अमेरिकाको इमिग्रेसनमा…

अमेरिकाको इमिग्रेसनमा…


सन् २०२५ को मार्च ७ तारिख साँझ अमेरिका जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलको अध्यागमन पार गर्दैगर्दा कर्मचारीले पासपोर्टमा छाप लाउँदै सोधे, ‘जान त जाँदै हुनुहुन्छ, ट्रम्पले छिर्न देलान् त ?’ शब्दमा जवाफ दिनुपर्ने केही थिएन, अलिकति हाँसेर अगाडी बढेँ । सँगै यात्रा गरिरहेका साथीहरूलाई पनि ‘त्यहाँको अध्यागमनबाट फर्किनुपर्ने हो कि विचार गर्नुस् है’ भनिएको रहेछ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि त्यहाँको अध्यागमनबारे विभिन्न खबरहरू आइरहेको बेला हामी संयुक्त राष्ट्रसङ्घीय तथा अन्य केही कार्यक्रममा भाग लिनका लागि अमेरिका जाँदै थियौँ ।

न्यूयोर्कस्थित जोन अफ केनडी एयरपोर्टमा पुग्दा प्रायः यात्रीहरूको मनमा आफूलाई के-के सोध्ला, प्रश्नमाथि प्रश्न आउला भन्ने थियो जस्तो लाग्छ । लाइनमा बस्ने विभिन्न देशका यात्रीले बडो जतनका साथ कागजपत्र मिलाइरहेका थिए । हामीले पनि निमन्त्रणा पत्र, बस्ने ठाउँ, फर्किने टिकट लगायतका कागजात हातमै बोकेका थियौँ । अचम्म त के भने अमेरिकाको इमिग्रेशनमा विगतमा जतिपनि प्रश्न गरिएन । पहिला-पहिला जाँदा केको लागि आएको ? कति बस्ने ? जस्ता प्रश्नहरू गरिन्थ्यो । यसपल्ट भिसा हेरेर केही नसोधी ‘हाउ आर यु ? टेक केयर…’ भन्दै छाप लगाइयो । हाम्रो समूहका साथीमध्ये एक जनालाई पासपोर्ट हेर्दै सामान्य रूपमा ‘केको लागि आएको’ भनेर सोधिएछ । उनले ‘कार्यक्रममा भाग लिन’ भनिनसक्दै ‘राम्रो गर’ भनेर छाप लगाइयो । यहाँबाट जानुअघिका अनेक हल्ला र हामीले अमेरिकाको इमिग्रेसनमा भोगेको वास्तविकता नितान्त फरक रह्यो ।

यो पङ्क्तिकार पछिल्लोपटक सन् २०१९ को फ्रेब्रुअरीपछि ६ वर्षको अन्तरालमा न्युयोर्क पुगेकी थिएँ । विगतको न्युयोर्क र यसपल्टको न्युयोर्कको सबैभन्दा देखिने फरकचाहिँ मानिसहरूको चहलपहल थियो । विगतको तुलनामा न्युयोर्क शहर निकै शान्त लाग्यो । सधैं भिडभाड हुने म्यानहाटनका सडकहरू सुनसान नै त नभनौँ चहलपहलविहीन थिए । ट्रेन स्टेशनहरूमा विगतमा झैँ गानाबजाना गर्ने र माग्ने मानिसहरू अति न्युन थिए । विगतमा प्रायः ट्रेन स्टेशनहरूमा गीत गाउने तथा अन्य विभिन्न अभिनयात्मक क्रियाकलाप गर्नेहरूको भीड लाग्ने गर्थ्यो । प्रायः दक्षिण एशियाली नागरिकको भिडभाड रहने ज्याक्सन हाइटमा पनि चहलपहल धेरै कम देखियो । न्युयोर्कका ट्रेनमा कतिपय मानिसहरू यसै कराउँदै हिँडेका देखिन्थे । यसपटक त्यस्ता मानिसहरू देखिएनन् । विभिन्न मुलुकबाट न्युयोर्क पुगेका आप्रवाशीहरूले अपनाएको सतर्कताका कारण त्यस्ता दृष्यहरूमा कमी आएको स्थानीय साथीहरूले बताए ।

