कसैको विचार फरक हुँदैमा उसले नेपाली राष्ट्रिय झण्डा बोक्नै मिल्दैन भन्ने गगन थापाको ‘चेतना’लाई अब नेपाली जनताले के भन्ने ? यिनै व्यक्ति भोलि नेपाली कांग्रेसको पार्टी सभापति या नेपालको प्रधानमन्त्री बने भने यिनले चलाउने पार्टी र मुलुक कस्तो दिशामा जाला ? यो एक गम्भीर प्रश्न बनेर उभिएको छ ।
✍ सागर सुवेदी
प्रकृति या इश्वरले प्रदान गर्ने चेतना सबैले देख्छौँ तर धेरैले यस चेतनालाई सामान्य भन्दै नजरअन्दाज गर्दछौँ । जसले बुझ्न खोज्दछ यो चेतना अचम्मको देखिन्छ । एक पटक मनन गरौँ, जब कुनै मनुष्यको बच्चा यो धर्तीमा आउँछ तब उसले प्राप्त गरेको इश्वरीय चेतना भनेको आमाको स्तनपान हो । स्तनपानमा पनि आमाले बच्चाको मुखलाई आफ्नो स्तनमा लगेर राखिदिएर थोरै निचोरेर केही थोपा दुध बच्चाको मुखमा खसालीदिँदा बच्चाको इश्वरीय चेतनाले स्तनपान गर भन्ने आज्ञा दिन्छ । सोही आज्ञालाई बच्चाले बुझ्दछ ।
उसको इश्वरीय चेतना भनेको सुरुवाती दिनमा स्वास फेर्नुबाहेक भोकबाट सुरु हुन्छ । स्वास र भोकबाहेक अरु केही नहुने इश्वरीय चेतना बच्चाको उमेरसँगै बढ्दै जान्छ । बच्चाको बढ्दो उमेरसँगै अनेक प्रविधि साथै विषयबस्तुलाई बुझ्दै/सिक्दै जान्छ, उसको मानव चोलाको अन्त्य समय आइसक्दा पनि उसको सिकाइ र बुझाइको प्रक्रिया जारी रहन्छ । एकथरी मानिस आफूले खाने, सन्तान उत्पादन गर्नेबाहेक पनि समाजका लागि केहि गरौँ भन्दै लागिपर्छ, सके गर्छ नसके आफ्नो भोक तृप्त तुल्याउँदै जीवन गुजार्छ । एक खालका मानिसचाहिँ समाज सोच्दैन, केवल आफूलाई सोच्दछ, आफ्नो भोक तृप्ति र सन्तान उत्पादन क्रियाबाहेक उसको चेतनामा बाँकी विषय गौण बन्दछन् भने अर्को एक प्रकारका मानिस जीवनभर सिकाइको यात्रामा दौडिएको हुन्छ तर सबै कुरा सिक्न नपाउँदै उसको उमेरको कारण मृत्यु हुन्छ । त्यसैले कसैले भन्ने गर्दछन् जीवनको परिभाषा नै सिकाइ हो र सिक्ने क्रिया अन्तिम स्वाससम्म जारी रहन्छ ।
मानवमा यही चेतनाको कुरा गर्दा बाँकी प्राणीमा यो चेतनाको स्तर र तह नितान्त फरक छ । एक चौपायाले जन्म दिएको प्राणी स्वास-प्रस्वासपश्चात उठेर हिँड्न सिक्छ त्यसपछि उसलाई भोकको चेतना आउँछ, भोकसँगै उसको सुरक्षाको इश्वरीय चेतना उसले जन्म लिँदा नै पाइसकेको हुन्छ । तर उसले आफ्नो सुरक्षामा शत्रु को हो भन्ने प्रस्ट नहुँदा पनि डरको चेतना उसमा आइसकेको हुन्छ । उसले स्तनपान गर्नलाई आमाले खुवाउनु पर्दैन, उसको चेतनाले आफै थाहा पाउँछ कि उ बाँच्न स्तनपान आवश्यक छ । उक्त चौपायाको बच्चाको सिकाइको चेतना उमेर बढेसँगै शत्रु चिन्ने/बच्ने शक्तिसाली बन्ने, भोक मार्ने, सन्तान उत्पादन गर्ने बाहेक केही हुँदैन । उक्त चौपायाको जीवन यिनै सीमित चेतनामा रुमल्लिएर सकिन्छ ।
