नेपालको ‘नेशनल आइडेन्टिटी’ खोज्नेहरूले बुझ्नुपर्ने तथ्य !

नेपालको ‘नेशनल आइडेन्टिटी’ खोज्नेहरूले बुझ्नुपर्ने तथ्य !


हालको भारत अर्थात् एकीकृत इण्डियाको स्थापना हुनुभन्दा कैयौँ शताब्दी अघिदेखि नै नेपाल र भारतीय भूमिबीच प्रगाढ सम्बन्ध रहिआएको तथ्य इतिहासशिद्ध छ । दुईतर्फका जनताबीच स्थापित सांस्कृतिक, धार्मिक, आर्थिक र सामाजिक सम्बन्धले हामीलाई यसरी जेलेको छ कि राज्यस्तरमा यदाकदा प्रकट हुने अस्वाभाविक तनावले पनि हामीलाई भाँड्न सकिरहेको हुँदैन । तथापि, दुईपक्षीय सम्बन्धलाई ‘धमिलो र अमिलो’ तुल्याउन कतिपय ब्यक्तिहरू लागिपरेका हुन्छन् । कुनैबेला सोनिया गान्धीलाई पशुपतिनाथको मन्दिरमा प्रवेश गर्न रोक लगाइएका कारण सम्बन्ध चिसिने स्थिति बनेको थियो भने कुनैबेला इन्दिरा गान्धीको नीति र कोपभाजनमा पनि दुईपक्षीय सम्बन्ध परेको इतिहासले दर्शाउँछ । राष्ट्रिय हितका कतिपय मुद्दामा उत्पन्न असमझदारीले पनि राज्यस्तरको सम्बन्धलाई असामान्य स्थितिमा पुऱ्याएको देखिन्छ । तर जनस्तरमा विकशित कसिलो सम्बन्धलाई कहिलेकाहीँ राजनीतिक र कुटनीतिक स्तरमा उत्पन्न तनावले खासै प्रभावित गर्ने गरेको छैन । तथापि, कतिपय जिम्मेवार ब्यक्तिबाट प्रकट हुने अस्वाभाविक अभिब्यक्तिले जनस्तरको मन दुखाएको स्थिति भने हामीले पटक-पटक ब्यहोर्नुपरेको छ ।

नेपालका निम्ति इण्डियाको राजदूत रहिसकेका एक कुटनीतिज्ञले केही दिनअघि नेपालको आफ्नै विशिष्ट राष्ट्रिय पहिचान (national identity) नभएको सार्वजनिक घोषणा गरेपछि त्यसले हरेक नेपालीको मन दुखाएको छ । उक्त अभिव्यक्तिलाई हरेक नेपालीले एउटा सम्वेदनशील र गम्भीर चुनौतीका रूपमा लिएका छन् । नेपाल मामिलाका जानकार मानिने पूर्व राजदूत रन्जित रेबाट यो समयमा नेपालको विशिष्ट राष्ट्रिय पहिचानशुन्यताको विषय किन उठाइयो भन्ने प्रश्न हरेक नेपालीको मनमा उत्पन्न भएको छ । उनीबाट भूलवश त्यसप्रकारको अभिव्यक्ति आएको मान्न सकिँदैन, किनभने रे आफै नेपालबारे जानकार रहेको दाबी गर्ने गर्छन् र उनले नेपालमा राजदूतका रूपमा र त्यसअघि नयादिल्लीस्थित विदेश मन्त्रालयको नर्थ डेस्क प्रमुखको जिम्मेवारीमा रहेर कार्य गरेका हुनाले नेपालको इतिहास र नेपालीको मनोविज्ञानबारे उनलाई राम्रै जानकारी रहेको विश्वास गरिन्छ । रेको गैरजिम्मेवार र असम्वेदनशील अभिव्यक्तिपछि उनको नेपालप्रतिको बुझाइ र नियत स्पष्ट गरेको छ ।

भारत र नेपालबीच समानताका पक्ष धेरै छन्, धेरै समानता भएकैले नेपालमा भारतभन्दा भिन्न देखिने मनोविज्ञान गहिरो किसिमले ब्याप्त छ । जनस्तरको ब्यवहारमा समानताले सहजता ल्याएपनि राजनीतिक र कुटनीतिक स्तरमा चाहिँ समानता नै एउटा अप्रकट समस्या बनेको महसूस हुन्छ । तर रन्जितले नेपालको विशिष्ट राष्ट्रिय पहिचानबारे जानकारी नपाउनु या हाम्रो विशिष्टतालाई होच्याउनु उनको आफ्नो समस्या हो । नेपालको राष्ट्रिय विशिष्टताका अनेक पाटा छन्, जुन इण्डियाको भन्दा नितान्त भिन्न र गौरवशाली मानिन्छन् ।

