जवाफदेहिता बिनाको शासनमा लोकतन्त्रको अवस्था

जवाफदेहिता बिनाको शासनमा लोकतन्त्रको अवस्था


नेतृत्वको अविवेकका कारण देश र जनताप्रतिको उत्तरदायित्वमा कमी आउँदा जनविश्वास गुम्छ र लोकतन्त्रको जग कमजोर बन्दै जान्छ । स्वतन्त्रता, समानता, र न्यायमूलक समाजको स्थापनाको परिकल्पना हो लोकतन्त्र, जहाँ राज्य नागरिकका सेवामा समर्पित हुन्छ र सत्ता जनताको आदेशको पालक हुन्छ । तर, हाम्रो त्यो स्थिति छैन । सत्ता जनताको आदेशविपरित एक्लै हिँडीरहेछ । आशाहरु आशङ्कामा रूपान्तरण हुँदैछन् ।

जनताका गुनासा र असन्तुष्टिप्रति देखिने उदासिनता र आन्तरिक सुधारको चाहनालाई विरोधको संज्ञा दिने प्रवृत्तिले लोकतन्त्रको मर्मलाई नै संकटमा पारेको छ । अनि, सवाल उठ्छन्- लोकतन्त्र केवल एउटा चुनावी नारा हो ? या नैतिक दर्शन ? जसले शासकलाई जनताका अगाडि जवाफदेही बनाउँछ !

हामी राजनीतिक रूपमा स्वतन्त्र त भयौँ तर नीति, नैतिकता र जवाफदेहितामा अझै परनिर्भर छौँ । शक्तिमा बसेकाहरूको मनस्थिति र इच्छामा चल्नुपर्ने अवस्था छ जनताको । आज स्थिति यस्तो बन्दैछ, जहाँ लोकतन्त्रको नाममा अधिनायकवाद पलाउँदैछ र जनता निराश हुँदैछन् ।

लोकतन्त्रको आधारका रुपमा रहेका जनताकै आवाज सुन्ने इमानदारिता र फुर्सद हराउँदै गएको छ नेतृत्वमा । जनस्तरको आवाज बेवास्ता हुँदा लोकतन्त्र कमजोर बन्छ भन्ने हेक्का शासकहरुमा पलाउन आवश्यक देखिन्छ ।

बेरोजगारी, महँगी, सेवा प्रवाहको चरम कमजोरी र सुशासनको अभावले गर्दा जनस्तरमा असन्तुष्टि तीव्र छ। तर, दुर्भाग्यवश ती आवाजलाई सम्बोधन गर्नुको सट्टा सत्ताले तिनलाई नकार्ने कार्य गरिरहेको छ। जब जनताका गुनासालाई गम्भीरतापूर्वक लिइँदैन अनि सुधारको आवाजलाई नजरअन्दाज गरिन्छ नि त्यतिबेला जुनसुकै सुन्दर व्यवस्था पनि आलोचित हुन्छ ।

सत्तामा बसेका केही व्यक्तिका गलत क्रियाकलापले गर्दा केवल पार्टी होइन, समग्र लोकतान्त्रिक मूल्य र व्यवस्था नै बदनाम भइरहेको हुन्छ । नेतृत्वले बुझ्नुपर्ने कुरा गुनासो गर्नु विरोध होइन सुधारको लागि आवाज हो । आलोचना पनि विरोध होइन लोकतन्त्रको मर्म जोगाउने प्रयास हो ।

सत्ताले जब जनतालाई चिन्दैन, जनताको आवाज सुन्दैन तब त्यो निराशा सडकमा ओर्लिन्छ। त्यो असन्तुष्टि जब अवसरवादी झुण्डहरुको हात पर्छ तब विभिन्न रङ्ग र ढंगहरु उत्साहित बन्छन् । जो धर्म, पहिचान, भूगोल वा इतिहासको नाममा जनताका असन्तुष्टिहरुलाई भजाउँदै लोकतन्त्रलाई नै भत्काउने खेलमा उद्यत हुन्छन्।