पन्छी-जगतलाई हेर्ने हो भने हिँड्नेको ठाउँमा उड्ने चेतनाबाहेकको फरक देखिँदैन भने पौडिने जगतमा पनि उड्ने र हिँड्नेको ठाउँमा पौडिने चेतना जन्मजात प्राप्त हुने गर्दछ, चरा उड्नका निमित्त मानवले साइकल चलाउन सिकेपश्चात मात्र साइकल चलाएजस्तै उड्न या पौडिन जन्मजात चेतनाबाट प्राप्त हुन्छ ।
ढुंगेयुगमा मानव स्वयम् चेतनामा फरक रहेको पाइन्थ्यो, उसको चेतनाको स्थिति सीमित थियो । मानवको विकाशक्रमसँगै चेतनाको स्तर समेत बढ्दै गएको देखिन्छ । हुन त आज पनि हामीले कुनै मानवलाई हेऱ्यौँ भने उनीहरूको स्थिति स्वास फेर्ने, भोक मेटाउने र सन्तान उत्पादन गर्नेबाहेको देख्न पाइँदैन ।
यसै विषयलाई लिएर नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाका बारेमा चर्चा गर्न चाहेँ । पाठकलाई लाग्न सक्छ- यहाँ मानिसको इश्वरीय चेतनाको कुरा भइरहँदा कांग्रेसका नेतासमेत रहेका गगन थापाका बारे चर्चा गर्न किन पऱ्यो । गगन थापा वर्तमान लुटतन्त्र नामक आयातीत लोकतन्त्रका विवादित एवम् चर्चित पात्र हुन् । हिन्दु धर्मको विरोध गर्दै नेपाललाई धर्म परिवर्तन गर्न सहज बनाउने संविधान निर्माणको समर्थन गर्ने पात्र हुन् । एमसीसी नामक ‘अमेरिकी भिक’लाई नेपालमा जबर्जस्ती भित्र्याउने नाममा आफूलाई प्रजातन्त्रवादी भन्दा एमसीसीवादी हुँ भनेर सार्वजनिक घोषणा गर्ने पात्र हुन् ।
एक अर्थमा बुझ्ने हो भने थापा नेपाली राजनीतिभित्रका केही सीमित व्यक्तिहरू जस्तै राजनीतिक स्टण्डबाज हुन्, यिनले जनताको बीचमा या मेडियामा कस्तो बोल्दा आफूप्रति सर्वसाधारण सोझा जनतालाई आकर्षण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्छन् र त्यस्तै पाराले बोल्दछन् । पंक्तिकारले गगन थापाले बोलेका हजारौँ ‘स्टण्ट-स्पिच’ सुनेको छ । विशेष तयारी गरेर बोल्ने थापाका सार्वजनिक भाषणले तिनै कम इश्वरीय चेतना भएका व्यक्तिलाई अत्यन्त छुने गर्दछ । ती व्यक्तिहरूले आजभन्दा २ वर्षपहिले गगन थापा के बोल्थे र आज के बोलिरहेका छन् भन्ने विषयलाई भुलिसकेका हुन्छन् । तिनीहरूसँग हुने इश्वरीय चेतना भनेको मलाइ भोक लागेको छ, म सुत्नु पर्दछ, मैले सन्तान उत्पादन गर्ने काम (यौन-व्यवहार) गर्न पर्दछ, अनि चुनावमा एक भोट नेपाली कांग्रेसलाई गगन थापाका नाममा हाल्नु पर्दछ । यसबाहेकको चेतना नभएका व्यक्तिहरूलाई गगन प्रिय लाग्दछन् साथै यिनी नै नेपाली जनताको उद्धारकर्ता हुनसक्ने व्यक्ति हुन् भन्दछन् । तर गगनले तिनीहरूको चेतनाको स्तरलाई बुझेर नै तिनीहरूले चाहेजस्तो बोलिरहेका छन् भनेर बुझ्ने त्यो इश्वरीय चेतना उनका कार्यकर्ताहरूमा हुँदैन ।
गगनले संसद् भवनमा सुन्य समयलाई प्रयोग गर्दै ‘रवि लामिछानेले सहकारीबाट लिएको रकमको प्रमाण मसँग छ’ भन्दै एक चिर्कटो प्रदर्शन गरे । तर गगन थापाले भनेजस्तै आजसम्म कुनै अनुसन्धानले पनि रवि लामिछानेले सहकारीबाट प्रत्यक्ष ऋण लिएको कुनै कागज बाहिर ल्याउन सकेका छैनन् । यो पनि गगनको एउटा स्टण्ट कला नै थियो ।
