचिदिने सामर्थ्य पनि राख्न सक्छ ।

नेपालका लागि भारतका एक पूर्व राजदूतले केही पुस्तक नै प्रकाशन गरेका छन् कि सन् २०२५ सम्म नेपाललाई विश्व नक्साबाट विलय गराउनुपर्छ भनेर । कृषिप्रधान देश नामाकरण भएको र विगतमा केही खाद्यान्न वस्तुहरू समेत निर्यात गर्न सक्ने क्षमता भएको हाम्रो देश, युवाहरूको पलायनले गर्दा आजभोलि हाम्रो एक तिहाई जमिन बाँझो छ र ७५ लाख घरहरू मध्ये ५ लाख घरहरू त खाली नै भइसकेका छन् । देशमा प्राकृतिक प्रकोप आउँदा होस् कि गाउँ समाजमा बिहेमा सरिक हुँदा चाहिने जन्ती र मर्दामा चाहिने मलामीहरू छँदै छैनन् । समाजमा लास उठाउने मान्छे पनि छैनन्, पहिला-पहिला गाउँ-समाजमा कोही व्यक्तिको मृत्यु हुँदा सबैजना एक एकजुट हुने समाज आजभोलि कुन दर्शन, कुन पार्टीको मान्छे रहेछ भनि सोधेरमात्र मलामी जाने कि नजाने निर्णय लिने अवस्थामा छ हाम्रो समाज । गाउँ-समाजमा आजभोलि सुख-दुःख पर्दा युवाहरूको अभाव खड्किरहेको छ । दुःखी बिरामी हुँदा तातोपानी दिने र ख्याल गर्ने छोरा-बुहारी छोरी ज्वाइँसमेत नै छैनन् । गाउँमा बोल्नलाई कोही पनि छैनन् । नेपालीहरूको अनुहारमा मुस्कान नै छैन, केवल पीडा निराशा तनाव मात्र देखिन्छ । हाम्रो देशको १.५ करोड जनसंख्या स्थायीरूपमा नेपाल नफर्किनेगरि देश छोडेर गएका छन्, साथसाथै दिनहुँ विभिन्न देशका शरणार्थीहरू हाम्रो देशमा भित्रिरहेका छन् । विदेश पलायन भएका नेपालीहरूको संख्यालाई पूर्ति गर्नलाइ विभिन्न देशका शरणार्थीहरूलाई किन नेपाल भित्र्याइरहेको छ त ? यो गम्भीर घातक कुरा नेतादेखि नागरिकहरूले एकदम मिहीन तरिकाले बोध गर्नु अपरिहार्य छ ।

यो लेख लेखिराख्दा बझाङमा स्वास्थ्य शिविर सञ्चालन गर्न जाँदा त्यहाँको एक विद्यालयको भित्तामा लेखिएका केही कोट (भनाइ)हरू आँखामा झलझली घुमिरहेका छन् :

– माता-पिता भनेका सय वटा शिक्षकबराबर हुन्छन्,
– त्यसैले धेरै भन्दा धेरै ज्ञानगुनका कुरा सिक्ने कोशिस गरौँ,
– मेरो चौतारीहरू (बुवाआमा) जसले हरेक सुख–दुःखमा साथ दिन्छन्,
– मैले धेरै ठाउँ देखेँ तर आमाबुवाले गाउँभन्दा अरु ठाउँ नै देख्नुभएन, जस्तो कि आगोले निकालेको धुवाँले पो सन्सार देख्न पाउने रहेछन्, आगोले होइन रहेछ,
– दुरी जति टाढा भएपनि बाबुआमाको मायाले सदैव न्यानो बनाइरहँदो रहेछ,
– संसारमा आफ्नो बाबुआमाको जति माया अरु कसैको लाग्दैन,
– आमाबाबुले आफ्नो जीवनको अनुभव र मूल्यवान शिक्षा छोराछोरीलाई दिन सक्छन् । वृद्धहरूको सल्लाह र ज्ञानले छोराछोरीको जीवनलाई मार्गदर्शन गर्न सक्छ,

