आजको युगमा ‘शासक’ टिक्दैन, ‘समाजसुधारक’ मात्र टिक्छ । हामीले कुर्ची भेटेपछि त्यो बिर्सिएका छौँ । भिडले गल्ती गर्न सक्छ । हामीले पनि धेरै पर्खाल र बार भाँचेर आएको हो नि ! त्यो त भिडको स्वभाव नै हो । त्यसलाई सम्हाल्न सक्नु नै महानता हो । लाठीमुङ्ग्री गर्न त किन जनताको शासन चाहियो र ? जसले पनि गर्न सक्छ !
✍ लक्ष्मणप्रसाद बस्याल
२०१९ को जनवरी । पारिवारिक कार्यक्रममा हामी अमेरिका थियौँ । राष्ट्रपति डोनाल्ड ट्रम्प थिए । अमेरिका पुगेपछि जो-कोहीलाई कोहिलाई ह्वाइटहाउस हेर्ने इच्छा हुन्छ । हामी पनि सपरिवार त्यता लाग्यौँ । नामअनुसार सम्पुर्ण सेतो ! सेतो शान्तिको प्रतीक हो । सेतो रङ र अमेरिकी सर्वोच्चताको पाटोमा म अहिले जान चाहन्नँ । मैले गर्न खोजेको कुरा यस्तो छ ।
राजधानीको सेरोफेरो लाएपछि हामी ह्वाइटहाउसको गेटमा फ्यामिली फोटोका लागि पुग्यौँ । गेटमा सुरक्षाको सैनिक मुर्तिवत् खडा थियो । त्यहाँ मानिसहरू आउने-जाने फोटो खिच्ने भइरहेको थियो । अचम्म पर्ने कुरा देखियो । एकजना व्यक्ति विभिन्न नारा लेखिएको फ्लेक्सप्रिन्ट स्ट्याण्ड लगाएर भाषण गरिरहेको थियो । उ राष्ट्रपति ट्रम्पलाई विभिन्न गाली दिइरहेको थियो- उनैको ढोकाअगाडि ! सामान्यतया त्यो तहको गालीका शब्द हामीले विपक्षीलाई पनि प्रयोग गर्दैनौँ, गर्न सक्दैनौँ । त्यहाँ आउने पर्यटक वा त्यहीँका नागरिकले पनि अचम्म मानेर यसो हेर्थे र बाटो लाग्थे । उ नितान्त एक्लो थियो ।
रमाइलो कुरा…! यी सबै कुरा सुनिरहेको, देखिरहेको सन्सारकै शासनको केन्द्रविन्दुको सुरक्षा अधिकारीको कुनै प्रतिक्रिया थिएन । उ मुर्तिवत् थियो । उसको अनुशासन बोल्थ्यो- सबैले आ-आफ्नो कर्तब्य गर्ने हो । जो जति बुद्धिमान छ त्यसले त्यति नै बुद्धिको काम गर्छ । कसैको कर्ममा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन । ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि !’ त्यो त्यहाँ व्यवहारतः लागु थियो । हाम्रो जस्तो कागजमा एउटा व्यवहारमा अर्को थिएन । सायद तिनिहरूको विकासको एउटा राज यो हो कि ?! अनुमान… ।
हाम्रो परिवार मध्येपनि कसैले भाषण गर्ने व्यक्तिलाई बौलाहा भने । कोही अचम्ममा परे । सबैले आ-आफ्नो धारणा बनाए । हामी बाटो लाग्यौँ । घर पुगेपछि पनि ती दुईटा बिम्बले मलाई पछ्याइरहे । एउटा मन भन्थ्यो- किन त्यो आर्मीले त्यो व्यक्तिलाई कारवाही गरेन ? अर्को मन भन्थ्यो- त्यो मान्छे कति हिम्मतिलो । यस्तो ठाउँमा बसेर पनि यसरी कुरा राख्न सक्छ ! अर्को मन भन्थ्यो- यो साँच्चिकै स्वतन्त्रताको सर्वोच्च नमुना हो । खासमा यो के हो ?
प्रजातन्त्रको आदर्श हो- आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको हनन् हुन नदिनु । त्यो साँच्चिकै लागु थियो त्यहाँ । त्यसैले उनिहरु बलिया छन् । बलियो हुन कि सँस्कार चाहिन्छ कि विधिको शासन । सँस्कृति त उनीहरूको त्यति लामो छैन । विधिको शासन नमुनायोग्य रहेछ ।
योगी नरहरीनाथले स्वर्गीय राजा वीरेन्द्रलाई भनेका थिए रे– ‘सरकार झरीमा नरुझ्नका लागि छाता आफैले सम्हाल्नु पर्छ । अर्काको भरमा छोड्दा झरीमा छाता उतिर ढल्कायो भने आफू रुझिन्छ ।’ मार्मिक थियो त्यो कुरा । हामी कतै अरुबाट निर्देशित त छैनौँ ?
