युक्रेन र अमेरिकाले गरे संयुक्त समझदारीपत्रमा हस्ताक्षर

युक्रेन र अमेरिकाले गरे संयुक्त समझदारीपत्रमा हस्ताक्षर


युक्रेन र संयुक्त राज्य अमेरिकाले किएभको प्राकृतिक स्रोत तथा खनिजमा अमेरिकाको पहुँच रहने सम्झौतासहितको समझदारीपत्रमा हस्ताक्षर गरेको किएभ स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

युक्रेनको पुनर्निर्माणका लागि आर्थिक साझेदारी सम्झौता र लगानी कोषको स्थापनाका अमेरिकी समझदारीपत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा खुसी भएको युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल एक्समार्फत बताएकी छन् ।

किएभ र वासिङ्टनले केही हप्ताअघि युक्रेनको खनिज उत्खनन् गर्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएकोमा गत फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबिच उत्पन्न असमझदारीले सम्झौता प्रक्रियामा अवरोध पुऱ्याएको थियो ।

अमेरिकाका पूर्वराष्ट्रपति बाइडेनले युक्रेनलाई दिएको सहायताको क्षतिपूर्तिको रूपमा राष्ट्रपति ट्रम्पले युक्रेनी स्रोतसाधनको उत्खननबाट हुने नाफामा अमेरिकी रोयल्टी भुक्तानी चाहेको बताइएको छ ।

युलिया स्विरिडेन्कोले समझदारीपत्रको विवरण प्रकाशित नगरी अन्तिम सम्झौता कायम र सुरक्षित गर्न निरन्तर काम जारी रहेको उल्लेख गर्दै भनेकी छन्, ‘युक्रेनको पुनर्निर्माण, पूर्वाधार विकास व्यापार सहयोग र आर्थिक अवसरका लागि लगानी आकर्षित गर्न यो कोष प्रभावकारी माध्यम बन्ने आशा छ ।’

अमेरिकी अधिकारीहरूले युक्रेनमा अमेरिकी व्यापारलाई बढावा दिनाले युद्धविराम कायम गरी रुसलाई भविष्यको आक्रमणबाट रोक्न मद्दत गर्ने बताएका छन् । किएभले भने निरन्तर रुपमा चलिरहेको युद्ध रोक्नका लागि सम्झौता तथा सैन्य सुरक्षा ग्यारेन्टीको लागि दबाब दिइरहेको छ ।