मुलुककै अस्तित्व मेट्न उद्यत् हामी !

मुलुककै अस्तित्व मेट्न उद्यत् हामी !


‘के देश बिगार्ने या देशका दुश्मन राजसंस्था र राजा ज्ञानेन्द्र एकमात्र हुन् त ?’ लौ मानौँ- हो ! राजा नै यो देशको विकासका बाधक भए रे ! अनि ०४७ सालपछि बहुदल किन असफल भयो, समीक्षा गर्नु नपर्ने ?

लौ म खराब भएँ, पन्छिन्छु, यहाँहरू गर्नुस्… भनेर राजा ज्ञानेन्द्रले हाँसी-हाँसी राजगद्दी छोडेका होइनन् र ? यो दुई दशक वा ०६३ पछिको ‘प्रचण्ड’नेतृत्वको या प्रचण्डजस्ता पात्रहरू निरन्तर सक्रिय रहेको गणतन्त्र किन असफल भयो होला… समीक्षा गर्नु नपर्ने ? किन १८ वर्षपछि देश र प्रवासमा रहेका नेपालीहरूले राजा आऊ देश बचाऊ भन्नुपर्ने अवस्था आयो ? त्यसको समीक्षा गर्नु नपर्ने ? राजा ज्ञानेन्द्रलाई मात्र असभ्य-असहिष्णु बनेर तुच्छ कटाक्ष गर्नुपर्ने ? त्यसो गर्दा आफ्नो नालायकी या असफलता छोपिने विश्वास हो कि ?

यो देशका आजका शासक सबै दुधले धोएका हुन् त ? सहमति र मेलमिलापको राजनीति कि निषेध र असहिष्णुता… जसले जे भन – देश चाहिएको हो भने, स्वाधीनताको रक्षा गर्ने हो भने राजा ज्ञानेन्द्रप्रति सदासयता देखाउन नचुकौँ । अन्यथा, देशलगायत कसैको भलो हुँदैन, यो तीन दशकको अनुभव हो । ‘देश’ रोज्ने कि ‘तन्त्र’ ? विवेक प्रयोग गर्ने समय हो ।

पहिले देश रोजौँ र राजनीतिक चरित्र निर्माण गरौँँ !

आज देशमा जुन संकटमय वातावरण निर्माण भएको छ, त्यसको मूल कारण हाम्रो समाजले निर्माण गर्न नसकेको राजनैतिक चरित्र, नैतिकता, विवेक र जिम्मेवारी बोधको खडेरी नै हो । अब पहिले प्रत्येकले आफैभित्र राजनैतिक चेतनाको स्तर वृद्धि आन्दोलन गर्ने हो कि ?

हामी बहस ‘तन्त्र’को बारेमा गरिरहेका छौँ कि व्यक्तिको बारेमा- रनभुल्लको अवस्था छ । नेपालमा राजतन्त्रविरोधि आन्दोलन नयाँ वा नौलो होइन, देशी-विदेशीले ०७ सालको कथित प्रजातन्त्रको स्थापना भएदेखि नै चलखेल गरिआएको हो । विभिन्न आन्दोलन प्रकरण हुँदै २०६३ बाट नेपालको मौलिक पहिचानको संवैधानिक राजसंस्था पनि विस्थापन गरेको १८ वर्षपछि पुनर्बहालीको आन्दोलनको एउटा पछिल्लो घटना हो- चैत्र १५ गतेदेखि सुरु भएको आन्दोलन । यसपश्चात् अहिले देश राजसंस्था र गणतन्त्र पक्षका रूपमा दुई ध्रुवमा विभक्त भएको छ र, दुई पक्षबीच विवाद/बहस फेरि चलेको छ, ०६२/६३ मा पनि यसरी विवाद/बहस चलेको थिएन । तर, पछिल्लो विवाद र बहस वैचारिक/सैद्धान्तिक भन्दा तल्लो स्तरमा झरेर व्यक्तिगत लान्छना र खोटको दायरामा अल्झिएको छ ।