(क) जुन राजा (पृथ्वीनारायण शाह)ले आधुनिक नेपालको एकीकरण गरे, तिनै राजाको वंशले २४० वर्षसम्म निरन्तर शासन गरेको मुलुक नेपाल हो, यो हाम्रो विशिष्ट ऐतिहासिक राष्ट्रिय पहिचानको विषयभित्र पर्दछ । जबकि हालको भारतको एकीकरण समेत विदेशीबाट भएको इतिहासमा उल्लेख छ । आजको भारत धार्मिक आधारमा विभाजित भएर बनेको मुलुक हो, इस्लामधर्मी र हिन्दूहरूका नाममा भूगोल छुट्ट्याएर पहिले दुई र त्यसपछि (बङ्गलादेश छुट्टिएपछि) तीन देश बनेको पीडादायी इतिहास भारतले बोकेको छ । तर नेपाल सबै सांस्कृतिक समुदायको संयुक्त प्रयासमा खडा भएको देश हो, जसको निर्माणमा इस्लामधर्मीहरूको समेत विशिष्ट योगदान छ । अनेकौँ साँस्कृतिक समुदाय मिलेर देश खडा गर्ने मौलिकता नेपाली मात्रले कायम गरेका छन्, यो नै हाम्रो विशिष्ट राष्ट्रियता हो ।

(ख) सबैभन्दा रोचक विशिष्टता उमेरको छ । अनादिकालमा नै नेपाल अस्तित्वमा रहेको तथ्य नेपाल (नइपाल) नाम वेदमा उल्लेख हुनुले गर्दछ । पौराणिक काल छोडेर आधुनिक कालको कुरा गर्दा नेपाल आजको भारत भन्दा एकशय उनासी वर्ष जेठो रहेको छ । आधुनिक र स्वतन्त्र भारत सन् १९४७ मा अस्तित्वमा आएको हो, तर नेपाल त्यसको १७९ वर्षअघि नै सन् १७६८ मा अस्तित्वमा आइसकेको थियो ।

(ग) भारत पटक-पटक विदेशीहरूबाट शासित हुँदै आएको छ । पहिले (सन् १२०६ देखि) मुसलमान राजाहरूले भारतीय भूमिमा कब्जा जमाएर शताब्दी-शताब्दीसम्म शासन गरेका थिए भने पछि (सन् १८५८ देखि) उनान्नब्बे वर्ष (सन् १९४७) सम्म बेलायतको प्रत्यक्ष शासनमा भारत थियो । यद्यपि इष्ट इण्डिया कम्पनीको अधीनस्थ भएर भारत त्यसअघिदेखि नै शासित थियो । तर नेपाल कहिल्यै कसैको उपनिवेश रहेन, यो हाम्रो नेपालको विशिष्ट राष्ट्रिय पहिचान हो, गौरवपूर्ण पहिचानको विषय हो ।

(घ) सनातनी सभ्यताको प्रभावमा दुवै मुलुक रहेको भएपनि हाम्रा मौलिक सांस्कृतिक मान्यताहरूले राष्ट्रिय विशिष्टता कायम गरेका छन् । हामी म्ह पूजा र भाइटीका गर्छौं, भारतमा गरिँदैन । हामी तीज मनाउँछौँ भारतले तीज चिन्दैन । हाम्रा अनेकौँ यस्ता मन्दिर छन् जहाँ भारतले दलित भनेर नामाकरण गरेको समुदायका मानिसलाई हामीले परम्परा देखि नै पुजारी राखेका छौँ । हाम्रो पशुपतिनाथ, स्वयम्भूनाथ, हलेसी, पाथिभरा र मूक्तिनाथ जस्ता अनेक तीर्थस्थल छन् जहाँ सनातनी हिन्दू, बौद्ध र किराँतहरू मिलेर पूजाआजा गर्ने गर्दछन्, यो नेपाली सांस्कृतिक विशिष्टता हो । हामी जीवित देवी कुमारीको पूजा गर्छौं, भारतमा ठ्याक्कै यस्तो परम्परा रहेको बुझिँदैन । हाम्रो संस्कृति र संस्कारमा छोरीलाई गोडा ढोगिन्छ, भारतीय संस्कारमा छोरीलाई ढोगाइन्छ । यो विशिष्ट संस्कृतिले हाम्रो बेग्लै राष्ट्रिय पहिचान स्पष्ट गर्दछ ।