उपरोक्त भनाइहरू सम्झिँदै गर्दा शरीर त यही छ तर मन कता-कता डुले पत्तो नै भएन । माथि भनिएका भनाइहरू विदेशिन बाध्य भएका युवाहरूको मन-मस्तिष्कमा पनि दिनरात यस्ता भावनाहरू आइरहन्छन् होला । हरेक बुवाआमाको लागि छोराछोरी भनेका बुढेसकालका सहारा हुन् । बुढेसकालमा मानिसहरू प्रायः शारीरिक रूपमा कमजोर र भावनात्मक रूपमा संवेदनशील हुन्छन् । छोराछोरीको साथ, माया र सहानुभूति वृद्ध आमाबाबुको आत्मबल बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । यसले उहाँहरूको जीवनमा खुसी र सन्तोष ल्याउन मद्दत गर्दछ । जीवनको अन्तिम घडीमा हरेक बाबुआमालाई आफ्नो सन्तानको अनुहार हेरेर, आफ्नो सन्तानको हात समाएर र उनीहरूको हातले गंगाजल खुवाइदियोस् भन्ने इच्छा हुन्छ तर अब यो एकादेशको सपना जस्तै हुन लागेको छ हाम्रो नेपालमा । आजभोलि हाम्रो देशमा नाति-नातिनाहरूले हजुरबुवा-हजुरआमाहरूको माया पाउन, काखमा लडिबुडी गर्न छोडिसके र संस्कार पनि पाउन सकिरहेका छैनन् । छोराछोरी बिरामी पर्दा छाती दुखेर अनुमान लगाउने र छोराछोरीहरू सङ्कटमा पर्दा राति झस्केर ब्युँझिने आमाहरूले अब सात समुन्द्र पारी रहेका आफ्ना सन्तानहरूलाई सम्झेर कसरी मन बुझाउँछन् होला ! सायद प्रशान्त तामाङ र स्मृति शाहीले प्रदेश फिल्ममा गाएको गीत यस्तै पीडादायक परिस्थितिको लागि होला–

बिछोडको करौँतीले काट्नु मन नै काट्यो
जाँदाजाँदै मूल बाटोको दुईटा बाटो फाट्यो
एउटा बाटो पर-देश, अर्को घर-देश
परदेशी र घरदेशीको कहिले होला भेट…!

हाम्रो देशमा पहिले-पहिले धेरैका बाबुआमाहरू गर्व र घमण्डका साथ भन्नुहुन्थ्यो- मेरा छोरा-बुहारी छोरी-ज्वाइँहरू अस्ट्रेलिया, बेलायत, अमेरिका, कोरिया, जापान… छन् ! तर, अब परिस्थिति बिस्तारै बदलिँदै छ र अबको ६-७ वर्षपछि नेपालमा रहेका छोराछोरीहरूको बाबुआमाहरूले घमण्ड र गर्वका साथ भन्नुहुन्छ होला- हाम्रा छोराछोरीहरू यही देशभित्रै छन् र त्यो पनि हाम्रै आँखाअगाडि । तर चुरो कुरोचाहिँ, यस्तो परिस्थिति कसले सिर्जना गरायो र किन गराइरहेको छ भन्ने हो । किन नेपाललाई वृद्धाश्रममा परिणत गर्न खोजिँदै छ त ? अब सबै देशभक्त युवाहरूले यो प्रश्नको उत्तर खोज्न जरुरी छ कि ?

केही दिनअघिको मेरो जन्मदिनमा म पनि विदेशिने मनसाय गराएको कुरा घरमा सुनाउँदा बुवाले भन्नुभयो- छोरा तिमी त हाम्रो सम्पत्ति हौ, के विदेशमा सम्पत्ति कमाउन जान्छौ । अनि मेरो मन चैत्र महिनामा पनि पुस-माघको चिसो जस्तै सिथिल भयो र दिमाग पनि ठण्डा भयो, यानी कि जमेको हिउँजस्तै । विदेशिने बाध्यताले गर्दा आजभोलिका अधिकांश युवाहरूले बुवाबाट सङ्घर्षको अनुभव पाठ र आमाबाट संस्कार सिक्ने मौका पाइरहेका छैनन् ।

