चियाको कप हल्लाएर ‘तुफान’ ल्याउने प्रयत्न !

चियाको कप हल्लाएर ‘तुफान’ ल्याउने प्रयत्न !


‘पूर्वराजाको स्वागत’ र चैत १५ गतेको ‘तीनकुने लुटपाट’बाट हौसिएका रास्वपाका पूर्व सभापति रवि लामिछाने २३ गते बिहानदेखि ‘जनक्रान्तिमा निस्कने’ तयारी गर्दैगर्दा अदालती फैसलाबाट जेल पुगे । कपमा भएको ‘चिया हल्लाएर’ राजनीतिमा ‘तुफान ल्याउन’ खोज्ने उनका ‘भिडियो फुटेज’हरू चौविस घन्टा पनि नटिक्ने खालका रहे । प्रहरीले २२ गते राति पक्राउ गर्नुपूर्व ‘अन्तिम इच्छा’ सोधेको, इच्छा पूरा गर्न नदिएको, पक्राउ पुर्जी नलिई अदालतको आदेश बोकेर आएको जस्ता ‘छिटफुट’ क्लिप्स खिचेर ‘रवि दाइ हाइहाइ’ भन्नेहरूलाई मसला दिएको देखिन्छ । लामिछानेले जुनसुकै गल्ती र अपराध गरेपनि ‘चोखो भगवान्’ देख्ने एउटा अराजक र ‘भेँडा जमात’ पनि रहेको छ । त्यस्तो अराजक, अनपढ र भेँडो प्रवृत्ति भएका जमातलाई रविको पक्षमा ‘गीत गाउन’ र सरकारको विरोध गर्ने ‘चिप मसला’ दिनमात्र भिडियो बनाएर सार्वजनिक गरिएको प्रस्ट हुन्छ ।

प्रहरी प्रशासनले कुनै पनि निर्दाेष मानिसलाई गैरकानुनी र कानुनी विधि पूरा नगरी समात्ने कुरा आउँदैन । पूर्वगृहमन्त्री बालकृष्ण खाण र एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्दा कसैले भिडियो बनाएन । ‘राति नै किन ?’ भनेन । सरकारले फसायो पनि भनेन । यतिका दिन रवि प्रहरी हिरातबाहिर रही सरकारलाई ‘ब्यङ्ग्यात्मक गाली’ गर्दै बसेका थिए । तीनकुने हिंसा, लुटपाट र चोरी जस्तो अपराधमा समेत रविले सरकारलाई उल्टो दोषी करार गर्दै ‘अब ठूलो क्रान्ति’ हुने धम्की नै दिनपनि भ्याए । अराजक र उछृङ्खल भीडको बलमा सरकारविरोधी हर्कत गर्ने र सहकारी ठगीमा भइरहेको अदालती कारवाहीलाई समेत प्रभावित पारेर ‘पानीमाथिको चोखो’ हुने रविको नियत रहेको प्रस्ट देखिन्थ्यो ।

अराजक भीडलाई भड्काउँदै चितवन गएर फेरि ‘रवि दाइ हाइहाइ’ भनाउने उनको चाहना उच्च अदालतकोे फैसलाले ‘पानी–पानी’ बनाएको छ । पूर्वराजाको गोरखा ‘सवारी’मा जस्तै रवि काठमाडौंबाट चैत २३ गते बिहान ७ बजे टोखामा स्वागत खाएर नुवाकोटको छहरे बजारमा ८ बजे ओर्लिइ सरकारविरोधी नारा लगाउँदै त्रिशुली, धादिङ हुँदै अपरान्ह चितवन पुगेर ‘क्रान्तिको थालनी’ गर्ने योजनामा उनी रहेका थिए । उनले आफ्ना ‘भाइ र खल्तीका मिडिया’हरूलाई सामाजिक सञ्जालमार्फत ‘रविलाई स्वागत गर्न भेला हुनु’ भन्ने ‘उर्दी’समेत जारी गरिसकेका थिए । अदालतको फैसलाले ‘उडायो सपना सबै हुरीले’ भनेजस्तो भयो । रविलाई ‘स्वागत गर्न’ भनि नुवाकोटमा गाउँबाट भेला भएका केही मनिस शनिबार बिहान छहरे बजारमा ‘हेरेको हेऱ्यै’ भए ।