नेपालमा राजनैतिक वाद वा पद्दतिको स्थायित्व किन भएन बितेको सात दशकमा ? अनि पछिल्लो तीन या दुई दशकमा ? को-कहाँ चुक्यो ? राजनैतिक विषयमा राजतन्त्रात्मक मुलुक र गणतन्त्रात्मक मुलुकको गुण-अवगुणहरूको खुलेर इमान्दारीपूर्वक समीक्षा गरौँँ । २००७, २०४७ अनि २०६३ पछि को, कहाँ, किन, कसरी चुक्यो वा असफल भयो- बौद्धिक बहस गरौँँ, समीक्षा गरौँँ । कसले किन कहाँ गल्ति गऱ्यो- त्यसको आत्मसमीक्षा गरौँँ, गल्ती-कमजोरी स्विकारौँ अनि सहमति–सम्झौता गरी सहयात्रा गरौँँ । निषेध र असहिष्णुतापूर्ण तुच्छस्तरको राजनैतिक व्यवहार बन्द गरौँँ ।

तीनकुनेको घटनापश्चात नेपाल तन्त्र र पद्धतिलाई नै लज्जित तुल्याउने या बदनाम गर्नेगरी राजनैतिक चेतभन्दा टाढा बसेर कुण्ठा इर्ष्या अपमान निषेध र असहिष्णुता देखाइरहेका छौँ । जुन हामीलाई विश्वकै सबैभन्दा न्यूनस्तरको विवेक भएका नागरिकमा सुचित गरेकोमा थप प्रमाण जुटाइदिएका छौँ ।

नेपालको राजनीतिको बहसको क्रममा कम्तिमा हामीले बुझ्नु र बुझाउनुपर्ने कुरो के भने राजसंस्था भनेको राजा ज्ञानेन्द्र, युवराज पारस वा कुनै अमुक अनुहार होइन, त्यसैगरी गणतन्त्र भनेको प्रचण्ड, ओली, माधव, बाबुराम, शेबदे वा कुनै अमुक अनुहारमात्र होइन । विश्वमा विद्यमान विभिन्न राजनैतिक सिद्धान्तअन्तर्गतकै पद्धति हो । राजसंस्था व्यक्ति होइन प्रतिष्ठान (पद्धति) हो भने गणतन्त्र पनि सैद्धान्तिक रूपमा अर्को सुन्दर वाद वा पद्धति नै हो ।

सम्बन्धित देशको भूगोल, नागरिकको शैक्षिक आर्थिक स्तर, चेतनाको स्तर, सामाजिक मनोविज्ञान वा प्रवृत्ति अनि नेतृत्वको कारण कुनै अमुक पद्दतिहरू स्थापित र विस्थापित हुने क्रम भएका विश्व इतिहास साक्षी छ । हाम्रो समाज विश्वको अन्य समाज धेरै फरक छ । हाम्रो प्रवृत्ति (ATTITUDE) अन्य समाजभन्दा फरक छ । हामी नेपालीको मनोविज्ञान न अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया जस्तो विधिको निरंकुशता स्थापित गर्न योग्य र सक्षम छ न त चीन, कोरिया, मलेसिया, सिंगापोर जस्ता देशको नेतृत्व (व्यक्तिको) निरंकुशता स्वीकार गर्न सक्छ । हामी यी दुवै प्रवृत्ति भन्दा फरक छौँ । मेची-महाकाली एउटा पारिवारिक सञ्जालमा जेलिएको नेपालमा ‘वर्ग संघर्ष’ होइन ‘वर्ग समन्वयन’ सिद्धान्त सफल हुन्छ । हाम्रो मनोविज्ञान विधिको भन्दा भावनाको राज्यसंयन्त्र खोज्ने खालको छ । त्यसैले हाम्रो देशको लागि नियन्त्रित र निर्देशित लोकतन्त्रमात्र सम्भव हुन्छ ।

