प्रधानमन्त्रीज्यु, जनताले प्रधानमन्त्री केपी ओलीकै योजनाको कारणले व्यक्तिको हत्या भएको भन्ने आरोप लगाइरहेकाछन्, यो आरोपलाई असत्य सावित गर्नुहोस् । हैन भने इतिहासले तपाईंहरू सबैलाई कुनै दिन न्यायको कठघरामा उभ्याउने नै छ ।
✍ सागर सुवेदी

श्री ५ को मौनता, शालीनतामा उहाँको शक्ति रहेछ । प्रजातन्त्र दिवसको अवसरमा श्री ५ बोल्नुभएको केवल ७ मिनेट हो । भनिन्छ- जंगलमा सिंह एकपटक गर्जियो भने टाढा-टाढाका स्यालहरू समुहमा बसेर कराउन त सक्छन् तर नजिक पर्न सक्दैनन् भनेजस्तै आज मुलुकमा यस्तै भइरहेको देखिएको छ ।
तत्कालीन भारतीय सत्तापक्षका साथै युरोपस्थित विविध मुलुकहरूको सहयोगबाट स्थापना गरिएको कथित गणतन्त्रलाई आफैले ल्याएको भ्रम छरिरहेका, विविध पार्टीका नेताहरू आज श्री ५ विरुद्ध घण्टौँ घण्टा बोलिरहेका देखिन्छन् । उनीहरू संसद्देखि सडकसम्म बोलिरहेका छन् ।
प्रजातान्त्रिक मान्यतामा व्यक्तिको वाक स्वतन्त्रता र आत्मसम्मान भनेको उसको जन्मसिद्ध अधिकार हो भन्ने महसूस गर्न नचाहनेहरू ‘राजाको पालामा बोल्न पाइँदैनथ्यो’ भन्ने एकोहोरो रट् लगाइरहेका देखिन्छन् । नेपाली राजनीतिक दलका नेताहरूले श्री ५लाई लक्षित गरेर बोलेका अपशब्द एवम् अपब्याख्यालाई संजाल प्रयोगकर्ताले दोब्बर मात्रामा गालीको वर्षा गर्दै फर्काइरहेका देखिन्छन् । यस अवस्थालाई एक राष्ट्रप्रेमीले युरोपियन मुलुकबाट हेर्दा देशमा वर्तमान राज्य प्रणालीले लिएको गलत बाटोको कारण नागरिकले दुःख पाइरहेको देखिएको प्रस्ट देखिएको छ ।
राजनीतिक दलका नेताहरूको प्रस्तुत शैली हेर्दा वर्तमान राज्यसत्ता र राज्य व्यवस्था सधैंको लागि आफ्नै मुट्ठीमा रहिरहनेछ भनिरहेका छन् । यहाँ उनीहरूले भुलिरहेकाछन् कि यस्ता राजनीतिक परिवर्तनहरू संविधानको दायराभित्र बसेर ल्याउन बिरलै सम्भव छ । साथै राज्यसत्ता हरदम ‘एकै विचार या एकै व्यक्तिको अधीनमा’ रहँदैन ।
०६२/६३ पछिको परिवर्तनपश्चात श्रमिक निर्यातको कम्पनी खडा गरेको वर्तमान राज्यसत्तासँग आजका युवाहरू आक्रोशित छन् । जनताको लालनपालन जिम्मा लिन्छु भनेर कुर्चीमा पुगेका नेता तथा यिनैको सरकारले जनताका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन । लाखौँ युवाहरू रोजगारी तथा आफ्नो भविष्यको सुनिश्चिता खोजिरहेको छन् तर राज्यसत्ता कानमा तेल हालेर बसेको छ । प्रजातन्त्र प्राप्तिपछिका हरेक सरकार जनताको सेवाको लागि भन्दै शपथ खाएर सरकारमा जान्छन् तर जनताको आवाज सुन्न नचाहेको अवस्थामा देखिन्छन् । पछिल्लो समय मुलुक जलिरहेको छ उता सत्ताधारी बाँसुरी बजाइरहेका छन् !
