कुन ‘तन्त्र’द्वारा निर्देशित छ आज देश ?

कुन ‘तन्त्र’द्वारा निर्देशित छ आज देश ?


नेपाली जनमत मूलतः दुई ध्रुवमा विभक्त भइरहेको मौजूदा परिस्थितिमा बहुसंख्यक नागरिक जीवन निर्वाहमै सीमित भइरहेको यथार्थलाई हेरेर नढाँटी भन्नुपर्दा, यो नेपाली इतिहासमा उदित अर्काे अक्करिलो सङ्क्रमणकाल हो भन्नैपर्ने हुन्छ । वि.सं. २०४७ देखि यताका घटनाक्रमहरूले कहिले ‘प्रजातन्त्र’ र कहिले ‘लोकतन्त्र’ भन्दै आए पनि २०७२ साल असोज ३ गते घोषित संविधानले नेपालको राष्ट्रिय शासन-व्यवस्था ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ निर्धारित गरेको हो । तर, शासकीय व्यवहार वा अभ्यासपटमा यो परिवर्तित कालखण्डका कुनै अवस्थामा पनि शासकीय स्वरूप प्रजातन्त्र-लोकतन्त्र र आजको संघीय लोकतान्त्रिक गणतन्त्र अनुकुल हुन सकेको अनुभूति ‘राजनीतिक छक्का-पञ्जामा नफसेका’ भूइँनेपालीमा समेत छैन !

यहाँ यी तीनै कालखण्डमा पहिला ‘पार्टीतन्त्र’ र क्रमशः ‘नेतातन्त्र’ नै पूर्ण-सम्पूर्ण रूपमा हाबी हुँदै आयो । अरू समय परस्पर पोषले उन्मत्त साँढे झैं जुधेर नागरिकलाई लठ्याउने र ‘हाम’ गर्ने तौजी मिलेका खण्डमा भ्रष्टाचार, बेथिति, कमिशनखोरीमा चोचोमोचो मिलाएर भाग बस्ने ‘निर्वाचित तानाशाह’ (?) हरू नै उपल्ला नेता जो भइखाइरहेका छन् नै ! यहाँ न प्रजातन्त्रले आफ्नो धर्म निर्वाह गर्न पायो न त लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रले नै । यी सबैखाले व्यवस्थालाई तिनकै सारथिमा समढन्निएका मुखियाहरूको आलोपालो प्रवञ्चनाको दलनले संत्रस्त भई विधान-संविधानका पन्नामा, तिनै मुखिया-डफ्फेदारका, वकवेदान्त सुन्न बाध्य हुँदै आए । प्रजातन्त्रपूर्वका सारा वेदान्त प्रजातन्त्रोत्तर न पार्टीमा रह्यो न त शासनको अभ्यासमै !

अहिलेको विश्वव्यापी परिस्थिति वा भू-राजनीति असहज नभएको अवस्था भएको भए जनमनमा असन्तोष छिप्पिएको विष्फोटनबाट उत्पन्न हुरीले आँधी बनेर देशलाई कोपरिरहेका-चिथरिरहेका सारा विडम्बनाका सूत्रधारहरूलाई उडाइसकेका हुन्थे क्यार ! र, कुनै अरू ‘तन्त्र’ (जस्तैः ‘राजातन्त्र ?’ आदि)-ले अराजनीतिक र लोकतन्त्रको शाख भताभुङ्ग पार्ने भालुभुत्ते-अडबांगेहरूका सहारामा बेशरम गतिविधिलाई नै उकास्ने अवसर पाउँथे । त्यसो त, त्यस्तो विश्व-परिस्थिति थियो भने सत्ताधारीको मानु खाएर विरोधी समूहमा ‘घुसपैठिया गरिखाइरहेका’ लठैतहरूको ‘मौसमी जागिर’ नै असुरक्षित हुन्थ्यो होला ! देशले अघोषित रूपमा यस्तो जागिरको पनि व्यवस्था मिलाएको हुँदोरहेछ भन्ने अहिले मात्र ‘देखी-बुझेको’ कहाँ हो र !

आज पूर्वराजालाई प्रतीकको रूपमा अघि सारेर सडकहरूमा जुन धुमधाम मच्चाइँदैछ र जनसहभागिताको जुन रूप देखिँदो छ- यो राजतन्त्रका प्रतिको आस्थाको प्रकटीकरण एकदमै थोर मात्र हो र अत्यधिक चाहिँ लूटले तन्नम बनेको देशका प्रतिको यथायोग्य क्षमताबमोजिमको जानकारी र कष्टकर जीवन-दैनिकी निर्वहनबाट सिर्जित निराशाकृत आक्रोश हो । अथवा, राज्यसत्तामा आजीवन टाँसिइरहने चरम स्वार्थी, ‘लोकतन्त्र’ शब्दकै विपर्याय र उदरम्भी मनोभावद्वारा निर्देशित तथा स्वार्थसिद्धिका लागि शक्तिमा हावादारी वेदान्त बकेर टिकिरहने अम्मलका दुर्व्यसनीहरूका प्रतिको आक्रोश बढ्ता हो । यो कुरो सरकारमा रहेको तथा ‘सत्ताका हकमा हामी नै अपरिवर्तनीय हौं’ भन्ठान्ने पार्टीहरू मिलेर अस्ति १५ गते कसलाई देखाउन र तर्साउन ‘जवाफी प्रदर्शन’ गरेका हुन् त ?