म्यानहाटनको चहलपहलमा कमीचाहिँ ट्रम्प प्रशासनका कारण नभइ कोभिडपछि नै त्यस्तो भएको रहेछ । विगतमा न्युयोर्कमा मानिसहरू हिँडेका होइन दौडिएका देखिन्थे, जुन ब्यस्ततापूर्ण चहलपहल यसपटक देखिएन । ट्रेन र ज्याक्सन हाइट लगायतका क्षेत्रमा आएको परिवर्तनचाहिँ ट्रम्प प्रशासन आएपछिको परिणाम रहेछ । वर्षौंदेखि अमेरिका बसेपनि कागजी प्रक्रिया नपुगेका मानिसहरू अहिले कुनैपनि बेला पक्राउ पर्ने डरले घरभित्रै बस्ने गरेका कारण भिडभाड र राति अबेलासम्म हुने होहल्ला कम भएको भन्ने बुुझियो ।

न्युयोर्कस्थित एयरबीएण्डबी र स-साना होटेल, मोटेलका कोठा-कोठामा ठुलो अक्षरमा ‘ट्रम्प’ लेखेका स्टिकरहरू टाँसेको देखियो । एयरबीएण्डबी विभिन्न कम्पनी र ब्यक्तिहरूले चलाउने ‘होम स्टे’ हो । जहाँ प्रायः बाहिरबाट जाने पर्यटकहरू लामो र छोटो समयका लागि बस्ने गर्छन् । अहिले कतिपय कागजी प्रक्रिया नपुगेका आप्रवासीहरू एयरबीएण्डबीमा बस्ने गरेको पाइएपछि त्यस्ता ठाउँहरूमा कुनैपनि बेला छापा मार्ने स्थिति रहेछ । शायद त्यही परिस्थितिलाई ध्यानमा राखेर ट्रम्पवाला स्टिकरहरूले ठाउँ पाएका हुनसक्छन् । अमेरिकामा राष्ट्रपति ट्रम्पले ठिक गरे र ठिक गरिरहेका छैनन् भन्ने दुवैको संख्या उस्तै-उस्तै रहेछ । बस्नका लागि कानूनी प्रक्रिया पुगेका, अलि हुनेखानेहरूलाई ठिक लागेको रहेछ । जिन्दगी खाने-लाउने भन्दा अरु पनि छ, अमेरिका अमेरिका भएको लाउन-खान पाएर मात्रै होइन भन्ने मान्यता राख्नेहरूलाई बेठिक । प्रत्येक दिन अमेरिकी ब्रेकफाष्टमा अनिवार्य झैं मानिने अण्डाको भाउ बढेकोमा मानिसहरूमा आक्रोश बढेको देखियो । भाउ त अरु सामानको पनि बढेको होला तर अण्डाको चर्चा बढी थियो । न्युयोर्क शहरमा अपराधको मात्रा भने धेरै घटेको रहेछ । विगतमा झैँ घरमा बच्चा हेर्ने, सहयोगीको भूमिकामा रहने मानिसहरू पाउन छोडिएको स्थानीयहरूले बताए ।

यतिबेला अमेरिकामा सबैभन्दा गाह्रोचाहिँ विद्यार्थीलाई परेको देखियो । पढ्दै काम गर्न त्यसैपनि गाह्रो, अहिले त झन् काम पाउनै समस्या ! तोकिएको निश्चित समयभित्रको कामले जिन्दगी धान्न सक्ने अवस्था नहुने, घरबाट विदेश जाँदा लागेको ऋण लगायतका कुराको बोझले धेरै विद्यार्थीहरू थिचिएका छन् । राम्रो स्कलरसीप नपाइ आफ्ना सन्तानलाई अमेरिकामात्र नभइ कुनै पनि मुलुकमा पठाउनका लागि अविभावकले अब सोच्नुपर्छ । अमेरिकी सरकारले शिक्षामा गर्ने लगानी नै रोकिएकाले अबको परिस्थिति त झन् फरक हुने नै भयो । भिसा लागिहाल्यो, काम गर्छन् पढ्छन् भन्ने अवस्था अब छैन । धेरै युवाहरू डिप्रेशनको शिकार भएका छन् ।

