जुन देशमा शिक्षा सम्मानित छैन त्यो देशको उत्थान कसरी हुन्छ ? नेल्शन मण्डेलाको एउटा उक्ति छ- ‘कुनै देशलाई रसातलमा पुऱ्याउनु छ भने अरु केहि गर्नुपर्दैन, त्यो देशको शिक्षा ध्वस्त गरे पुग्छ ।’ त्यही भएको छ यहाँ !
✍ लक्ष्मणप्रसाद बस्याल
करिव दुई हप्तादेखि दैनिक लाखौँ शिक्षक सडकमा छन् । राज्यसत्ता चाहिएर हैन । सत्ता भत्काउन हैन । देशमा कानुनी राजका लागि आवाज घन्काइरहेका छन् । अहिले शिक्षाको शासन गर्ने देशभरी ७६१ कानून छन् । जसले जे व्याख्या गर्नसक्छ त्यही गरेको छ । कसैले आस्थाका आधारमा सरुवा गरेको छ । कसैले नियमतः नियुक्ति लिएर आएकालाई हाजिर नगराइ फर्काएको छ । कोही न्युन बेतनमा काम गरिरहेको छ । विद्यालय कर्मचारीको कुनै हिसाब छैन । शासक जो हिजो शिक्षककै फेरो समातेर आज त्यहाँ पुगेको छ, उसैले पटकपटक हेपेको छ । अपमान गरेको छ । जुन देशमा शिक्षक सम्मानित छैन, अरु कसको सम्मान हुन्छ ? जुन देशमा शिक्षा सम्मानित छैन त्यो देशको उत्थान कसरी हुन्छ ? नेल्शन मण्डेलाको एउटा उक्ति छ- ‘कुनै देशलाई रसातलमा पुऱ्याउनु छ भने अरु केहि गर्नुपर्दैन, त्यो देशको शिक्षा ध्वस्त गरे पुग्छ ।’ त्यही भएको छ यहाँ !
विद्यालयमा विषयगत दरबन्दी नपुग भएर माग गरेको तीन दशक पुग्यो । कतै ल्याब छ, सञ्चालन खर्च छैन । कतै ल्याबै छैन । पुस्तकालय छैन । कम्प्युटर छैन । विषयगत दरबन्दी छैन । भौतिक सुविधा छैन । त्यो सबै कहिले पूरा हुन्छ… त्यो पनि थाहा छैन । त्यसका लागि कसैले आन्तरिक व्यवस्थापनका लागि शुल्क उठायो भने सस्तो लोकप्रियताका लागि सिँहदरबारबाट नेताले गर्जन गर्छ ! निर्देशन दिन्छ- ‘शुल्क उठाए कारवाही हुन्छ’ !? क्या गजब छ !! विषयगत दरबन्दीको शिक्षक दिँदैन ! पाँच कक्षासम्म नपुग खाजा दिन्छ ! अरु कक्षाले हेरेर बस्ने ? निजी श्रोतबाट व्यवस्थापन गर्न खोज्यो भने आदर्श छाँटेर समाजवादको दुहाई दिन्छ ! सबै व्यवस्थापन भए किन स्कुलले शुल्क उठाउँछ र !? कागजमा लेख्दैमा समाजवाद आउँछ ? कि व्यवहार पनि चाहिन्छ ?
अहिले शिक्षामा जम्मा बजेटको करिव १० प्रतिशत छुट्टिएको छ । त्यसमध्ये ९० प्रतिशत बजेट तलब र प्रशासनिक पाटोमा खर्चहुन्छ । १० प्रतिशतको विकास खर्च पहुँचका भरमा जान्छ ! सामाजिक न्याय यही हो ? यही हो समाजवाद ? यसरी समाज कहिले उठ्छ ? कि नेता व्यवस्थापन भए पुग्यो ? नेपालीमा एउटा उखान प्रसिद्ध छ- ‘आफ्नो टाउको फुटेपछि मितको टाउको बेलै बराबर !’ यति हुँदापनि धन्न शिक्षकले ढुङ्गा उठाएको छैन । कोमल भनेको कमजोर हैन भन्ने देखाको छ शिक्षकले । गीत गाएको छ । चाडबाडको रमाइलोले हैन, भित्रैदेखि टुटेर । सडकमा सुतेको छ । खुशीले हैन, धैर्यको बाँध फुटेर । यो बाँध सम्हालिएन भने मै हुँ भन्ने धेरैलाई बगाउँछ, डोबै नदेखिन गरी ! सिनित्त पारेर पखाल्न सक्छ । यो एउटा सभ्य तर भयानक सङ्केत हो । ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ भन्छन् ।
विविध थरिका शिक्षक छन् । कति त राहतमै रिटायर्ड भैसके । रित्तोहात घर फर्के । इसिडिको पारिश्रमिकले चुरापोते पनि आउँदैन । कसको जिम्मा हो भन्ने पनि थाहा छैन । विशेष विद्यालयका शिक्षकहरूको दरबन्दी पनि कथा भएको छ । विद्यालय कर्मचारी कतै न कतैको भएको छ । ती सबै कुराको व्यवस्थापन ब्यवस्थित गरेर २१औँ शताब्दिको शिक्षा हुनुपर्नेमा यसको शुरु नै कहिले हुन्छ ? थाहा छैन । घाम लागे छुट्टी ! पानी परे छुट्टी ! विद्यालय अझै कति छन् ? व्यवस्थापनलाई थाहा छ ? छैन ! यसरी पनि हेप्न मिल्छ ?