उच्च अदालत बुटवलको फैसला आकस्मिक र अप्रत्यासित थिएन । अपत्यारिलो र शंकास्पद पनि रहेन । स्वभाविक र कानुनसम्मत थियो । जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा छोड्ने आदेश दिएपनि एउटै कसुरमा छवि थुनामा नै रहेका थिए । सरकारी अभियोजनमा रहेका लेखापाल र कर्मचारीहरूको अनुसन्धान बाँकी नै थियो । जिल्ला अदालतको धरौटीमा छोड्ने आदेशविरूद्ध सरकारी वकिलको कार्यालय उच्चमा गएको थियो । सहकारी ठगीमा रवि लामिछाने जोडिएका अनेकौँ प्रमाण र तत्थ्य हुँदाहुँदै पनि धरौटीमा छोडिएकोले सहकारीपीडितहरू अर्थात् निवेदकप्रति घोर अन्याय भएको भनि थुनामै राखेर थप अनुसन्धान र पुर्पक्ष गरिपाउँ भन्ने निवेदन भएकालेले अदालती प्रक्रिया, कानुन र विधिको आधारमा रविलाई अदालतले थुनामा नै राखेर कारबाही गर्नु भनेको प्रस्टै छ । यस्तोमा पनि रवि र उनको तर्फबाट ‘चौबिस घन्टा पनि नटिक्ने’ घटिया र सस्तो प्रचारबाजीका लागि साना भिडियो क्लिप निर्माण गरेर चोखो भएको र अदालतको फैसलाबाट जेल जाँदा पनि ‘सरकारले नै फसाएको’ भन्ने पार्नको लागि ‘बेमौसमी खेती’ गर्ने प्रयास भएको देखियो ।

उच्च अदालतको फैसलामा प्रस्टसँग ‘प्राइमा फेसी’ नै रवि लामिछाने दोषी होइनन् भन्ने कुनै पनि आधार र प्रमाण नभएको, ‘गोरखा मिडियाको कर्मचारी भएको र मलाई थाहा नभएको’ भन्ने जस्ता हलुका खालका रविको तर्कमा कुनै पनि आधार र प्रमाण नभएको, उल्टो मिडियाको सञ्चालक, प्रबन्धक र चेकमा हस्ताक्षरकर्ता भएको, ऋण लिएको र चेकमा हस्ताक्षर गरेको, सहकारीको पैसा गैरकानुनी तरिकाले अपचलन गरेको आदि कारणले छविजस्तै रवि पनि दोषी नै हुन् भन्न पुग्ने पर्याप्त प्रमाण र आधार भएकाले पुर्पक्षको लागि धरौटीमा राखेर होइन थुनामा नै राखेर अदालती कारबाही गर्नुपर्ने वान्छनीय देखिएकाले जिल्ला अदालत रुपन्देहीको फैसला उल्टी हुने कुरा फैसलामा बोलिएको प्रस्टै छ । यस्तो आधार, अदालती फैसला र प्रमाण हुँदाहुँदै पनि ‘दिउँसै रात पार्न’ रवि ‘निर्दाेष हुन्, सरकारले उनलाई फसाउन प्रहरी पठाएर जबर्जस्ती समायो’ भन्ने जस्तो ‘हावा, हचुवा र भेँडो प्रवृत्ति’का हर्कत रविका तर्फबाट देखाइएको छ । यस्तो हलुका र आधारहीन कार्यले रवि स्वयम्को ‘हाइट’ झन् गिऱ्यो ।

सहकारीको करोडौँ रकम ‘मिलीभगत’मा ‘झ्वाम’ पार्न रविसमेतको प्रत्यक्ष संलग्नता भएको घामजस्तै छर्लङ्ग भइसक्यो । काठमाडौं, पोखरा, बुटवल, वीरगंज र चितवन समेतका ठूला सहकारीबाट अर्बबढी ठगिएको देखिएको छ । यस्तो हुँदाहुँदै पनि ‘रवि दाइ हाइ-हाइ’ भन्नेहरू, अराजक, भेँडो प्रवृत्तिका र ‘विदेश बसेर नेपालको सरकार एवम् प्रणालीलाई एकोहोरो गाली गर्नेहरू’ मात्र हुन् । तिनलाई ‘मसला’ दिन हतकडी लाग्नुअघि फेरि भ्रम फैलाउन खोजियो ।

