मुलुकले विकल्प र परिवर्तन खोजेको छ

मुलुकले विकल्प र परिवर्तन खोजेको छ


गएको साता राजावादी र सरकारबीच भएको द्वन्द्वमा अनाहकमा दुई नागरिकको ज्यान गयो । यसको निष्पक्ष छानवीन गरेर दोषीलाई सजाय हुनु पर्ने कुरामा दुईमत हुन सक्दैन । तर, वर्तमान सत्ता र दलहरू किन राजावादीहरूको त्रासदीमा छन् ?- चुरो कुरोचाहिँ यो भएको छ । गणतन्त्रमा स्वयम् गणतन्त्रको पनि विरोध गर्न पाइन्छ, गर्न मिल्छ । गणतन्त्रको यो सुन्दर रूप हो र यही नै गणतन्त्रको विशेषता पनि हो । यसो भनिरहँदा, यसो भन्नेहरूलाई राजावादीको बिल्ला भिराइदिने त्रास लिएर सत्य र तथ्यमा आँखा चिम्लनु र मुख बन्द गर्नु पनि त भएन ।

जसरी आधा गणतन्त्र राजा ज्ञानेन्द्र स्वयम्ले ल्याइदिएका हुन्, त्यसैगरी अहिलेका गणतन्त्रवादीहरू स्वयम्ले राजतन्त्रप्रति मोह जगाउने कर्म गरेका छन् । राजा ज्ञानेन्द्रले यदि संवैधानिक राजा बनेर बस्न अस्वीकार नगरेको भए राजतन्त्रले सम्भवतः यो नियति भोग्नु पर्ने थिएन । त्यसैगरी, गणतन्त्रवादी दलहरू खासगरी यसको नेतृत्व पंक्तिले मुलुकलाई वर्तमानको बेहाल स्थितिमा नपुऱ्याएको भए राजावादीहरू पनि यति छिट्टै यो सशक्त स्थितिमा आइपुग्ने थिएनन् । लोकतान्त्रिक गणतन्त्र किन यति साह्रो कमजोर र निरीह भयो, अब त्यसको कारण नखोजी राजा र राजावादीहरूलाई सरापेकै बल र भरमा गणतन्त्र बलियो हुनेवाला छैन ।

गणतन्त्रलाई बलियो पार्न त पहिले गणतन्त्रलाई गणतन्त्रजस्तो पार्नु पऱ्यो । तर, त्यो नगर्ने अनि गणतन्त्र अर्काले कमजोर पाऱ्यो भनेर रुवाबासी गर्दैमा गणतन्त्र बलियो हुन्छ र ? गणतन्त्रका ठेकेदारहरूले सर्वप्रथम यो प्रश्नको उत्तर अनिवार्य रुपमा दिनै पर्दछ । एकाध जुलुस, वक्तव्य र प्रदर्शनले गणतन्त्रको जग यसरी हल्लिन पुग्छ भने गणतन्त्रवादीहरू स्वयम्ले गणतन्त्रलाई कति कमजोर स्थितिमा पुऱ्याएका रहेछन् भन्ने कुराको पुष्टि खुदै गणतन्त्रवादीहरूले गरेनन् र ?

गएको राजतन्त्र शायदै फर्केला । फर्क्यो भने पनि फेरि नफालिने सम्भावना छैन; जनताले फालेकै हुन् । तर, अहिले गणतन्त्रका नाममा कथित गणतन्त्रवादी दलहरू र त्यसका नेतृत्वले जसरी मुलुकको ‘दोहन’ गरिरहेछन्; त्यसबाट मुलुकलाई कसरी मुक्त गराउने ?- यक्ष प्रश्न यो चाहिँ हो ।

राजतन्त्र फर्किने भयो भन्ने त्रास देखाएर अझै मुलुकको दोहन कहिलेसम्म गरिरहने ? यही दोहन गर्नका लागि गणतन्त्र चाहिएको हो ?… निश्चय पनि यतिबेला जनताको मनमा यो प्रश्न बलियो रुपमा उठिसकेको छ । यो प्रश्नको निराकरण अब राजतन्त्रको त्रास देखाएर हुन सक्दैन । राजतन्त्र फर्कने डर देखाएर कति दिन, कति समय सुटुक्क-सुटुक्कसँग राज्यकोष भोजन गर्ने लाइसेन्स लिइरहने र पाइरहने ?

अहिलेको स्थितिबाट परिवर्तन र निकास पाउन जरुरी छ, मुलुकले । त्यो निकासलाई दलहरूले निषेध गरे भने राजतन्त्र त के, त्यस्तै अर्को रुपको तानाशाही फर्कने छ वा दलहरूले त्यो निकासका लागि सजगतापूर्वक मार्गप्रशस्त गरिदिएर सकारात्मक निकासको बाटो खोलिदिनु पर्छ । दुई वटा बाहेक अर्को बाटो र विकल्प छैन ।

यो सत्यका बाबजुद दलहरूको नेतृत्व यो सत्यका प्रति इमानदार र सजग छैन । उनीहरू बरू लोकतन्त्र समाप्त भए पनि आजीवन नेतृत्व आफ्नै हातमा राखिराख्न उद्यत छन् ! यस्तो विडम्बनापूर्ण स्थितिमा अहिलेकै नेतृत्वले मुलुकमा सकारात्मक निकास आउने सम्भावना अत्यन्त न्यून छ । कुरा यो भएपछि, के अब यही प्रणालीबाटै मुलुकले सकारात्मक गति लिन्छ भन्ने आशा मार्नुपर्ने हो ?- जनता बेजोड रुपले यो प्रश्न पनि गर्न थालिसकेका छन् । र, प्रश्न गर्दैमा जनता स्वयम्लाई प्रतिगामीको बिल्ला भिराउन किमार्थ मिल्दैन ।

गणतन्त्रमा नराम्रो गर्ने नेतृत्व दण्डित नभएर झन्-झन् पुरस्कृत हुने वर्तमानको स्थितिले यतिबेला प्रणालीमाथि नै प्रश्न-चिह्न उठेको छ । हो, फेरि पनि राजाको पुनरागमन हुने हौवा पिटेर र त्रास देखाएर जनतालाई अनन्तकालसम्म मूर्ख बनाइरहन सकिँदैन । त्यसको अर्थ हो- विकल्प मुलुकले खोजेकै छ । अब वर्तमान नेतृत्वको विकल्प यही नेतृत्व हुन सक्दैन र हुनु पनि हुँदैन ।