यसकारण राजसंस्था पुनर्स्थापना अपरिहार्य !

यसकारण राजसंस्था पुनर्स्थापना अपरिहार्य !


नेपालको जन्म राजसंस्थाबाट भयो । नेपाल अधिराज्यको एकीकरण राजसंस्थाबाट भयो । आधुनिक नेपालको निर्माण राजसंस्थाबाट भयो । नेपालको अस्तित्व र अस्मिता राजसंस्थाबाट बच्यो । हाल हामीसँग भएका जति पनि बाटो, बिजुली, विद्यालय, विश्वविद्यालय, लोकसेवा आयोग, विज्ञान प्रविधि केन्द्र तथा अस्पताल औषधि, उद्योग, निर्माण सामग्री उद्योग, प्रहरी संगठन, सेना संगठन, बायुसेवा निगम, रेडियो नेपाल, नेपाल टेलिभिजन, पत्रकारिता, कला संस्कृति संगठन, नाचघर, प्रज्ञाप्रतिस्ठान, समाज कल्याण परिषद, महिला आयोग, संयुक्त रास्ट्रसंघमा सदस्य, सार्क, अन्तर्राष्ट्रिय सम्बन्ध, समाचार समिति, टेलिफोन, कृषि तालिम केन्द्र, सिंचाइ कुलोलगायत हरेक विकासका एकएक पूर्वाधारहरु सबै राजसंस्थाले निर्माण गरेका हुन् ।

इतिहासको हरेक कालखण्डमा विदेशी हस्तक्षेप, विदेशी अतिक्रमण, विदेशी आक्रमण र विदेशी दुश्मनको कब्जा पन्जाविरुद्ध लडेर नेपाललाई सधैं बैरीको तोपको प्रहार खुकुरीको तातो रगतसँग साटेर मुलुकलाई अक्ष्क्षुण अमर अजर बनाएर राख्ने पनि राजसंस्था हो । नेपाली भएको परिचय नेपाली नागरिकता र मालिक भएको परिचय जग्गाधनी लालपुर्जा पनि राजसंस्थाले दियो, प्रजातन्त्रसमेत राजाले नै दिए । नेपाली नागरिकलाई राजाले के दिएनन् ?

आज राजसंस्था नहुँदा दलिय मनपरितन्त्र वा गणतन्त्रका कारण अहिले नेपाल र नेपालीको वर्तमान संकटमा परेको छ । नेपाली भाइ–भाइबीच अविश्वास, असुरक्षा र विद्वेष बिजारोपण भएको छ । एक नेपाली जाती अर्को नेपाली जातिबीच घृणा र प्रतिसोधको भावना छ । पैसा र स्वार्थ प्राप्ति हुन्छ भने आमा, श्रीमती, छोरी, धर्म संस्कृति, देश पनि बेच्न तयार भएको छ । जन्माउने आमाबाबाप्रति सम्मान हरायो । पढाउने गुरुबा गुरुआमाप्रति आदर छैन । नेपालीले नेपालीसँग शुद्ध नेपाली भाषा बोल्दैन । नेपाली उत्पादन नेपाली संस्कृति नेपाली संस्कार र नेपाली धर्म कर्मप्रति अपमान भएको छ । राजाको नामसँग गाँसिएको प्रत्येक जिउँदो ऐतिहासिक संरचना फोड्ने र नाम फेर्ने दुस्प्रयास गरिँदैछ ।

भ्रष्टाचार, तस्करी, कालाबजारी, सिन्डिकेट, खुला सिमा, नागरिकताको बेचबिखन, अपहरण, बलात्कार, हत्याआतंक, छोरीचेली बेचबिखन, बालबालिका बेचबिखन, घुसखोर, कमिसनखोर, प्राकृतिक स्रोतको बेचबिखन, जाती र धर्मको बिखन्डन, धर्मद्रोह राजद्रोह र देशद्रोह, परनिर्भरता महंगी र करको भारले नेपाली असैय पीडामा पिल्सिएका छन् ।

नेपाली जनता विभिन्न दलमा कित्ताकाट भइ दलीय विचार र दलाल दलकै झण्डा बोकेर चुपचाप सहेर बसिदिँदा इन्डियन सेना नेपालभूमि कब्जा गरी बसेको छ । यही मौकामा गुप्तचरहरुको दीर्घकालीन योजनाको घातक षडयन्त्रमा नेपालभूमिमा विदेशी सेना र बम भित्र्याउन बाह्य तत्वले बदनियत ढंगले काङ्ग्रेस, एमाले, माओवादी दललाई तीसौँ बर्षदेखि पालिरहेको थियो, लगानी गरिरहेको थियो/छ । त्यसैको नतिजा हो अहिले नेपालको हित नचाहने विदेशी तत्वका पाल्तु खेताला, गणतन्त्रका कुल्लीहरुले माओवादी धनयुद्ध हुँदै १२बुँदे चोरबाटोबाट गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जबर्जस्त लादेर नेपाल कंगाल बनाए ।

यसैक्रममा एमसिसि पास गरिएको छ । विदेशी महिलाले नेपाली पुरुषसंग विवाह गरेकै दिन नेपाली नागरिकता पाउने नियम संसद्ले पास गरेको छ । यही अवस्था रहिरहे नेपालीको स्वाभिमान मात्र हैन पहिचानसमेत गुम्ने खतरा बढेर गएको छ । यो समय नेपालीको लागि इतिहासकै प्रतिकुल समय हो । तसर्थ नेपाललाई अफ्रिकाको लिबिया, बंगलादेश श्रीलंका, युक्रेन हुनबाट बचाउन, सिरिया अफगानिस्तान र इराक हुनबाट नेपाललाई जोगाउनका लागि नेपालीले आन्दोलन र विद्रोहमार्फत राजसंस्था पुनर्स्थापना गर्नुपर्ने आवश्यकता मात्र नभइ अनिवार्य र अपरिहार्य नै भएको छ । हेक्का रहोस् ।

(लेखक नागरिक विद्रोह २०८१ का जनसम्पर्क प्रमुख हुन् ।)