पत्नीहत्या अभियोगमा श्रीमानसहित परिवारका ६ जना पक्राउ

पत्नीहत्या अभियोगमा श्रीमानसहित परिवारका ६ जना पक्राउ


सुनसरीको धरानमा हत्या गरी फालिएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा उनका श्रीमान्, देवर, देउरानीसहित ६ जनालाई पक्राउ गरी प्रहरीले बिहीबार (४ बैशाख) सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार हत्याका आरोपीलाई झापाको काँकडभिट्टा तथा र मोरङ्का विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । मृतक चुनकुमारीका श्रीमान् धनकुटाको महालक्ष्मी नगरपालिका-२ का ३१ वर्षीय प्रेमबहादुर बुढाथोकीलाई यही वैशाख ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरिएको हो ।

चुनकुमारीको हत्यामा उनकै आफन्तजन संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिमल्सिनाले बताए । उक्त घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका-३ का २९ वर्षीय ढकेन्द्र बुढाथोकी, २५ वर्षीया सृष्टि बुढाथोकी र ४० वर्षीय केशवराज दाहाल, पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ का ३६ वर्षीय योगेन्द्र गौतम र २८ वर्षीय डेनु गौतमलाई पक्राउ गरिएको छ । भारतको आसाम तेजपुरका ३५ वर्षीय राजु थापामगर भने फरार रहेका छन् ।

प्रहरी उपरीक्षक तिमल्सिनाका अनुसार हत्या गरिएकी चुनकुमारी र प्रेमबहादुरबीच केही समयदेखि मनमुटाव र झगडा थियो । श्रीमान् प्रेमबहादुरको योजना अनुसार जङ्गलमा लगेर चुनकुमारीको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको उनले बताए । हत्या गरिएको ठाउँबाट प्रहरीले तीन मोटरसाइकल समेत बरामद गरेको छ । चुनकुमारीको शव गत चैत २५ गते धरान उपमहानगरपालिका-६ पाचँकन्या सामुदायिक वनभित्र फेला परेको थियो ।

photo: rss