दैलोमा आइपुगेको नयाँ वर्षमा कसले कसलाई के भनेर शुभकामना दिनु र लिनु ? तथापि, आशावादी हुनु हामी नेपालीको सभ्यता हो, संस्कार हो । आशाको त्यही त्यान्द्रो समात्दै तमाम विवेकी, राष्ट्रप्रेमी, सार्वभौम र अखण्ड नेपालका हिमायती एवम् स्वाभिमानी सन्ततिहरूको मनोकांक्षा अबको आगतले पूर्ण गरोस्- यही समवेत् कामना गरौं ।
✍ राजबाबु शंकर
आज एउटा अर्को वर्षान्त दिन । भोलिदेखि विक्रमाव्द २०८२ शुरु । अर्थात्, हाम्रो देशको राजकीय सम्बत् – नयाँ विक्रम सम्बत्को पहिलो दिन । चलन अनुसार, एकापसमा नवागत वर्षको उपलक्ष्यमा शुभकामना दिने-लिने दिन । एकापसमा व्यक्तिगत तथा पारिवारिक सुख, शान्ति र उन्नतिको कामना गर्न संयोग पर्ने दिन । हाम्रो मुलुक र हामी मुलुकीको फलिफाप होस् भनी प्रार्थना गर्ने दिन ।
सारा नेपालीले हरेक वर्षको पहिलो दिन शुभकामनाहरू दिइरहेका छौं, लिइरहेका छौं । तर, शुभकामनाहरू आजसम्म सार्थक हुनै सकेका छैनन् । यत्तिका वर्षहरूका करौडौं नेपालीका कामना/प्रार्थना खेर गइरहेका छन् । किनभने, यो मुलुकमा न शान्ति-सुव्यवस्था कायम हुन सकेको छ, न त जनताले सुख, शान्ति, समृद्धि पाएका छन् ! जहिल्यै देश सुशासनका लागि काकाकुल छ । त्यसैले शुभकामनाका शब्दहरू खेर गए, शुभकामनाप्रतिको भरोसा पनि मर्दै गयो ।
वर्षहरू फेरिएभन्दा रफ्तारसँग सरकारहरू फेरिए, राजनीतिक तन्त्रहरू र संविधानहरू पनि फेरिए । तर, शुभकामनाले कहिल्यै मूर्तरूप लिने छाँट नै देखाएको छैन । बरू शुभकामनासँग गाँसिएका सुख, शान्ति, अमनचयन, उन्नति, प्रगति, समृद्धि शब्दहरूकै हुर्मत काडिएको अवस्था बहाल छ ! कुनै पनि वर्षहरूमा अकर्मण्य नेताहरूको नियत (नितान्त स्वार्थी सोच) र जनताको नियति (दुरावस्था) फेरिन सकेन, नागरिकको भविष्यमाथि तुषारापात हुन छोडेन ! जनआकांक्षा लत्याउने शासकहरूका अघि हाम्रा शुभकामनाहरू ‘खोलाका गीत’ बनिरहेका छन्, आजसम्मै !
सरकारहरू जनताप्रति जवाफदेही भएनन् । जहिल्यैसुकैको संसद् सरकारको लाचार छायाँ बनिरह्यो । एकल बहुमत होस् वा कृत्रिम बहुमतको आडमा भए पनि कथित ठूला दल आबद्ध जनप्रतिनिधिहरू (दलभित्रकै पनि केही र एकाध स्वतन्त्र इमानी-जमानी सांसद बाहेक) ह्वीप मान्ने कारिन्दा वा कमैयाभन्दा माथिको हैसियतमा रहेनन् । संसद् देश हितकारी र जनपक्षीय निर्णयस्थल नभएर सत्ताको तावेदारी गर्ने हुलले हल्ला मच्चाउने थलो बन्यो, बनिरहेको छ । नियमित अधिवेशनमा विधेयक पेश गर्नुभन्दा चोर बाटोबाट अध्यादेश ल्याएर मनमौजी निर्णय गर्ने स्थल बनाइएको छ- संसद्लाई ! स्वस्थ आलोचक तथा विरोधीहरूको राजनीतिक र सामाजिक जीवन सफाया गर्ने शासकहरूले आफ्ना कोटरीका अन्धसमर्थकहरूलाई मात्रै काखा च्याप्ने गरिरहेकै छन् ।
व्यवस्था आफैमा खराब हुँदैन, खराबचाहिं नेतागण र सत्तामा पुगेकाहरू हुन्छन्, भइआएका छन्- विगतमा पञ्चायतदेखि प्रजातन्त्र र गणतन्त्रकालसम्मै । त्यसैले, अब यसरी चल्दैन; सरकारी ज्यादती अति भयो, कुशासनीहरूलाई पाखा लाउनै पर्छ भनेर जनता जागिसकेका छन् । त्यो जनजागरणले सडकमा अकल्पनीय रूप धारण गरिरहेको पनि छ । सदनमा पनि जनपक्षीय सांसदहरूले बारम्बार आवाज उठाइरहेका छन् । तर, आजपर्यन्त सच्चिने र सुध्रिने छाँट नै छैन । आ-आफ्ना कमजोरी र गल्तीहरूको दण्ड दिन जनता उतारू भइरहेका छन् भन्ने पाठ दलका नेतागणले सिक्नै चाहिरहेका छैनन् ! यसरी कतिञ्जेल थुनिन्छ- जनताको आवाज ? अवस्था त झन्-झन् भयप्रद र संगीन बन्दै जाँदो छ ।
निश्चय पनि अब यो देशमा सुशासनका सूत्रधार हुन नसकेका नेताहरूले आत्ममन्थन र स्वसमीक्षा गर्नै पनि भएको छ । बारम्बारको राजनीतिक अराजकता एवम् प्रशासनिक अव्यवस्थाले जनतामा विकसित अतुल्य घृणाको तारो आफूहरू भइसकेको नेता र शासक/प्रशासकहरूले बुझ्न ढिलाइ गर्नु तिनका हकमा आत्मघाती सावित हुने अब पक्का छ ।
यी सब निराशा, असन्तुष्टि, चिड्चिडाहट, अन्योल, आक्रोश र दुरुह वर्तमानका बीच भविष्यप्रति आशावादी हुने ठाउँ कहाँ छ ? अनि, दैलोमा आइपुगेको नयाँ वर्षमा कसले कसलाई के भनेर शुभकामना दिनु र लिनु ? तथापि, आशावादी हुनु हामी नेपालीको सभ्यता हो, संस्कार हो । आशाको त्यही त्यान्द्रो समात्दै तमाम विवेकी, राष्ट्रप्रेमी, सार्वभौम र अखण्ड नेपालका हिमायती एवम् स्वाभिमानी सन्ततिहरूको मनोकांक्षा अबको आगतले पूर्ण गरोस्- यही समवेत् कामना गरौं । जय मातृभूमि !! जय नेपाली !!!
प्रतिक्रिया