संयुक्त राष्ट्र संघका पुर्व महासचिव वान कि मूनले भनेका थिए- ‘संसारका युवाहरूसँगै नेपाली युवाहरूलाई बहुआयामिक विकासका निमित्त मागहरू राखेर आजको आवश्यकतालाई सम्बोधन गरिदिन आग्रह गर्दछु ।’

युवा त्यस्तो ज्वार हो जसले राष्ट्र र राष्ट्रियताका लागि भगीरथ तपस्या गर्न सक्छन् अनि विकास र परिवर्तनका लागि दरिलो र भरिलो आधार स्तम्भ बन्न सक्छन् । ख्याल राख्न जरुरी छ- युवा अवस्था आउँछ तर जीवनमा एक पटक मात्रै । एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ त ? सबैले सोच्नैपर्ने बेला आएको छ । दुखद् कुरा समय उड्छ तर अर्को सुखद कुरा त्यो उड्ने समयरुपी जहाजको पाइलट तपाईं-हामी नै हो । अब भन्नुहोस्, त्यो जहाज कहाँ कसरी पुऱ्याउने हामी युवाहरूको हातमा छ । अब आजकै दिनदेखि सोच्नैपर्ने भएन र युवा साथीहरू ? जबसम्म श्रम र श्रमिकको उचित सम्मान र मर्यादा हुँदैन, जबसम्म जसले जे काम पनि गर्न हुन्छ, गर्नुपर्छ भन्ने सामाजिक मनोविज्ञान बन्दैन, जबसम्म दले, झोले, घुष र चाकरी बिना योग्यले स्थान पाउँदैन, जबसम्म स्कुलमा ‘WORK IS WORSHIP’ भन्ने ज्ञान दिने गरिँदैन, जबसम्म आरक्षण जस्तो संवैधानिक विभेदलाई खारेज गरि योग्यता, दक्षता, क्षमतामा, पारदर्शितापूर्वक प्रतिष्पर्धी भएर राज्यले उपलब्ध गराउने अवसरमा निष्पक्षता हुँदैन, जबसम्म ढोके प्रवृत्ति, घुष प्रवृत्ति, दलाली प्रवृत्ति, दले प्रवृत्ति, बिचौलियामार्फत चल्ने न्याय प्रवृत्तिलाई अस्विकार गर्ने नयाँ पुस्ता यो देशमा बस्दैनन् । अबसरको खोजी विश्वब्यापी मनोविज्ञान हो र त्यसमाथि हाम्रो जस्तो विकृति र विसंगतिको डङ्गुर भएको अवस्थामा, यो पुस्ता जसले विश्वलाई ल्यापटप मोबाइलमार्फत नियालिरहेछ पहुँच पुऱ्याइरहेछ, उ नेपालमा किन, कसरी बस्छ ??

आज नेपाली समाजमा युवाको अवस्था हेर्ने हो भने निकै नै करुणामय अवस्था छ । शिक्षित हुन् वा साक्षर युवा, सबैको आफ्नो समस्या-पीडा छ, जस्तै- बेरोजगारी, अवसरको कमी र परिवारसँग छुट्टिएर विदेशिनुपर्ने जस्ता साझा समस्याहरू छन् । अनिश्चित भविष्यदेखि उनीहरू निकै नै निराश एवम् हतोसाहित भएको अवस्था छ । हरेक महिना हजारौंको संख्यामा देशका दक्ष जनशक्ति विदेश पलायन भइरहेका छन् र युवा अवस्थाको ऊर्जा, जोश, जाँगर, क्षमता विदेशमा बेच्न विवश छन् । हामीले युवा नेतृत्वको कुरा गरिरहँदा युवा किन निराश र हतोत्साहित छन्, उनीहरूले के चाहन्छन् र उनीहरूको सीप, क्षमता र अनुभवलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे ठोस नीति र कार्यक्रम हुन जरुरी छ ।