सहकारीको रकम ठगी गर्नु यस्तो अपराध हो जसमा कोही पनि बच्नु हुँदैन । अपराधमा संलग्न जो-कोही कारबाहीको दायरामा आउनै पर्दछ । मानिसले मकै पोलेर बेचेको, दुध बेचेर जम्मा गरेको, बाख्रा बेचेको, किराना पसल गरेको, खाइ-नखाइ तलब बचाएको जस्ता आधारभूत तहका जनताका पैसा अपचलन गर्ने अधिकार कसैलाई छैन । काङ्ग्रेस, कम्युनिस्ट, कुनै ‘वादी’ वा पार्टी वा ‘नेता, मन्त्री, गृहमन्त्री, ‘सभापति’ जो-कोहीलाई अपराध गर्ने छुट छैन । अपराधमा उन्मुक्ति हुन सक्दैन । एमालेका पूर्वसांसद इच्छाराज तामाङ, के.बी. उप्रेती, काङ्ग्रेसका सुरेन्द्र भण्डारी लगायत अनेकौँ ब्यक्ति जेलमा छन् । अरु पनि दोषी भए, प्रक्रिया र कानुनले अपराधमा संलग्नता भेटिए जेल जाक्नु पर्दछ, कुनै छुट दिनु हुँदैन । यस्तोमा रवि लामिछानेलाई चाहिँ दोषी देखिँदादेखिँदै किन उन्मुक्ति दिनुपर्ने हो ? त्यो सम्भव हुने कुरा होइन ।

आफू अपराधमा प्रत्यक्ष जोडिने, ससुरालीका नाममा समेत ८० लाखको चेक काटेर अपचलन गर्ने, सहकारीको पैसामा करोडौँको गाडी किन्ने, ‘लुट’को पैसामा भोज गर्ने, उडाउने, अपचन गरी कानुन उल्लङ्घन गर्ने अनि उल्टै आफू ‘पानीमाथिको ओभानो’ बन्न ‘जनक्रान्ति’, जनसभा, अभियान भन्दै उफ्रने ! अराजक भीडको सपना देखेर ढाल बनाउन खोज्ने ! अदालतले धरौटीमा राख्दाराख्दै पनि लाज पचाएर पार्टीको सभापतिमा बस्ने ! सांसद हुन पाउँ भन्दै सभामुखलाई निवेदन दिन जाने ! मिडियामा ठूला र चर्का कुरा गर्ने ! जनक्रान्ति भन्दै चितवनमा ‘भीड’ जम्मा गर्ने ! सरकारलाई आधारहीन आरोप लगाउँदै उल्टै अपराधबाट बच्नको लागि ‘क्रान्ति’ भन्दै पूर्वराजाको शैलीमा ठाउँ-ठाउँमा ‘माला लगाएर’ अराजक भीडबाट ‘रविदाइ हाइ-हाइ’ भन्ने नारा लगाइ कानुनी राज्यको उपहास गरेर ‘खरानी धसेर चोखो जोगी बन्ने प्रयास’ गर्ने रवि नेपाली राजनीतिमा देखिएका ‘कालोपोके’ रहेछन् भन्ने पुष्टि भयो । यस्ता प्रवृत्तिले नेपाली राजनीति र समाजलाई भ्रमित मात्र पार्ने हुन् । ‘चियाको कप’ हल्लाएर ‘तुफान’ ल्याउन सकिन्न भन्ने कुरा भुल्नु हुन्न । निर्दाेष फस्नुहुन्न र कुनै पनि अपराधी तथा दोषी बच्नुहुन्न । सिधा कुरा यही हो । जीबी, छवि, रवि जोसुकै होस्, सजाय हुन्छ-हुन्छ/हुनुपर्दछ ।