पछिल्लो समय जोडतोडसंग उठिरहेको राजसंस्था समेतको प्रजातान्त्रिक व्यवस्था स्थापनाको चर्को बहसले यस ब्यवस्थामा लाभको पदमा रहेर कुनै न कुनै रुपमा लुटेकाहरू आज सबैभन्दा त्रसित देखिएका छन् । जसले लुटेका छैनन् तिनीहरू बोलेका छैनन् । यदि कतै बोलेका छन् भने ‘बोल्ने अधिकार हरेक नागरिकलाई भएजस्तै राजालाई पनि छ’ भनिरहेका छन् । अर्थात्, सभ्य भाषामा बोलिरहेका छन् । राजनीतिक पार्टीभित्र रहेका इमान्दार नेताहरू जो आजसम्म राज्यको लुटमा भागिदार नभएकाहरू राजसंस्था या कुनै ब्यवस्था आउँदा उनीहरूलाई कुनै डरत्रासको अवस्था नरहने महसूस गरेका प्रतीत हुन्छ । यस्ता नेताहरू नेकपा माओवादी, नेकपा एमालेदेखि नेपाली कांग्रेसमा प्रशस्त रहेका देखिन्छन् । राप्रपाको यहाँ कुरा गर्न आवश्यक ठानिएन ।
व्यवस्था ठिक थियो भने नेपाली कर्मठ, इमान्दार श्रमिकले मलेसिया, अरब राष्ट्रहरू, कोरिया निर्माण गरिरहँदा नेपाल निर्माण गर्न किन सकेनन् भन्ने सत्तामा रहेको एमाले नेताहरूले ध्यान दिएको पाइँदैन । अझ बुझ्नुपर्ने विषय भनेको राज्यको चाबी लिएकाहरू राज्य बनाउन रातदिन लाग्नुपर्नेमा आफ्नो समयको ९५ प्रतिशत हिस्सा जागरणसभाका नाममा ‘कु’व्यवस्थाको वकालत गर्न खर्च गरिरहेका छन् ।
०६२/६३ सालमा आफैले प्रहरीलाई ढुङ्गा हानेर ल्याएको ब्यवस्था हामीले नै हो भन्ने गोयबल्स कुरा गर्ने गगन थापाहरू भन्दा कुनै इलम, कमाइको वैध श्रोत नभएका तर राम्रै जीवन बिताइरहेका विश्वप्रकाश शर्माहरू राजसंस्था स्थापनाको बहसबाट छटपटाइरहेका छन् । (यहाँ मैले बाबुराम भट्टराई जस्ता व्यक्तिको कुरा गर्न आवश्यक ठानिनँ, किनकि उनी कुरा गर्न मात्र नभइ विरोध गर्नसमेत लायक छैनन् ।) कांग्रेस संस्थापक समेत रहेका बिपी कोइरालाको चेला हुँ भनेर आफूलाई चिनाउन प्रयास गर्ने शर्मा पत्रकारिता पृष्टभूमिबाट नेपाली कांग्रेसको राजनीतिमा लागेका ब्यक्ति हुन् । यिनै शर्मा संसारमा कुनै पनि राजाको कुनै दल र चुनाबचिन्ह हुँदैन भन्ने थाहा पाउँदापाउँदै पनि ‘श्रीपेच चुनावचिन्ह लिएर चुनावमा आउनुहोस्’ भनिरहेका छन्, चिच्चाइरहेका छन् । शर्मा आफै चिच्चाइरहेका हुन् या चिच्याउनु भन्ने निर्देशन हो- स्वयम् नेपाली कांग्रेसको ठुलो पंक्तिले बुझ्न सकिरहेको छैन । प्रजातन्त्रको जननी भनेर चिनाउने नेपाली कांग्रेसको आज कुनै आफ्नै ‘विचार’ छैन भन्ने थाहा नपाएका शर्माहरू आफ्नै कछाडले आफ्नो अनुहार छोप्दै राजसंस्था नै मुलुकको दुर्गतिको कारण भनिरहेका छन् ।