अमेरिका, युरोप या भनौँ विकसित मुलुकमा बढ्दो मानसिक रोगको कारण मानिसहरूले आफूलाई ब्यक्त गर्न नपाएर हो जस्तो लाग्छ । मानिसहरू एक्लै बस्न थाले । विगतमा मान्छेले गर्ने काम अहिले मेसिनले गर्न थाल्यो । ट्रेनको टिकट किन्दा, बैंकमा पैसा साट्दा, रेष्टुरेन्टमा खाना अर्डर गर्दा, पसलमा सामान किन्दा या भनौँ यस्ता धेरै कुरामा मानिसहरू एकार्कामा बोल्न पाउँथे । अहिले धेरैजसो ठाउँमा यस्ता सबै कामहरू मेसिनले गर्छ । ठुला पसलहरूमा सामान किनेपछि मेसिनमा ट्याग स्क्रिन गर्दै बिल आफैले तिर्नुपर्ने रहेछ । मान्छे नै नहुने, सहयोग माग्यो भने यसरी गर्नुस् भनेर सिकाइदिने तर गर्नचाहिँ आफैले पर्ने । धेरैजसो पसलमा क्यास पैसा लिनै छाडेछन् । क्यास लिँदा मानिसको आवश्यकता पर्थ्यो, पैसा गन्नुपऱ्यो, फिर्ता दिनु पऱ्यो । यी सब झन्झटबाट मुक्तिका लागि मेसिनको प्रयोग जताततै हुनथाल्यो । कति पैसा भयो, कार्ड मेसिनमा घोट्यो हिँड्यो । यस्तो अवस्थामा शहरमा एक्लै बस्ने मान्छेले कोसँग बोल्नु ? हाम्रो जस्तो छिमेकी, साथीभाइ, आफन्त जतिबेला पनि बोल्नका लागि तयार बसेका हुँदैनन् त्यता । कस्तो नरमाइलो संसार !

हुँदै-हुँदै रेष्टुरेन्टमा खानाको लागि पनि मेसिनमा मेनु राखिने, के-के चाहिने हो त्यही हेरेर टिक लायो, पैसा त्यहीँ तिऱ्यो, एक शब्द बोल्नु परेन । यस्तो अवस्थामा कतिले त धेरै दिनसम्म मानिस-मानिस एकार्कामा आवाज मिसाउन पाउँछन् जस्तो पनि लागेन । मेसिनले मान्छेलाई आफैमा सीमित गर्दैछ, भोलिका दिनमा कस्तो अवस्थामा पुऱ्याउने हो यसै भन्न सकिन्न । विगतमा सामान किनेर या खाना अर्डर गरेर पैसा तिर्ने बेलामा ‘हाउ आर यु ?’ भनेर सोध्नेसम्म त हुन्थ्यो, अब त्यो पनि रहेन ।

मानसिक अवस्था राम्रै भएका कतिपय मानिसहरू पनि सडकमा एक्लै गुनगुनाउदै हिँडेको पनि देखिन्छ । दश-पन्ध्र दिनदेखि म कसैसँग बोल्नै पाएको थिइनँ भन्ने मानिस पनि भेटियो । विभिन्न क्षेत्रमा मेसिनको पवेशले मानिसको दुनियाँ फरक हुँदैछ । सम्पन्न नभएपनि नेपाललगायतका दक्षिण एशियाली मुलुकहरू खुशीको सूची (ह्यापिनेस इनडेक्स) मा अगाडि किन हुन्छन् भन्ने कुरापनि शायद हाम्रो जीवनशैली, हाँसीमजाक, ख्यालठट्टा, चाडबाड, संयुक्त परिवार, एकार्काको हेरचाहसँग सम्बन्धित छ । मानिस खुशी हुनु र सुखी या सम्पन्न हुनु परक कुरा हो । सुख भौतिक सुविधासँग, शरीरसँग सम्बन्धित हुन्छ, खुशी मनसँग सम्बन्धित हुन्छ । भौतिक सुख-सुविधाका कतिपय कुरा हामीसँग छैनन् तर विदेशयात्रामा प्रायः लाग्ने गर्छ- हामीसँग धेरै कुरा छ ।