नेतृत्व र सत्ताले यो बुझ्नुपर्छ झुण्डहरु सलाइ बोकेर हिँडिरहेका छन्, कसरी जनताको असन्तुष्टिमा आगो सल्काउने अनि कसरी फेरि अस्थिरता निम्त्याउने भनेर ! यदि नेतृत्व अहिले पनि जनआवाजप्रति उदासीन रहन्छ, अझै विवेकपूर्ण व्यवहार देखाउँदैन भने, प्रतिगामी शक्तिहरूलाई अझै बल पुग्नेछ ।

लोकतन्त्र बहस र आलोचनाको संस्कार हो । प्लेटोले भनेका थिए- ‘जब मूर्खहरू शासनमा पुग्छन् तब जनताले ज्ञान र न्यायको मूल्य बुझ्न थाल्छन्।’ नेपालको परिप्रेक्ष्यमा पनि यो भनाईको विश्लेषण हुन आवश्यक छ ।

जब नेतृत्वले विवेक गुमाउँछ, जनताले विवेकपूर्ण प्रतिक्रिया दिनु अनिवार्य हुन्छ। यो देश र व्यवस्थाप्रतिको उत्तरदायित्व हो । त्यसैले यो समय लोकतान्त्रिक व्यवस्थालाई सही मार्गमा हिँडाउने र विवेक प्रयोग गर्ने उपयुक्त समय हो ।

लोकतन्त्र केवल पाँच वर्षमा एकपटक मत हाल्ने प्रक्रिया मात्र होइन । यो जनताको निरन्तर निगरानी, प्रश्न, सुझाव, र सहमतिको संस्कृति हो । नेतृत्वले आत्मसमीक्षा, अनुशासन कायम गर्ने/ गराउने, भ्रष्टाचार नियन्त्रण गर्ने/गराउने र गलत कार्य गर्नेहरूलाई दण्डित गर्न ढिलाइ गर्नु हुन्न । नीति निर्माण, निर्णय र कार्यान्वयनमा जनतालाई संलग्न गराउन संवादको संस्कृति विकास गरिनुपर्छ ।

सत्ताको गलत प्रयोगले पार्टीमात्र होइन, पूरै लोकतन्त्र गुम्ने खतरा हुन्छ । त्यसैले सत्ता, साझेदार र सबै लोकतान्त्रिक पार्टीहरुका बीच संवाद र संयम पनि आवश्यक हुन्छ ।

जनचेतना र नागरिकको भूमिका सशक्त बनाउन केवल नेतृत्व मात्र होइन, नागरिक पनि सजग, संगठित र विवेकी बन्नुपर्छ । लोकतन्त्र रक्षाको जिम्मा नेतृत्वको भए पनि त्यसको आधार नागरिक नै हुन् ।

लोकतन्त्रको विकल्प फेरि पनि लोकतन्त्र नै हो । विवेक, परिष्कार र संवादको राजनीति कौशल हो । समाजमा असन्तुष्टि छ, निराशा छ तर त्यो असन्तुष्टिलाई चिर्ने अवसर पनि छ।

नेतृत्वले नयाँ शैली र नयाँ पृष्ठबाट नेतृत्व सुरु गरोस् ! जनताका गुनासा सुन्ने, सुधारका पहल थाल्ने, र गलत प्रवृत्तिको अन्त्य गर्ने साहस राखोस् ! यदि नेतृत्व अझै चुप लागिरह्यो, अझै व्यक्तिगत स्वार्थमा रमाइरह्यो, अझै विवेकको राजनीति गर्न सकेन भने जनताको निराशा र समयको धक्काले भविष्यको कठघरामा उभ्याएर यो चीर निद्रा भङ्ग गर्नेछ ।

(लेखक नेपाली कांग्रेस झापा सूचना, संचार तथा प्रचार संयोजक हुन् ।)