आफ्नै कथा, आफ्नै व्यथा !

आफ्नै कथा, आफ्नै व्यथा !


राजनीतिक विषयमा कत्ति कैरन गर्नु ? आज त आफ्नै सन्दर्भ ।

आत्मजीवनी  लेखनबारे जीन जेक्स रुसो/महात्मा गान्धी जत्ति पारदर्शी हुन नसके नि निरपेक्ष रहने प्रयास चैं हुन्छ है ।

बाईस सालमा जन्मेको । म सानु छँदा जँड्याहाहरूको मुख कुकुरले चाटेको देखेर दिगमिग भो । अनि उनीहरुप्रति मेरो धारणामा परिवर्तन आयो । जाँडरक्सी नधोके त आर्थिक/पारिवारिक स्थिति सुध्रिन्थ्यो कि !

स्वतन्त्रताको पक्षपाती, म किन नियन्त्रित लेखनमा बाँधिन्छु र  ? ऊहापोहहरू उछिनाउछिन गर्छन्, कसरी पो नियन्त्रण गर्ने हो र ?

म सात कक्षामा अध्ययनरत छँदाको बात । एक जना कमिस्ट प्रशिक्षकले लाल्टिनलाई बाल्टिन र बाल्टिनलाई हाल्टिन भन्नुपर्छ भनेर सिकाए । पञ्चायतराजमा जति कमिस्टे पत्रिका अहिले कहाँ मिल्छ र ? बेइजिङ रिभ्यु, सोभियत भूमि जस्ता पत्रिकाको ओइरो । स्वदेशी कमिस्टे पत्रपत्रिकाहरूमा ‘भारतीय विस्तारवाद, सामाजिक साम्राज्यवाद, अर्ध औपनिवेशिक, दलाल पुँजीपतिवर्ग, नोकरशाही’ जस्ता शब्दावली भरमार प्रायोगित हुन्थे । म त सपनामा नि यी शब्दावलीको विषयमा बहस गर्थें । मान्छेहरू केशरजङ रायमाझी राजावादी कमिस्ट हो भन्थे । जुगेडी काण्ड, सुखानी काण्ड र पिस्कर काण्ड नसुनिएको होइन । मैले क्यासेटमा संकल्प परिवारका गीतहरू सुनेकै हूँ । खुशीराम पाख्रिनको कतिपय सांगीतिक कार्यक्रमहरूमा श्रोता नै थिएँ म । रगत उमाल्ने क्रान्तिकारी गीतहरू ।

अहिले प्रगतिशील कलाकारहरू कस्तो हविगतमा  जिउनुभएको छ, थाहा हुन सकेन । म त मुछेको माटो जस्तो थिएँ; कमिस्ट प्रशिक्षणले कमिस्ट भएँ । ‘तालुखुइले गिरीजा भारततिर छिरिजा; ने.वि. संघ चोर घोप्टो परी मर’ भनेर फलाकेकै हो । माओत्सेतुङको लालकिताब पढेर जनवादी केन्द्रीयता, पार्टी अनुशासनबारे ज्ञान लिएकै हो । भुट्टोलाई फाँसी दिएको निहुँमा काठमाडौंमा आन्दोलन चर्क्यो, तोडफोड भो । जनमत संग्रह घोषणा भएसि आन्दोलन रोकियो । निर्दल/बहुदलको चुनावमा पहेंलोले जित्यो । चितवनमा  निलोले जितेसि राज्यको निशाना बन्यो । रमाइला दिनहरू माछा झैं चिप्लिए, समाउन सकिएन । सानु छँदा आँखाको नानी, प्रौढ भएसि शत्रुको खेती ।