उपर्युक्त विषयलाई विश्वका लोकतान्त्रिक समाजले कसरी मूल्याङ्कन गर्ला भन्ने लज्जास्पद भावधाराले बौद्धिक कित्ताका नेपाली र नेपालका प्रति स्नेही मित्रराष्ट्रलाई कसो बेचैन तुल्याएको नहोला ! र, भोलि कथंकदाचित आजका सत्ताधारक र ‘पालो पर्खेका’-हरूलाई समयको सुनामीले उछिट्याएर किनारा लगायो भने यस्तै असरल्ल स्थिति हेर्दै बस्ने त होलान् नि ! अतः यी सबै आजका अलच्छिना ‘राष्ट्रव्यापी ऊहापोह’ हेरिरहँदा यो कलमलाई अथाह अप्ठ्यारो अनुभव भएको छ र सरकार लगायत सत्ताका दाउबाजहरू विरुद्धको विद्रोहले झन ऊर्जा पाइरहेका विश्लेषण गरिरहन मन-मस्तिष्क फतक्क थाकेको अनुभूत हुन्छ !

नेपालको गरीबी बन्धक राखेर विदेशी सहयोग हसुर्नेहरूका लागि अमेरिकी सहयोग नियोग (यूएएड)-को सहयोग रोकिएपछि सो चिथर्न नपाएपछि खरायोको जस्तै दाँत देखाउने बाध्यताको विकल्प छैन होला र नै अनेक योजनाका कुरा उठाएर नागरिकलाई ‘वीरबलको खिचडी’-मा अल्मल्याउन थालेका हुनन् । त्यसै त यो गरीब देशको ढाडमाथि २७ खर्ब रुपैयाँ त तिर्नुपर्ने ऋण पुगिसकेको छ । हालको राजश्व आम्दानीले देशको चालू खर्च धान्न मुश्किल हुने लालित्य त अर्थमन्त्रीले नै गाउन थालेका छन् ।

देशको झन्नै एक-तृतीयांश पाखुरे नागरिकले बाध्यतावश विदेशी भूमिमा पिसुल्टिएर दिन गुजार्दै देशलाई उपलब्ध गराइरहेका रिमिट्यान्स नै देशको आर्थिक आँत बन्न गइरहेको दयनीय स्थिति बन्दैछ । शासकमा पालो फेरिरहेका पार्टीका मुखियाहरू भने अढाई-तीन करोडका घडी, पैंतालीस-पचास लाखको चश्मा, डेढ-दुई लाखका पाउपोसले सजिएर सुरक्षा दस्ताले सम्मानित हुँदै सडकमा बग्रेल्ती ‘आम जन-वितृष्णा’-लाई, राजदरबारिया पुरोहित-पुत्र रघुजी पन्तजस्ता, ‘आँखा दुरुस्त देख्ने’ स्वार्थान्धाहरूलाई अघि सारेर गौंडा-गौंडामा जिस्क्याउँदै हिँडिरहेका छन् र सुशासनको मारुनी बनिरहेका छन् । छँदाखाँदाको पुरुष साज-सज्जाले चिटिक्क परेकी स्त्री बन्नु नै मारुनी बन्नु होइन र ? भलै यथार्थ भीरबाट खँदारियोस् न !…

अहिले दुई ध्रुवीय कित्ताका ‘पाखुरा सुर्कासुर्की’ चलखेलमा नारिइरहेका ‘गणतन्त्रवादी’ र ‘राजातन्त्रवादी’-को उछिनपाछिन् वस्तुतः भूइँनागरिकले बुझिरहेका छैनन् र उनीहरूको यो सिक्सिको लाग्ने मामलामा उत्ति चासो राख्ने ढङ्ग समेत नागरिकको त्यो तप्कासँग छैन । शायद संसारका विकसित राष्ट्रहरूमा समेत, कहीँ पनि, भूइँ नागरिकको हैसियत यस्तोभन्दा भिन्न नहोला । वस्तुतः सरकारी र ‘सरकारी बन्ने’ दौडधूपमा रहेका पार्टीहरूले यही नागरिक अनभिज्ञतामाथि टेकेर आ-आफ्ना गतिविधि टिकाइरहेका हुनन् । तर, नागरिक तप्का पनि अब चिच्याउन उद्यत देखिँदो छ ।

भ्रष्टाचार अहिले देशमा सर्वत्र ‘अघोषित तर अनिवार्य कानून’-कै रूपमा पूर्ण उचाइमा उभिएको मानिन्छ । यसले नै आम नागरिक जीवनलाई र अन्ततः देशैलाई रुग्ण बनाइरहेको छ । अहिले प्रथम र सर्वाेपरि माग यही पापी भ्रष्टाचारको समूल अवरोपण नै हो । तर, यसको जरो देशको स्थायी सरकार मानिने कर्मचारीतन्त्रको मनप्राण-स्पन्दनसम्म फैलिइसकेको छ । गणतन्त्रको अभ्यासक्रममा आएको पार्टीतन्त्र र नेतातन्त्रको भजन-कीर्तनरूपी सोपान नटेकी सो तन्त्रमा रमाएर प्रवेश पाउने साह्रै कम मात्र होलान्- तिनमा पनि अधिक-अधिकांश कुलमान घिसिङको दशामा घँचेटिएका होलान् । फेरि तिनै भ्रष्टाचारीले रोकडको मेलो मिलाइदिएर राज्यका मुखिया-कार्बारीहरूलाई नवाबी जीवन दिइरहेका खुल्ला-सत्य पनि छताछुल्लै छ- चाहे संविधानतः ‘राज्यका मूल मुखिया’-ले सदाचारी र जनमुखी अभ्रष्ट सुशासनको गायत्री जतिसुकै जपुन् ! अतः भनेर वा गनेर साध्य के-के र कता-कता छ र कैरन बखान्नु ! त्यसैले आजलाई, बस्… यत्ति नै !