अब ह्वाइटहाउसबाट सिधै तीनकुने काठमाण्डु । मार्च २८, २०२५ तदनुसार २०८१/१२/१५ । नेपालको राजनीतिमा एउटा कालो पोतियो । सरकारसँग अनुमति लिएर कुनै पार्टीले विरोधसभा गर्ने भयो । समय पूर्वनिर्धारित थियो । ठाउँ पूर्वनिर्धारित थियो । सुरक्षालाई पूर्वजानकारी थियो । सम्हाल्न नसक्ने सङ्ख्याको जुलुस पनि थिएन । कसैले शासकले गरेका कुरामा विमति जनाउन आइरहेको थियो । जो उसको नैसर्गिक अधिकार थियो । कुनै शास्त्रमा यो वा त्यो लेखिएको भनेर उसलाई वर्जित गर्नु अक्षम्य थियो । तर, त्यहाँ गोली चल्यो । निहत्था व्यक्तिको ज्यान गयो । विडम्बना… ! गणतन्त्रको दुहाई दिएर नथाक्ने हामीहरू जिम्मेवारी लिनु त कता हो कता उल्टै समाज भड्काउने कथा बुनिरहेका छौँ । एक्काईसौँ शताब्दिमा बोल्दा पनि हतकडी लगाएका छौँ ! लाठी चलाएका छौँ ! गोली बर्साएका छौँ !
हिजोको शासकले हामीलाई त्यसै गर्थ्यो । हामीले गोली खान्थ्यौँ । हिजोको शासकको बानी र व्यवहार मन नपरेर उसलाई हटाएको हो । शासनमा पुगेपछि हामी पनि हिजो उसैले गरेका कुरा सिकेको हो ? त्यसो हो भने हाम्रो शासन पनि टिक्दैन । हामी जनताका ‘शासक हैनौँ सहयोगी हौँ’ भनेर आएका हौँ । एक्काइसौं शताब्दिमा शासक रहँदैन, सहयोगी मात्र रहन्छ । चाहे हामी होस् या अरु ।
‘हामी बुद्धु छौँ र बहादुर छौँ’ भनी कसैले भनेको थियो- साँचो हो । अर्को कुरा पनि साँचो हो- हामीले आफ्नोलागि शासन आफै गर्न सक्दैनौँ । शाही शासनले जनताको नैसर्गिक अधिकार कुण्ठित गरेकाले हामीले हाम्रो शासन आफै गर्ने व्यवस्था बनायौँ । हामीलाई राम्रो गर्न कोही बाधक थिएन/छैन । तर, हामीले आफैले शासन शुरु गरेपछि के राम्रा गऱ्यौँ ? कागजमा लेख्ने बाहेक ! हामीमा के कमी छ ? हामी कता चुकिरहेका छौ ? त्यो बहस गर्नु पर्दैन ? योगी नरहरीनाथले स्वर्गीय राजा वीरेन्द्रलाई भनेका थिए रे– ‘सरकार झरीमा नरुझ्नका लागि छाता आफैले सम्हाल्नु पर्छ । अर्काको भरमा छोड्दा झरीमा छाता उतिर ढल्कायो भने आफू रुझिन्छ ।’ मार्मिक थियो त्यो कुरा । हामी कतै अरुबाट निर्देशित त छैनौँ ? भनिन्छ- Money never comes alone, it comes with minds. शङ्का पैदा भइरहेको छ कि हामी पनि पुराना शासकजस्तो हुन खोजेको हो ? आजको युगमा ‘शासक’ टिक्दैन, ‘समाजसुधारक’ मात्र टिक्छ । हामीले कुर्ची भेटेपछि त्यो बिर्सिएका छौँ । भिडले गल्ती गर्न सक्छ । हामीले पनि धेरै पर्खाल र बार भाँचेर आएको हो नि ! त्यो त भिडको स्वभाव नै हो । त्यसलाई सम्हाल्न सक्नु नै महानता हो । लाठीमुङ्ग्री गर्न त किन जनताको शासन चाहियो र ? जसले पनि गर्न सक्छ !
आज म संसारको शासनको केन्द्रबिन्दुको सुरक्षा गर्ने त्यो ‘अमेरिकी सैनिक’, शासनको विरोध गर्ने त्यो ‘स्वतन्त्र नागरिक’ र गणतन्त्र भनेर रातदिन फलाक्दा नथाक्ने तर व्यवहार ‘भुइँ न भाँडोका हामी’ सम्झेर अलपत्र परेको छु ।
प्रतिक्रिया