०६२/६३ को नियोजित आन्दोलनताका आन्दोलनलाई बयलगाडाको उपनाम दिएका वर्तमान प्रधानमन्त्री केपी ओलीहरू आफै राज्यसत्ताको चाबी खल्तीमा राखेर सडकमा मञ्च बनाइ जागरणसभाका नाममा राजालाई गाली गर्न उद्यत् छन् । केपी ओली र उहाँको स्यालहुइँयामा दौडिनेहरूले बुझेनन् या बुझ्न चाहेनन्- व्यवस्था परिवर्तन हुँदैमा सबैथोक त नहुने रहेछ ! देशलाई आत्मनिर्भर बनाउन सोहीअनुरुपको बाटो राज्यले अवलम्बन गर्नुपर्ने रहेछ भन्नेमा ध्यान दिन छोडेर गणतान्त्रिक व्यवस्था ठीक हो भन्ने एकोहोरो रट् लगाइरहेका देखिन्छन् । यहाँ मनन गर्ने प्रयास गरिएको छैन कि आजसम्म मुलुक किन स्थिर अवस्थामा छ । हामीले शिक्षित युवालाई नेपालमै किन रोक्न सकेनौँ ?
व्यवस्था ठिक थियो भने नेपाली कर्मठ, इमान्दार श्रमिकले मलेसिया, अरब राष्ट्रहरू, कोरिया निर्माण गरिरहँदा नेपाल निर्माण गर्न किन सकेनन् भन्ने सत्तामा रहेको एमाले नेताहरूले ध्यान दिएको पाइँदैन । अझ बुझ्नुपर्ने विषय भनेको राज्यको चाबी लिएकाहरू राज्य बनाउन रातदिन लाग्नुपर्नेमा आफ्नो समयको ९५ प्रतिशत हिस्सा जागरणसभाका नाममा ‘कु’व्यवस्थाको वकालत गर्न खर्च गरिरहेका छन् । यहाँ जनताले प्रश्न सोधिरहेका छन्- सम्माननीय प्रधानमन्त्री ज्यु, तपाइले लिएको राज्यको चाबी जनतालाई गोली ठोकेर मार्नु भन्ने आदेशको लागि हो ? या काम गरेर जनताको आक्रोशलाई जवाफ दिँदै उनीहरूको मागलाई सम्बोधन गर्नु भन्दा जागरणसभाको नाममा आफ्ना लम्पटहरूलाई सम्बोधन गर्दै व्यवस्था बचाउनका लागि हो ?
विश्वमा कम्युनिष्टको प्रचारशैली गोयबल्स शैलीको हुन्छ भन्ने विषय नेपालगंजमा बीपीको शालिकलाई राप्रपाका नेताले कालोमोसो धसे भनेर एमाले महासचिव शंकर पोख्रेलले सामाजिक संजालमा लेखेको पढ्दा पंक्तिकार अचम्मित भएको थियो । धन्य ! उक्त इलाकाको नेपाल प्रहरीको अधिकृत पेशागत मर्यादामा रहेर वास्तविकता बोलेको कारण जनताबीच मुठभेड हुन पाएन । यसलाई मनन गर्ने हो भने सत्तापक्षीय पार्टीका महासचिवको ‘नियत’ कस्तो थियो भन्ने प्रस्ट हुन्छ । सत्ता पक्षीय महासचिवले सत्ताको बचावट र भ्रममा आफ्नो समयय खर्च गर्ने कि आफ्नो पार्टीको प्रधानमन्त्री भएको सरकारलाई जनताको आक्रोशको सूचना दिने ? एमाले महासचिव पोख्रेलजी, लम्पट कार्यकर्ताले जय–जय गरेको अवस्थामै तपाईं चलिरहने हो भने वर्तमान व्यवस्था धमिराले काठ प्वाल पारेजसरी पारिरहेको छ भन्ने तपाईंले कसरी थाहा पाउने ?
