आज नेपालमा राजसंस्था आवश्यकताको आन्दोलन र बहस छेडिएको छ । राजा किन आवश्यक छन् भन्ने विषयलाई एकपटक कुनै राजनीतिक दलको आवद्धताको तराजुमा नबसी सोच्ने या नसोच्ने ?
✍ सागर सुवेदी
नेपालका अधिक नागरिकहरू, विशेषगरी सामाजिक संजाल प्रयोगकर्ताहरू किन यतिछिट्टो भुल्ने रोगबाट ग्रसित छन् ? एकपटक बुझ्ने चेष्टा गर्ने कि ? पङ्क्तिकारको उद्देश्य कसैलाई ‘रोगी’ करार गर्ने पटक्कै होइन, विषय विवेकको हो ।
सुरु गरौँ ‘राजेन्द्र महतो’बाट ।
साधारण नेपाली जनताले बुझ्ने भनेको राजेन्द्र महतो छिमेकी मुलुकको नागरिकता भएको बाबुबाट जन्मेका, नेपाली अंगिकृत नागरिकता किनेका व्यक्ति हुन् । यिनै अंगिकृत नेपाली नागरिकले आफूले लिएको नागरिकताका विषयमा अहिलेसम्म आफै कसरी लिएका हुन् प्रस्ट पार्न सकेका छैनन् । पंक्तिकार लाई यिनले लिएको नागरिकतामा कुनै गुनासो छैन, राज्यले बेच्यो यिनले किने ! हामीले यहाँ किन्नेको दोष देख्यौँ तर बेच्नेको दोष देख्न खोजेनौँ । पंक्तिकार कुनै अदालतको न्यायाधीश नभएको कारण यहाँ राजेन्द्र महतोलाई कुनै आरोप लगाउन चाहँदैन ।
यिनै महतोलाई नेपाली सामाजिक संजालकर्ताले देशद्रोही तथा विदेशीको राशन खाएर नेपालविरुद्ध परिचालित व्यक्ति लगायत विविध आरोपमा अनेक उपनाम दिएर गाली गरे । तर, केही सातापहिला पाथिभरा आन्दोलनमा गएर नेपाल प्रहरीमाथि हातपात गर्दा यिनी आदिवासी जनजाति उत्थान गर्ने राष्ट्रभक्त नेपाली हुन् भन्दै हिरो बनाइए ।
अधिक सामाजिक संजाल प्रयोगकर्ताले राजेन्द्र महतोको गुणगान गाए । तर, गुणगान गाउने अहिलेका संजाल प्रयोगकर्ताले यो बिर्सिए कि कुनै समय राजेन्द्र महतो विदेशबाट परिचालित तथा नेपाली नागरिकता किनेर नेपाली बनि नेपालकै विरुद्ध परिचालित राष्ट्रघातीको आरोप लगाउने तिनै संजाल प्रयोगकर्ता थिए ।
राजेन्द्र महतो जे थिए तिनै हुन्, जो थिए । को हुन् भनेर भन्ने मेरो कुनै हसियत छैन, आफै बुझ्नुहोस् । यो त एक पछिल्लो उदाहरण हो । मैले योभन्दा अगाडिका उदाहरण भनेँ भने नेपालीले भुलिसकेका हुनेछन्, त्यसैले पछिल्लो विषयलाई मात्र उल्लेख गरेको हुँ ।
रामहरि खतिवडा ।
कुनै भिडियो दृश्यमा घडी चोरेको भनेर देखिएको कारण ‘घडीचोर’ भन्दै नेपाली काङ्ग्रेसका नेतासमेत रहेका रामहरि खतिवडालाई अधिक नेपाली सामाजिक संजाल प्रयोगकर्ताले खेद्नुसम्म खेदे । अझ एक समयमा उनले मानवतस्करी समेत गर्थे भन्ने आरोप लाग्ने गर्थ्यो । म आरोपमा गइ उनलाई दोषी हुन् भन्ने पक्षमा छैन । प्रमाणित नभएको कुनै विषयलाई फलानो चोर होस् भनेर किटेर भन्न मिल्दैन । तर, पछिल्लो समय उनले संसदमा ‘हामी राजालाई बम हानेर राजा मार्ने नेताका कार्यकर्ता हौँ’ भनेर भने । अथवा, नेपालमा राजसंस्थाको पुनर्स्थापनाको बहस सुरुसँगै राजसंस्थाको प्रस्ट विरोध गर्न थालेपश्चात् हिजो घडीचोर भनेर संजालमा आरोप लगाउने तिनै सामाजिक संजाल प्रयोगकर्ताले ‘यत्तिको निडर र प्रस्ट नेता नेपालमा चाहिन्छ’ भनेर लेख्न थालेका देखिन्छन् । हिजो रामहरि खतिवडा राम्रो व्यक्ति हुन्, यस्ताले किन घडी चोर्नु पऱ्यो भन्नेहरू आज फेरि उनी घडीचोर नै हुन् भनी किटान गर्दै लेख्न थालेका देखिन्छन् । तर, सत्य यो हो- उनी जे हुन् त्यही नै हुन् । खतिवडा जो हुन् आज पनि उनी तिनै हुन् ।