२०४६ मा बहुदल ल्याइएसि जनताको आर्थिक स्तर उकासिएला; जनता/नेता सभ्य होलान् र प्रजातान्त्रिक प्रणाली स्थापित होला भन्ठानियो, परन्तु केही समयपश्चात काण्डैकाण्डहरूको प्रार्दुभाव ! महाकाली सन्धि पास गरेवापत पाएको कम्पनी रुप्याँले चप्पल पड्कुवाहरूको राजधानी लगायतका शहरहरूमा आलिशान बंगला ठडिए । अरुको त कुरो छाँडौं, कमिस्टहरू त आर्थिक माम्लामा पारदर्शी (पुँजीवादविरोधी) हुन्छन् भन्ठानेको त उनीहरू धनपति भइसकेका । यस घटनापछि कमिस्टप्रति मेरो मोहभंग भो ।

केही समय तटस्थ रहे नि दलीय व्यवस्थामा सधैंभरि तटस्थ रहन नसकिने रहेछ । प्रजातान्त्रिक पार्टी भनेर ने.का.को सदस्यता लिएको मात्र के थिएँ; पजेरो काण्ड, धमिजा काण्ड बाहिरिन थाले । कोशी सम्झौता, गण्डक सम्झौता, टनकपुर सन्धि र रामबाबु बराल घटना पढेसि काङ्ग्रेस भारतपरस्त लाग्या छ । उदार पुँजीवादको नाउँमा बीस भन्दा बेसी उम्दा कलकारखानाहरू कौडीको भाऊमा बेचिए । झन् देउपाको कार्यकलापले मेरो मन विरक्तिदों छ । बोल्न पाएर मात्र के भो र ? मुलुक कङ्गालिंदो ; राष्ट्रिय स्वाधीनता गुमाइँदो । भ्रष्टाचार/काण्डको माम्लामा कुनै दल नि अस्पृश्य छ जस्तो लाग्दैन । सफा राजनीति भैदिए त देशले फड्को मार्थ्यो होला नि । जनता चैं ‘राम्रो हुन्छ कि !’को आशमा दलहरू फेर्दा छन् तर दल चैं गद्दार/हृदय परिवर्तनको ट्याग भिराउँदो ! कृष्णप्रसाद/गणेशमानले त काङ्ग्रेस त्याग्नुपरो भनेसि प्रजातान्त्रिक दल भने नि कति अप्रजातान्त्रिक रहेछ भन्ने कुरो बुझ्नुपरो ।

असल मित्र नभेटुञ्जेल एक्लै हिँडे नि फरक पर्दैन । अर्काको दिमागले चल्ने मनुवाहरू देख्दा ताजुप लाग्छ । सोच, सिद्धान्त र विश्लेषण त आफ्नो हो नि । मूर्ख मित्र भन्दा विद्वान शत्रुसित वैचारिक बहस गर्न सहज हुन्छ । शकुनीले Hit the iron when it is hot  भने झैं बखत बखतमा दुराग्रहसहित कुतर्क गर्दो छ । दलहरूले दिमाग गिजोलेको मनुष्यहरू उदेकलाग्दा । अल्पज्ञ बुझ पचाउँदो, डिग्रीधारी भएर के हुँदो ? विज्ञता शून्य, एक्लो मनुवा पाइलट, डाक्टर , व्यापारी,  नेता, फौबन्जार , शिक्षक , अभियन्ता, पटवारी, मुन्सी , सामन्त, हुक्के, बैठके इत्यादिको कृत्रिम अभिनय गर्दो । पूर्वाग्रही दुराग्रही हुन्छ नै । मूर्खको समाजमा विद्वान एक्लिदों ; दुर्जनको हूलमा सज्जन तिरष्कृदों । आफ्नो दोष अर्कोलाई थोपर्ने, नैतिकताको आधारमा राजिनामा नदिने , ङिच्चेर पदमा लिसो झैं टाँस्सिने ।  लोकमार्गद्वारा राजमार्ग विस्थापित  भो परन्तु  लोकस्वद्वारा राजस्व विस्थापित भएन । नठोसि आगो त बल्दैन भने नतेहऱ्याइ/नचौहऱ्याइ मान्छेहरू कसरी अर्चपिन्छन् र ? बाउसे सकियो । आजलाई मैजारो । अस्तु !