तसर्थ अहिले नेपालमा युवाहरूले राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अवस्था आएको छ । युवाहरूले नयाँ दृष्टिकोण, नयाँ विचार, सक्रियता र जागरण ल्याउने चेष्टा गर्नुपर्दछ । देशले नयाँ संविधान पाए पनि सबैले अपनत्व महसूस गर्न सकेनन् । वर्षौंदेखिको उही पुरानो संसदीय व्यवस्थाभित्र सरकार अदलबदल, पार्टी टुटफुटका शृंखला चलिरहेको छ । भूराजनीतिको नाङ्गो पेलान र चेपाहा प्रवृत्तिले हाम्रो देशमा राजनीतिक अस्थिरता चरमोत्कर्षमा पुगेको छ र अवस्था उही रहेको छ । जनतादेखि नेतासम्म सबैजना अनुशासनहीन भएका छन् । देशलाई सही मार्गमा डोऱ्याउन र सबैलाई अनुशासनमा ल्याउन कसरी सकिन्छ भन्ने अहिलेको चुरो कुरो हो जस्तो लाग्छ । हाम्रो मुलुकले राष्ट्र निर्माण र विकासका लागि पसिना बगाउने युवाहरू खोजिरहेको छ । समाज र राष्ट्रको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि मात्र नभइ बेरोजगार, शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो मुहार ल्याउने, नवीन दृष्टिकोण बोक्ने, राजनीतिलाई शुद्धीकरण गर्न सक्ने क्षमतावान् र कुशल नेतृत्वका साथै विचारमा युवापन र मन पनि युवा भएको एक असल युवा नेतृत्व खोजिरहेको छ । तसर्थ देशले विकासको मुहार फेर्न सक्ने सच्चा सपुत खोजिरहेको छ ।

नेपालको प्रकृति, संस्कृति, रितिरिवाज र रैथाने खेतीपाती विशेषगरी नेपालको बलौटे माटोमा उब्जिने सागसब्जी अन्नबालीहरूको आकर्षणले विदेशीहरू नेपालमा बसाइँसराइ गरिरहेका छन् भने तर नेपाली युवाहरू दिनहुँ वैदेशिक यात्रामा गइरहेका छन् । यही लेकमार्फत विदेशिने प्लानमा रहनुभएका, विदेशमा रहनुभएका सम्पूर्ण मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो अनुरोध छ कि नेपाल आउनुस्… फर्किनुस् … अब हाम्रो देश नेपाल हामीले नै बनाउने हो । हाम्रै देशमा खाली रहेका जमिनमा कृषिक्रान्ति गरेर विश्वलाई एउटा सकारात्मक उदाहरणीय सन्देश दिउँ । र, हाम्रो देशको संस्कृति रीतिरिवाज सभ्यताहरू सबै निमिट्यान्न पारेर जाँदैछन् सदाका लागि एकादेशमा नेपाल भन्ने एउटा देश थियो भन्नेसम्म स्थिति पुगेको छ । हामी युवाहरूको नेतृत्वले राजनीति र विकास दुबै क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सक्छौँ । हामी युवा पुस्ताले आफ्नो उर्जा, क्षमता, सृजनशीलता र नवीन दृष्टिकोणको माध्यमबाट समाज, राष्ट्रमा सकारात्मक परिवर्तन ल्याउन सक्छौँ । हामी युवाहरूको सक्रिय सहभागिता र नेतृत्वको माध्यमबाट मात्र हामी एक प्रगतिशील, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्न सक्षम हुन सक्छौँ कि ?

तसर्थ, हामीले आँट नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ? आज २१ औँ शताब्दीमा नेपाल र अरु राष्ट्र कहाँ छन् मूल्याङ्कन गर्न जरुरी छ । वैदेशिक ऋणले देश बन्दैन र यो दिगो पनि हुँदैन । यो कस्तो प्रवृत्ति भयो भने ऋण लिएर धनी देखिने सोच जस्तो भएन र ? हाम्रो देश नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न छ खाली हामीले सहि उपयोग मात्र गर्न नसकेका हौँ । त्यसैले राज्यले समयमै ठोस नीति-नियम र उद्देश्य बनाएर युवाहरूको ऊर्जा, जोश, जाँगर, क्षमता, सम्भावना र समयलाइ सही सदुपयोग गर्नु पर्दछ ।