रवि लामिछाने ।
कुनै एक समय थियो- रवि लामिछानेले नेपाली नेतालाई प्रश्न गरेर, कर्तव्य र जिम्मेवारीको बारेमा प्रश्न सोधेर ऱ्याखऱ्याख पार्थे । उनले प्रश्न सोधेर पनि नेपाली जनताको ध्यान आकर्षण गर्न सकिन्छ भन्ने विषय बिबिसी नेपाली सेवामा काम गर्ने तत्कालिन पत्रकार तथा वर्तमान राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रबाट सिके । टेलिभिजन कार्यक्रमको लोकप्रियतासंगै रविन्द्र मिश्रलाई माथ गर्नेगरी रवि लामिछानेको लोकप्रियता सुरु भयो । उक्त लोकप्रियताले उनलाई भगवान् नै हुन् भन्ने ठाउँमा समेत पुऱ्यायो । त्यसैको लोकप्रियताले उनलाई विविध विवादका बाबजुद दुई पटक सांसद निर्वाचित गर्दै छिट्टो समय नेपालको उपप्रधानमन्त्री सम्मको यात्रा तय गरे ।
पछिल्लो समय चर्चामा आएको ‘सहकारी ठगी प्रकरण’सँगै हिजो जसले रविलाई भगवान् माने तिनैले ‘रवि सहकारी ठग नै हुन्’ भनेर संजालमा लेख्न थाले । जब कुनै कुरा पुष्टि नै भएको छैन र पनि रविलाई ठग नै हुन् भनेर ठोकेरै लेख्न थाले । यो भुले कि आज ठगको आरोप लगाउने संजाल प्रयोगकर्ता कुनै समय रवि नेपाली जनताका उद्दारकर्ता भगवानरुपी हुन् भनेर भनेको/लेखेको देखिन्थ्यो । रवि हिजो जे हुन् आज पनि त्यही हुन् । उनी सही या गलत हुन् भनेर प्रस्ट लेख्न सक्ने ठाउँमा पङ्क्तिकार नभएको कारण अरु लेख्न उपयुक्त ठानिनँ । बाँकी कुरा आगामी दिनलाई छोडौँ ।
बालेन साह ।
कुनै समय गाँजा-भाङ खानेहरूले गाइने संगीत ऱ्याप (खासमा यो कस्तो संगीत हो पङ्क्तिकार जानिफकार छैन) गाएर चर्चा पाउँदै गरेका बालेन साह, काठमाडौंमा गणेशमान सिंहको बुहारी भनेर चिनिने तर उहाँको राजनीतिक जीवन बुझेकाहरूले नेपाली कांग्रेसको प्रजातन्त्रको आन्दोलनमा विद्यार्थी जीवनमै नेपाल महिला संघको राजनीतिबाट आउँदै गर्दा प्रकाशमान सिंहसँग विवाह भएकी महिला सृजना सिंहलाई निर्वाचनमा पराजित गरी काठमाडौं महानगरको मेयर भएपश्चात चर्चाको शिखरमा पुऱ्याइए । एक मेयरले जे काम गर्नुपर्ने हो त्योभन्दा ‘यताउता’समेत गरेर सस्तो लोकप्रियता कमाउन चाहने उनको प्रवृत्ति देखिउको छ । तर पनि सामाजिक संजाल प्रयोगकर्ताले उनलाई यसरी हिरो माने कि अबको मुलुकको कायापलट केवल बालेनबाट सम्भव छ…, देशको अबको प्रधानमन्त्री बालेन नै हुन् भन्न थाले ।
बालेन काठमाडौं महानगरमा निर्वाचित भएर आएको आजको दिनसम्म मेयरले गर्नुपर्ने कामसमेत गर्न सकेका छैनन् । उता ललितपुरमा नेपाली कांग्रेसबाट निर्वाचित चिरीबाबुले कुनै तडकभडाक नगरी आफ्नो काम गरिरहेका छन्, ललितपुरवासीले महसूस गरिरहेका छन् । तर संजाल प्रयोगकर्ताको दृष्टिकोणमा बालेन साहको पनि भगवानकै अवतारको स्वरुपमा गुनगान हुन थाल्यो, काठमाडौंको नाम नै बालेन सिटी बनाउन थालियो, मध्यरात पारेर पोस्ट हुने उनको उदण्ड प्रकारका फेसबुक स्टेटस नेपाली सामाजिक संजाल प्रयोगकर्तालाई ‘भजन’सरह लाग्यो । त्यसलाई नै आफ्नो आवाज सम्झेर उनको तस्बिरलाई कैयनले आफ्नो सवारीसाधनमा सजाए भने कैयनले मनमा ।
आज उनको उदण्डताको पारो चरम स्थानमा पुग्यो । उनले त्यही उदण्डतालाई हिजोजस्तै संजालकर्ताबाट माफ हुने ठानेर राजा श्री ५ ज्ञानेन्द्रलाई सम्बन्धित नभएको विषयसँग जोडेर जरिवानाको पत्र पठाए !
