बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओली, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओली, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता


प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनलाई आज (२२ चैत) सम्बोधन गर्दै हुनुहुन्छ । उहाँसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन् । तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्नुहुने कार्यक्रम छ ।

सम्मेलनमा दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ । यी सबै कार्यक्रमहरु बैङ्ककस्थित होटेल साड्ग्रिलामा हुनेछन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुभएको हो ।

बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

rss