नेतापिच्छेका गुट । नेतापिच्छेका विचार । नेतापिच्छेका धारणा । नेतापिच्छेका ‘रेस्टुरेन्टे बैठक’ । नेतापिच्छेका भेला । सबै गर्ने ‘प्रजातान्त्रिक छुट’ काङ्ग्रेसमा देखिन्छ । बैठक समेत नगरी समय गुजारिएको पाइन्छ । सरकारमा पनि छ । सत्ताको प्रमुख निर्णायक शक्ति पनि हो । तर, कुनै प्रस्ट विचार, दृष्टिकोण, व्यवस्थापन, रेकर्डिङ र सिक्नलायक अभ्यास केही पनि देखिन्न । यसरी पनि चलेकै छ काङ्ग्रेस !
✍ डा. प्रेमराज सिलवाल, अधिवक्ता
संसदमा सीट सङ्ख्याको हिसाबले मुुलुकको सबैभन्दा ठूूलो पार्टी नेपाली काङ्ग्रेसको गर्विलो आन्दोलनकारी, क्रान्तिकारी तथा परिवर्तनकारी इतिहास रहेको कुरा प्रस्टै छ । प्रजातन्त्रप्रतिको उसको निष्ठामा शंका गर्नु पर्दैन । त्यसको ‘साँवा र ब्याज’सहित काङ्ग्रेस पार्टीले राजकीय तथा शासकीय भूमिकासमेत प्राप्त गर्दै आयो, गरि नै रहेको छ । जनताले भोटको माध्यमबाट समर्थन पनि गर्दै आएका छन् । राणा शासनको अन्त्य नगरेको भए, पञ्चायती निरंकुशताविरुद्ध नलडेको भए तथा निरंकुश राजतन्त्रकाविरुद्ध राजनीतिक, वैचारिक र संगठित प्रतिरोध नगरेको भए मुलुकले लोकतन्त्र प्राप्त गर्न सक्ने अवस्था थिएन । त्यो अर्थमा काङ्ग्रेसको भूमिका महत्वपूर्ण रह्यो ।
लोकतन्त्रप्राप्तिमा काङ्ग्र्रेस अडिग रह्यो । जेल, नेल र यातना सहेका नेताहरू यस पार्टीभित्र धेरै छन् । यो पक्ष काङ्ग्रेसको सकारात्मक पाटो भयो । यहीकारण काङ्ग्रेस र एमाले जस्ता प्रमुख पार्टीसँग बढी अपेक्षा र आशा पनि भएको हो । जोसँग अपेक्षा र आशा बढी हुन्छ आलोचना, गाली तथा आक्षेप पनि त्यसैले सहनुपर्ने हुन्छ । यही इतिहास भएकाले होला आलोचना सहने शक्ति पनि काङ्ग्रेसमा बढी छ ।
नेपाली काङ्ग्रेस पार्टीको विचार, कार्यक्रम, उद्देश्य, नीति तथा गतिविधि आम नेपालीको सार्वजनिक चासोको विषय समेत हो । यसर्थ काङ्ग्रेसले गाली र ताली दुवै खाँदै आयो । बढी भूमिका भएको ठूलो दलले अपजश पनि बढी खानु अनौठो होइन । यसैले हामी आलोचनात्मक ढंगले लेखिरहेका छौँ, बोलिरहेका छौँ, पढिरहेका छौँ र आलोचना पनि गर्दैछौँ ।