कीर्तिपुरको मेयर-निर्वाचनताका थापाको ‘स्टण्ट’ भाषण भाइरल बन्यो । एक साधारण नगरपालिकाको मेयरको निर्वाचनमा मुलुकको कार्यकारीकै निर्वाचन हुँदैछ भनेजत्तिकै गरी जनतालाई भ्रमित पार्ने नियतले कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाइ लाखौँ कमाउन सकिन्छ भन्दै ‘स्टण्टबाजी’ भाषण गरे । तर गगन स्वयम्लाई थाहा छ- राज्यले नीति निर्माण तहमा रहेर त्यस्ता प्रकारका विशेष कार्यक्रम नबनाएसम्म ल्यापटप लिएर सीमित व्यक्तिले लाभ लिए तापनि आम युवाले उक्त ‘स्टण्ट’ भाषणबाट केही पाउँदैनन् । तथापि, गगन बोलिरहन्छन् । उनको अर्को स्टण्टको कुरा गर्ने हो भने संसद् भवनमा सुन्य समयलाई प्रयोग गर्दै ‘रवि लामिछानेले सहकारीबाट लिएको रकमको प्रमाण मसँग छ’ भन्दै एक चिर्कटो प्रदर्शन गरे । तर आजसम्म कुनै अनुसन्धानले पनि गगन थापाले भनेजस्तै रवि लामिछानेले सहकारीबाट प्रत्यक्ष ऋण लिएको कुनै कागज बाहिर ल्याउन सकेका छैनन् । यो पनि गगनको एउटा स्टण्ट कला नै थियो ।
आज गगन थापाले ‘नेपाली राष्ट्रिय झण्डा हाम्रो हो तर यसलाई मण्डलेहरूले बोकिरहेका छन्’ भन्दै फेरि अर्को स्टण्ट भाषण गरे । थापाका विगतका हजारौँ स्टण्टलाई आजको समयमा दाँजेर हेर्दा यिनी नेपाली राजनीतिका एक चर्चित स्टण्टबाज तर ‘डेट एक्सपायर’ पात्र रहेछन् भन्ने आफूलाई प्रमाणित गरे । विगत २० वर्षदेखि नेपाली राजनीतिको केन्द्रमा रहेका थापा जस्ता पात्रले ‘नेपाली राष्ट्रिय झण्डा हरेक नेपालीको शिर हो र हरेक नेपालीले बोक्न पाउने वैधानिक अधिकार छ’ भन्ने बुझ्न/बुझाउन कन्जुस्याइँ गरे । यहाँ गगनको चेतनालाई हामीले मनन गर्नुपर्छ, आखिर यस हदको न्युन या तुच्छ चेतना गगनलाई किन आयो त ? यसको जवाफ हो- उनी स्वयमको न्युन इश्वरीय चेतना !
यहाँ अचम्म मान्नुपर्ने विषय भनेको यिनका मतदाता साथै यिनलाई गगन दाइ भन्नेहरूले गगनले बोलेका सबै शब्द प्रिय मान्दछन् । तर वास्तवमा गगन थापाले पछिल्लो समय बोलेको स्टण्ट पहिलाका स्टण्टहरू भन्दा अत्यन्त निन्दाजनक र नेपालीपन भन्दा बाहिर रहेर बोलिरहेका देखिन्छन् यिनलाई आफ्नो सर्वप्रिय नेता भन्नेहरू यिनले कालोलाई सेतो भनेछन् भने पनि ताली पिट्ने गर्दछन् । पछिल्लो गगनको भनाइलाई हेर्ने हो भने उनको जति निन्दा गर्दा पनि कमी नै हुन्छ । कसैको विचार फरक हुँदैमा उसले नेपाली राष्ट्रिय झण्डा बोक्नै मिल्दैन भन्ने गगन थापाको ‘चेतना’लाई अब नेपाली जनताले के भन्ने ? यिनै व्यक्ति भोलि नेपाली कांग्रेसको पार्टी सभापति या नेपालको प्रधानमन्त्री बने भने यिनले चलाउने पार्टी र मुलुक कस्तो दिशामा जाला ? यो एक गम्भीर प्रश्न बनेर उभिएको छ ।