पछिलो समयको जनताको आक्रोशलाई हेर्दा, मनन गर्दा परिवर्तनको वेगलाई अब कसैले रोकेर रोकिने अवस्था छैन भन्ने प्रस्ट हुँदैछ । तर यसलाई संस्थागत रुपमा नेतृत्व गर्ने व्यक्तिको कमी भैरहेको देखिन्छ । मौनतामा यतिका शक्ति हुने रहेछ भन्ने विषय आज श्री ५ ले देखाउनुभएको छ । यसबाट हरेक नागरिकले ज्ञान लिने बेला आएको छ । ब्यवस्था परिवर्तनको जनताको मागलाई राज्यले जति बेवास्ता र दमन गर्छ, त्यति नै यो हुर्किने छ । यो प्रस्ट छ ।
प्रधानमन्त्री केपी शर्माज्यु, अझै समय छ । श्री ५ को राहदानी रद्द, संसदमा ल्याएर स्पष्टिकरण जस्ता घृणित विषयलाई आफ्ना कारिन्दामार्फत बोल्न लगाएर समय खेर फाल्नुभन्दा श्री ५ सँग सिधा वार्ता गर्नुहोस् । तपाईं र तपाईंका कारिन्दा सडकदेखि सदनसम्म चिच्याएको अवस्थाले भन्दा श्री ५ को मौनताले नेपालीको मन जितिरहेको छ । मुलुकमा थप क्षति हुनुभन्दा पहिला राज्यको चाबी लिएको कार्यकारी प्रधानमन्त्री भएको आधारमा तपाईंले पहिला आँखा खोल्नुहोस् । घमण्डको कुर्चीबाट जनता हिँड्ने सडकमा आएर महसुस गर्नुहोस् जनता के चाहन्छन् ? सोच्नुहोस्, राजसंस्थालाई स्पेस दिँदा तपाईंहरूको केही जाँदैन बरु इज्जत बढ्नेछ । तपाईंको नाम राजाको देशका नागरिकको हुनेछ । राजाको देशको आफ्नै खुट्टामा उभिएका प्रधानमन्त्रीको रूपमा तपाईंलाई विश्वले चिन्ने छ । मोदीलाई भेट्न तपाईंले अपहत्य गर्नुपनि पर्दैन, तपाईंलाई भेट्न मोदी नै नेपाल आउनेछन् । समयले सबैलाई हरदम पर्खिरहँदैन, तपाईंलाई पनि पर्खिने छैन, हेक्का रहोस् !
अन्त्यमा, राजनीतिक परिवर्तनको आन्दोलनमा रेलिङ्गमा उभिएका दर्शकलाई गोली हान्न लगाएर सडकमा ढालिएका कीर्तिपुका सविन महर्जन र पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई जिउँदै आगो लगाइएको विषयमा स्वतन्त्र न्यायिक आयोग बनाएर सत्य-तथ्य जनतासामु राख्ने काम गर्नुहोस् । प्रधानमन्त्रीज्यु, जनताले प्रधानमन्त्री केपी ओलीकै योजनाको कारणले व्यक्तिको हत्या भएको भन्ने आरोप लगाइरहेकाछन्, यो आरोपलाई असत्य सावित गर्नुहोस् । हैन भने इतिहासले तपाईंहरू सबैलाई कुनै दिन न्यायको कठघरामा उभ्याउने नै छ । तपाईं धर्म-संस्कार नमान्नुहोला, तर हामी त मान्छौँ । एक मनुष्यको चोलामा न्याय यसै जन्ममा हुनेछ । नभुल्नुहोस्, तपाईं पनि कुनै दिन अवश्य न्यायिक कठघरामा उभिनुपर्नेछ । टाढा जान्न, फिलिपिन्सका तत्कालिन शक्तिशाली राष्ट्रपतिको आजको अवस्थालाई हेर्नुहोस् र मनन गर्नुहोस् । जनताको परिवर्तनको मागलाई बन्दुकको नालले कतै रोकेको विश्व इतिहास छैन ।
जय नेपाल ।
प्रतिक्रिया