गणतन्त्र असफल हुनुको एउटा प्रमुख कारण हाम्रो चेतना (विवेक) न्यून स्तरको हुनु नै हो । हामीले भनिरहेको लोकतन्त्र वा गणतन्त्रको मर्म र अर्थ अर्थात् स्वतन्त्रता र अधिकारको अर्थ या मर्म अर्कोको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने दायित्वबोध पनि हो । कति प्रतिशत हामी अर्कोको अधिकार र स्वतन्त्रताको रक्षाको चेतको ब्यवहारिक रुपमा कार्यन्वयन गर्न/गराउन सक्षम छौँ ? के नेपाली समाज आज बिना सुरक्षाकर्मी आमनिर्वाचन गराउन योग्य भएको छ ? के नेपाली समाज आज सार्वजनिक यातायातमा तोकिएको पैसा स्वयमले तिर्न तयार हुने (बसका सहयक बिना) चेतना बोध गर्ने अवस्थामा छ ? लोकतन्त्र वा गणतन्त्रको भनेको धार्मिक आस्था, सांस्कृतिक, सामाजिक मौलिकतामा विचलन नागरिक बेचबिखन पलायन अराजकता, भ्रष्टाचार र दण्डहीनताको पराकाष्टा, अस्थिरता, बेथिति र विसंगतिको पहाड हो ? किन आज नेपाल स्वाधीन अस्तित्व समाप्तिको मार्गमा हिँडेको छ ?

यी र यस्ता गहन कुरोलाई बेवास्ता गर्दै हामी सैद्धान्तिक बहस दायित्वबोध कमजोरीलाई नियाल्न छोडेर बौद्धिक स्तरको राजनैतिक समीक्षा गर्न छोडेर कुनै पद्धति वा तन्त्रको गुण-अवगुण र परिमार्जनको बहसको बदला व्यक्ति-व्यक्तिलाई नङ्ग्याउने दुर्नियतपूर्ण प्रयास गर्दैछौँ । हामी सबैलाई थाहा छ- हामी जन्मजात नाङ्गो हौँ, जस्तो रंगको पहिरनले ढाके पनि कसको भित्र के छ भनिराख्नु परेन, वा कसैको नयाँ पहिरन वा उसको भित्री वास्ताविकतालाई लुकाउन त सकिँदैन, त्यस्तै हो राजनैतिक बहस पनि ! मूल प्रश्न हो- किन, को, कहाँ चुक्यौँ ? आत्मसमीक्षा इमान्दारीपूर्वक गरौँ, तन्त्र वा पद्दतिको नाममा हामीले अमानविय, असभ्य र अनैतिक दोषारोपण गर्नुपर्छ । विश्वमा प्रतिपादित कुनै पनि सिद्धान्त आफैमा खराब हुँदैन, त्यसको असल पक्षलाई सफलतापूर्वक कार्यान्वयन गर्न असल नेतृत्व र विवेकशील मतदाता चाहिन्छ, तर हाम्रो समाजमा यो दुवै पक्षको खडेरी छ ।

त्यसैले हाम्रो भूगोल हाम्रो समाजको चेतनाको स्तर सामाजिक उत्तरदायित्वको बोध धार्मिक, सांस्कृतिक, सामाजिक मौलिकता, आर्थिक औकात, स्रोत र साधनलाई समेत गहन बहस÷छलफल गरि कसरी समाजलाई एकताबद्ध गर्न सकिन्छ, कसरी जन अपेक्षा पूरा गर्न र स्वाधीन नेपालको अस्तित्वको रक्षा र आत्मनिर्भर बन्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ । कुनै अमुक वाद वा तन्त्रको नाममा अहिलेको जस्तो न्यूनस्तरको कटाक्ष व्यवहार गरेर हामी एकअर्काप्रति असहिष्णु र गैरजिम्मेवारी प्रस्तुत भइरहने हो भने निश्चित छ- हामी कसैको पनि अस्तित्व रहने छैन ।

देश आर्थिक रुपमा टाट पल्टिसकेको छ । अब राजनैतिकरूपमा पनि असफल भयो भने हामी सबैले पछुताउनुपर्ने छ । भर्खर राष्ट्रिय परिचयपत्रबाट नेपालीको पहिचान- टोपी, सिन्दुर, पोते उडेको छ, हामी यसरी नै व्यक्तिगत चरित्र हत्या गरेर बहसमा रहीरह्यौँ र राष्ट्रको हितमा सोच्न सकेनौँ भने वि.सं. २०८९ को निर्वाचनपश्चात (अबको आठ वर्ष अवधिमा) नेपालको झण्डा उड्ने निश्चितप्रायः छ । देशलाई शिरमा राखेर सहमति र राष्ट्रिय मेलमिलापको सोचलाई प्राथमिकतामा राखी सभ्य-शालीन बहस/वार्तामार्फत समाधान खोजौँ ।