(ङ) नेपाल गौतम बुद्धको जन्मभूमि हो, विश्वभरिका बौद्धमार्गीहरूको आस्थाको पवित्र भूमि नेपाल हो र यो नै हाम्रो विशिष्ट राष्ट्रिय पहिचान बनेको छ । त्यसैगरी हाम्रै भूमिमा किराँत धर्मको पनि उदय भएको छ र यो धर्मको मूल ग्रन्थ मुन्धुममाथि नेपालीबाहेक अरु कसैले स्वामित्व दावी गर्न सक्दैनन् ।

(च) विश्वको सर्वोच्च शिखर सगरमाथा अर्थात माउण्ट एभरेष्ट नेपालको गौरवका रूपमा रहेको छ । यसैबाट हामीले संसारमा हाम्रो राष्ट्रको विशिष्ट पहिचान कायम गरेका छौँ ।

(छ) पृथ्वीका दश सर्वोच्च शिखरमध्ये आठ्वटा नेपालमा पर्छ, यो हाम्रो राष्ट्रिय पहिचानको विषय हो । विश्वका दशमध्ये आठ उच्च शिखर कुन देशमा पर्छ भन्ने प्रश्नको जवाफ नेपाल पर्नु भनेको हाम्रो विशिष्ट राष्ट्रिय पहिचान होइन र ?

(ज) हामीसँग हाम्रै देशमा उद्गम भएका करिव सवाशय भाषा छन् र त्यसमध्येको एक नेपाली भाषालाई सरकारी कामकाज र परस्पर सम्पर्कको मूल भाषा बनाएका छौँ । नेपाली भाषाको उत्पत्ति कर्णालीको सिन्जा उपत्यकामा भएको तथ्यले हामीलाई गौरवान्वित तुल्याएको छ । र, भारतमा समेत करोडौँ मानिस नेपाली भाषा बोल्दछन् । भुटानका सबै बासिन्दाले बुझ्ने भनेको नेपाली भाषा नै हो । भारतले अनुसूचिमा राखेर सरकारी कामकाजमा प्रयोग हुसक्ने भाषा नेपालीलाई बनाएको छ, यो सबै नेपालीका निम्ति प्रशन्नताको विषय हो । नेपाली भाषा हाम्रो विशिष्ट राष्ट्रिय पहिचानको भाषा भएको जानकारी नराख्ने मानिस नेपालमै कुनैबेला राजदूत थिए भन्न पनि अप्ठ्यारो हुने ! नेपाली भाषा नेपालीहरूको आप्रवासनसँगै संसारब्यापी बन्न पुगेको छ ।

(झ) नेपाल संसारका सबैभन्दा पुरानो राष्ट्रिय सेना भएको मुलुकको कोटीमा पर्दछ । देशको एकीकरण हुनुभन्दा दशकौँअघि नै नेपाली सेनाको गठन भएको थियो । त्यसैले देशभन्दा जेठो सेना भएको मुलुकको रूपमा पनि नेपाललाई चिन्न सकिन्छ । विश्वमा बहादुरीका कारण गोर्खाली सेनाको भिन्नै परिचय बनेको छ र यो पहिचान पनि नेपालीले नै बनाएका हुन् ।

(ञ) विक्रम सम्वत : विक्रम सम्वतको उद्गम या थालनीलाई लिएर भिन्न किसिमका मतहरू प्रकट भएका भएपनि नेपालले विक्रम सम्वतलाई आधिकारिकता दिएको छ । नेपाल सम्वत नेपालको आफ्नै मौलिक सम्वत भएकोले यसले समेत सरकारी मान्यता पाएको छ । विक्रम सम्वतको सम्बन्ध सनातनी सभ्यतासँग सम्बन्धित भएकोले नेपालले यो सम्वतलाई महत्व दिएको बुझिन्छ । नेपालमा इसाई परम्पराको संवतसर नचल्नु र विक्रम सम्वतलाई नै अवलम्बन गरिनुले नेपाल कहिल्यै उपनिवेश नरहेको स्पष्ट गरेको छ । ज्ञातव्य छ, भारतमा इसाई मान्यताअनुरुपको संवतसर नै प्रचलनमा रहेको छ । त्यसैले हाम्रो राष्ट्रिय पहिचान सम्वतसरले पनि कायम गरेको बुझ्न सकिन्छ ।