पटक-पटक ‘हुन्छ..हुन्छ’ भनेर एक जुग बिताइएको छ । दुई पेजको शिक्षा ऐन बनाउन दुई दशक लाग्छ ? कसले पत्याउँछ ?
शिक्षा हेपिएको छ । शिक्षक हेपिएको छ । कविता वाचन गरेर आउँदैन समृद्धि । त्यसका लागि कार्यमुलक योजना हुनुपर्छ । योजनालाई बजेटले सम्बोधन गरेको हुनुपर्छ । शिक्षा सम्भ्रान्त हुनुपर्छ । शिक्षक सम्मानित हुनुपर्छ । यो सबै थाहा नभएर भएको भए सबैलाई चित्त बुझ्थ्यो । यहाँ त बुझेर पनि बुझपचाइएको छ । पटक-पटक ‘हुन्छ…हुन्छ’ भनेर एक जुग बिताइएको छ । दुई पेजको शिक्षा ऐन बनाउन दुई दशक लाग्छ ? कसले पत्याउँछ ?
शिक्षाको सम्मानका लागि शिक्षक सडकमा आएको छ । शिक्षकको सम्मानका लागि शिक्षक सडकमा आएको छ । देशलाई विकासको सही बाटोमा हिँडाउन पहिले शिक्षा व्यवस्थित हुनुपर्छ । त्यो कुरा सरकारले नसुनेपछि शिक्षक सडकमा आएको छ । जनताको छोरो अर्काको देशमा भाँडा माझ्न जान नपरोस् भनेर शिक्षक सडकमा आएको छ । अर्काको अगाडि अपमानित भएर बाँच्न नपरोस् भनेर सडकमा आएको छ । यो भन्दा बढी कति स्पष्टिकरण दिनुपऱ्यो ?
‘अति भएपछि खति हुन्छ’ भन्छन् बुढापाका । शिक्षा हेपिनु भनेको समाज हेपिनु हो । यो खतिको तहमा पुगिसकेको छ । शिक्षकको धैर्यताले मात्र धानिएको हो । कुनैपनि बेला यो बाँध फुट्न सक्छ । यो प्रदर्शनी एउटा चेतावनी हो । शान्त भएको चाहिँ आँधीअघिको सन्नाटा हो । यो हुनुमा सोह्रैआना विभिन्न समयका सरकार जिम्मेवार छन् । शिक्षकले राजनीति गर्नहुन्छ कि हुँदैन? त्यो अर्को थेशिस हो । कुन हदसम्म गर्नुपर्छ ? छुट्टै छलफलको विषय हो । तर आज शिक्षकले जुन आवाज बुलन्द गरिरहेको छ, त्यो नितान्त प्राविधिक हो । देशको संस्कारका लागि हो । समाजलाई सही दिशा प्रदान गर्न हो । जायज हो । शिक्षकको यो आन्दोलनमा नागरिक, अभिभावक, विद्यार्थी, देशभक्त कर्मचारी सबैले साथ दिनुपर्छ ।
कुनै नीति आफैमा खराब हुँदैन जबसम्म नियत सफा हुन्छ । बेलायतमा लिखित संविधान छैन । तर, नागरिक सर्बोच्चता ब्यवहारमा छ । यहाँ कागजको घोडा छ ! व्यवहार !? कसैले व्याख्या गरिरहनु पर्दैन । आजको यो अवस्था सरकारको गैरजिम्मेवारीको परिणाम हो । सरकारकै गैरजिम्मेदारीले आज सम्मानित शिक्षकलाई सडकमा ल्याएको छ । त्यसैले यससँग जोडिएका क्षतिको सबै जिम्मा सरकारले लिनुपर्छ र यथासक्य छिटो यो आन्दोलनलाई सम्बोधन गर्नुपर्छ ।
प्रतिक्रिया