बालेनको उक्त हर्कत संजाल प्रयोगकर्तालाई पाच्य भएन । हिजोको ‘बालेन सिटी’ रातारात पुरानै ‘काठमाडौं सिटी’ बन्यो, हिरो बालेन ‘साह’ जो ‘शाह’ बन्ने बाटोमा थिए, संजाल प्रयोगकर्ताको तारोमा पर्न लागेका छन् ।
पंक्तिकारले प्रथम उदारहणमा राजेन्द्र महतोको दिएजस्तै भोलि बालेन साह केही गरी नेपाली संजाल प्रयोगकर्ताको मनमा चलिरहेको चाहनाको विषय लेखे भने फेरि हिरो बन्नेछन् । तर, यहाँ हेरिँदैन कि उनको पछिल्लो क्रियाकालपमा कयौँ प्रश्न छन्, पारदर्शितामा सयौँ प्रश्न छन्, एक जनप्रतिनिधि भएपश्चात जनप्रतिनिधिको केही दायित्व हुन्छ भन्ने विषयलाई भुलेर बालेनलाई फेरि हिरो मान्नेछन् ।
यस्ता सयौँ विषय छन् जो एक सानो लेखमा अटाउन सम्भव छैन । तर यहाँ उठेको प्रश्न भनेको अधिक नेपालीहरू किन यतिका छिट्टो भुल्ने आदतको शिकार बनेका छन् ? के यो कुनै ‘मास डिजिज’को लक्षण हो ?
यस विषयमा मैले अष्ट्रियाको राजधानीस्थित ‘भियना मेडिकल विद्यालय’का प्राध्यापकसमेत रहनुभएका वरिष्ठ मनोविदसंग कुरा गरेको थिएँ, उनको भनाइमा यो एक न्युन सिभिक सेन्सको कारण हो । उनको कुरा सुनेपश्चात मैले मेरा मित्र शेखर ढुंगेललाई सम्झेँ । मित्र ढुंगेलले केही वर्षयता लगातार नेपालीहरू सिभिक सेन्समा (नागरिक भावना) विश्वकै अन्त्यन्त न्युन भएको भनेर लेखिरहेको पढ्ने गर्दथेँ । यस विषयमा उहााले किताब नै लेख्नुभएको छ । संजालमा नियमितजसो तर्क दिएर शेखरजीले लेख्ने विचार/धारणालाई पढ्ने र पाना फर्काउने गर्दथेँ म । आज मलाई स्पस्ट महसूस भएको छ । हो ! साँच्चै नेपाल ‘सिभिक सेन्स’मा मन्द भएका नागरिकहरू बस्ने मुलुक हो !
के अब हामी सधै अविवेकी भएको मुलुकका नागरिक हौँ भनेर चिनाउने कि आफूलाई बुझेर विवेकी बनी संजालमा प्रस्तुत गराउने ? बाँकी बाटो/सोच तपाईंको ।
पार्टीका कार्यकर्ता बनेर पार्टीको झण्डा उठाउने कि राष्ट्रिय झण्डा ? झगडा गरेर राष्ट्रिय सम्पति नास गर्ने या शान्त बनेर गलतलाई गलत भन्ने अनि हरेक ५ वर्षमा आउने निर्वाचनमा देखाइदिने ? राज्यको सम्पूर्ण शक्तिको श्रोत तपाईंको एक मत हो भन्ने कहिले बुझ्ने ?
आज नेपालमा राजसंस्था आवश्यकताको आन्दोलन र बहस छेडिएको छ । राजा किन आवश्यक छन् भन्ने विषयलाई एकपटक कुनै राजनीतिक दलको आवद्धताको तराजुमा नबसी सोच्ने या नसोच्ने ?
बुझौँ, सोचौँ । आफूलाई साँच्चिकै बदलौँ । मान्छेलाई भगवान् बनाउन नलागौँ । मान्छेलाई मान्छेकै रूपमा रहन दिऔँ । सबै विषयलाई सम्झेर प्रथम पटक तुलना गरौँ, विश्लेषण गरौँ, विवेकी बनेर हेरौँ, मनन गरौँ अनि बोलौँ ।
जय नेपाल ! जय मातृभूमि !!
प्रतिक्रिया