एकलाख सतचालीस हजार वर्ग किलोमीटर क्षेत्रफलभित्र बाह्र राष्ट्रिय आरक्षसहित बीस प्रकृति संरक्षण क्षेत्र भएको मुलुक नेपाल हो । त्यस्तै दर्जनौँ ताल तलैया सहित ६००० (६ हजार) भन्दा बढी नदी तथा खोला भएको जलश्रोतको धनी देश नेपाल हो । संयुक्त राष्ट्र सङ्घले काठमाडौं उपत्यका, लुम्बिनी, चितवन राष्ट्रिय आरक्षण निकुन्ज र सगरमाथा आरक्षण क्षेत्रलाई विश्व सम्पदाको रूपमा सूचिकृत गरेको छ । काठमाडौं उपत्यकामा मात्र सात विश्व सम्पदा सूचीमा परेका स्थान छन् । यसलाई पनि नेपालको विशिष्ट पहिचानकै रूपमा लिने गरिएको छ । राष्ट्रिय पहिचानका यति धेरै विशिष्टता प्रष्ट हुँदाहुँदै पनि रन्जित रेले नेपालको बेग्लै राष्ट्रिय पहिचान किन देखेनन् ? किन उनले नेपाललाई यति धेरै अपमान र उपेक्षा गर्ने धृष्टता गरे भन्ने विषयलाई अलिक गहिराइमा बुझ्नुपर्ने देखिन्छ । यी तिनै रन्जित हुन् जसले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली नेताहरूबीच असमझदारी र अविश्वास बढाउने कपटपूर्ण क्रियाकलाप गर्दथे ।

संविधान (२०७२) निर्माणताक नेपालका लागि भारतको राजदूत रहेका रन्जितले काङ्ग्रेस (आई)को सत्ताद्वारा प्रतिपादित नीति, कार्यक्रम र निर्देशनअनुरूप काम गर्ने गर्दथे । त्यसबेला भारतको नयाँ संस्थापन अर्थात् भाजपाको सरकार नेपालको संविधान नेपालका सबै पक्षको भावनालाई समेटेर बन्नुपर्छ भन्ने पक्षमा रहेको बुझिन्थ्यो । र, भारतबाट सोही अनुरूप आग्रह र निर्देशन (सम्बन्धित पक्षलाई) हुने गरेको जानकारी पाइन्थ्यो । तर रन्जित भारत सरकारको आधिकारिक सन्देश सुनाउने औपचारिकता पूरा गर्दै ‘जति सकिन्छ छिटो’ संविधान जारी गर्न नेपाली नेताहरूलाई उक्साउने काम गर्दथे । भारतको नयाँ संस्थापन नेपाललाई हिन्दूराष्ट्रकै रूपमा हेर्न चाहन्थ्यो भन्ने बुझिन्छ र उसका प्रयासहरू त्यसतर्फ लक्षित थिए । त्यसबेला नेपालका एक जिम्मेवार शीर्ष नेताले आफू संविधानमा हिन्दूराष्ट्रको पहिचान राख्न तयार भएको स्पष्ट गर्दै भारतले पनि नेपाललाई सङ्घीयतामा लैजाने कुराबाट पछि हट्नुपर्ने शर्त नरेन्द्र मोदीसम्म पुऱ्याइदिन आग्रह गरेका थिए । तर रन्जितले नेपाली नेताको त्यस्तो आग्रहलाई मोदीसम्म पुऱ्याउने कार्य गरेनन्, बरू उनले भारतीय संस्थापन समक्ष नेपाली नेताहरू भारतीय संस्थापनलाई सुन्ने मानसिकतामा नरहेको सन्देश दिने र नेपाली नेतालाई चाहिँ ‘नरेन्द्र मोदीहरूको सरकार धेरै अगाडि जान नसक्ने भएकोले उसका कुरामा ध्यान नदिन’ बारम्बार आग्रह गरिरहेका हुन्थे ।

दुईतिर यसरी खेलेर भारतका प्रधानमन्त्री र नेपाली राजनीतिक नेतृत्वबीचको दुरी बढाउने षडयन्त्रमा रन्जितको बुद्धि र समय प्रयोग भइरहेको हुन्थ्यो । रन्जितको क्रियाकलापले उनी नेपालको हितैषी नरहेको मात्र स्पष्ट गरिरहेको नभइ उनी नरेन्द्र मोदीको पनि हितैषी नरहेको बुझ्न सकिन्थ्यो । पछिल्लो समयमा रन्जितका अभिव्यक्तिले उनी आफ्नै जीवनकालमा नेपालको अस्तित्व नामेट तुल्याउन अग्रसर रहेको दर्शाउँछ । यस्तै धमिराहरूका कारण दुई मुलुकबीच कहिलेकाहीँ असमझदारी प्रकट हुने गरेको यथार्थलाई आत्मसात गर्दै दुवै देश यसप्रकारका कन्स्पिरेसी क्रियटरहरूबाट जोगिनु वान्छनीय हुनेछ, जय मातृभूमि !