आज, गगन थापा सयौँ पजेरो, प्राडोको लाइन लगाएर देशदौडाहा गरिरहेका छन्, यिनलाई यी सब गर्नका निमित्त श्रोत परिचालन कसले गरेको छ, कसैलाई थाहा छैन । पारदर्शिताको सवालमा गगनमाथि नेपाली जनले विगतदेखि नै आरोप लगाइरहेका देखिन्छन् । आरोप लागेको व्यक्तिले आफूलाई पारदर्शी बनाउँदै लैजानको साट्टो अपारदर्शी काम यिनबाट भएको छ । मेरो सार्वजनिक प्रश्न छ गगन थापालाई- के तपाईं काङ्ग्रेसको सभामा जाँदाको खर्चको हिसाब पारदर्शीरूपले जनतासामु राख्न सक्नुहुन्छ ? तपाईं जस्तो २० वर्ष नेपाली राजनीतिको केन्द्रमा रहेर गरेको खर्चलाई ‘मलाई शुभचिन्तक पार्टीका साथीहरूले समन्वय गरेका हुन्’ या ‘सांसद भएवापतको पारिश्रमिकबाट गरिएको खर्च हो’ भनेर उम्कन खोज्दा जनताले पत्याउने अवस्था देखिँदैन ।
नेपाललाई ३० वर्षसम्म शेरबहादुर, केपी, प्रचण्डहरूले घुमाइरहे, एक हिसाबले भन्नुपर्दा जनतासामुको राज्यसत्ताको परीक्षामा यी सबै नेताहरू फेल भइसके । पछिल्लो समय यिनै नेताको नेतृत्वक्षमता साथै राज्य संचालनको असक्षमताबाट आजित बनेका जनताको सहयोगमा रवि लामिछाने नेपाली राजनीतिमा उदाउँदै थिए, यिनको पहिलो परीक्षा पनि राष्ट्रिय परिचयपत्रमा आएर फेल भइसक्यो । समग्ररूपमा भन्दा यिनी नेताहरू आफूले प्राप्त गरेको राज्यशक्तिको समयमा सदुपयोग गर्न नसकेको कारण आज नेपाली जनताको आक्रोश चरम बनेर पुरानो ब्यवस्था नै ठिक भन्दै सडकमा आइरहेका छन् । अब, केपी ओली, शेरबहादुर देउवा र प्रचण्डको ठाउँमा गगन थापा, वर्षमान पुन, शंकर पोख्रेलहरू आए भने फेरि यिनीहरूको वर्तमान प्रस्तुति र यिनीहरूले गर्ने कार्यसम्पादनलाई हेर्दै नेपाली जनताले अर्को ३० वर्ष बर्बाद पार्नुपर्ने हुन्छ । यसो हुनु भनेको नेपाल र नेपालीमाथि ठुलो अभिसाप तथा दुर्भाग्य सावित हुनेछ ! नेपाल र नेपालीको भाग्यमाथि फेरि अर्को प्रहार भएको मानिनेछ ।
अन्त्यमा, नेपाली नागरिकहरूले आफ्नो ‘इश्वरीय चेतना’को स्तरलाई यथास्थितिमा नराखी फरक दृष्टिकोणबाट महसूस गर्नुपर्ने भएको छ । वर्तमान नेपाली संविधान, यसमा रहेका अन्तरबस्तुको अनि कार्यकर्ता नेताका कब्जामा हुने प्रणाली र वर्तमान गणतन्त्र नामको नेतामुखी र नेता एवम् तिनका कार्यकर्ताले मात्र लुट्न पाउने व्यवस्थाको अन्त्यसँगै नेपाली माटो सुहाउँदो अभिभावकीय राजसंस्थाको स्थापना गर्नेतर्फ आफ्नो इश्वरीय चेतनालाई प्रयोग गर्न सक्यौँ भने हाम्रै जीवनकालमा नेपाल समृद्ध बनेको आफ्नै आँखाले देख्न र भोग्न पाउने छौँ । पछि पछुताउनु भन्दा आजै आँखा खोल्दा देशको हितमा हुनेछ । पहिला नेपाली नागरिक बनेर मात्र पार्टीको कार्यकर्ता बन्दा नेपाल र नेपालीको हितमा हुने पङ्क्तिकारको ठहर छ । अस्तु !
जय नेपाल । जय जननी ।
प्रतिक्रिया