गैरकाङ्ग्रेस र नयाँ पुस्ताका धेरैले काङ्ग्रेसलाई बुझेका छैनन् । लोकतन्त्रप्राप्तिको आन्दोलनका क्रममा यो पङ्तिकार नेपाली काङ्ग्रेसका नेता उमेशजङ्ग रायमाझीसहितका विभिन्न नेताहरूसँग सँगसँगै प्रहरी नियन्त्रणमा बसेको थियो । त्यही कारण लेखक काङ्ग्रेसको लोकतन्त्र र नागरिक स्वतन्त्रताप्रतिको अटल विश्वासमा शंका गर्दैन । धेरै मानिस त्यहाँ अहिले पनि त्यागी, निष्ठावान र आस्थावान छन् । यो साँचो हो । नयाँ पुस्तालाई त्यो सब इतिहासको जानकारी भएन । काङ्ग्रेसले पनि ‘सुन्नेगरी’ भनेन, भन्न जानेन र कसैले सोध्दापनि सोधेन ।
काङ्ग्रेसका नेता धनी छन्, पार्टीचाहिँ गरिब छ । नेता नाफामा छन् । पार्टीचाहिँ घाटामा छ । काङ्ग्रेसमा आउन, जान, बस्न, छोडन, बोल्न, आलोचना गर्न र आफूखुसी गतिविधि गर्ने ‘स्वतन्त्रता’ सबैलाई रहेको पाइन्छ ।
अहिलेचाहिँ सार्वजनिक आलोचना र सामाजिक सञ्जाल पढ्ने हो भने काङ्ग्रेस ‘सकिनै लागेको’ प्रतीत हुन्छ । ‘कुहिएको फर्सी’ भइसकेको भान हुन्छ । मानिसहरू खुलेर आलोचना गरिरहेका हुन्छन् । तथानाम गाली गर्दछन् । आम नागरिक र सामाजिक सञ्जालमा बढी अभ्यस्त भएकाहरू प्रधानमन्त्री ओली, काङ्ग्रेसका सभापति देउवा र शीर्ष नेताहरूलाई सुन्नै नसक्नेगरी आलोचना नगरी सुत्नै सक्दैनन् । यसअर्थमा आचोचना सहनु र चुप रहनु देउवाको प्रमुख शक्ति बनेको देखिन्छ । उदेकलाग्दो विषय त के भने ‘देउवाबाट पार्टी चल्दैन’ भन्दै काङ्ग्रेसका शीर्ष तहका नेता नै देउवालाई सार्वजनिक आलोचना गरिहिँडेका हुन्छन्, अनि बिहानै बुढानीलकण्ठ पुगेर ‘जयनेपाल दाइ’ भन्न पनि तिनैले भ्याएका हुन्छन् ।
जसलाई जे मन लाग्छ बोल्ने छुट काङ्ग्रेसमा रहेको छ । नीति, विचार, सिद्धान्त, दर्शन र मूल्यमा कोही बसेको देखिन्न । काङ्ग्रेस ‘त्रिशुलीको रातो आलु’ जस्तो भइसक्यो, जेमा पनि मिल्ने ! जुनसुकै प्रकारको ‘लाइफ स्टाइल’मा बाँच्न पाउने स्वतन्त्रता त्यहाँ छ । समुन्द्रमा खोला, हिलो, मैलो, धुलो, फोहोर सबै बग्न सकेजस्तो अवस्था छ काङ्ग्रेसमा । ‘दाइ’ वा ‘दिदी’ पुकारेपछि पुग्यो । आफ्नो निजी पक्षधरता भयो भने उसलाई ‘सातखत माफ’ हुने परम्परा बसालियो । त्यसरी नै आफ्ना ‘भाइबैनी’लाई सदस्यता बाँडिन्छन् । आलोचना गर्नेहरू नै निर्वाचनमा रुखमा भोट पनि खसाल्दछन् । ‘दाइ, भाइ, दिदी, बहिनी जयनेपाल’ भन्ने भाष्य आमरूपमा बोलिएको देखिन्छ ।
काङ्ग्रेसका जुनसुकै पेशा, व्यापार र व्यवसायबाट पैसा कमाउन सक्नेले अकुत कमाएको छ । नेता धनी छन्, पार्टीचाहिँ गरिब छ । नेता नाफामा छन् । पार्टीचाहिँ घाटामा छ । काङ्ग्रेसमा आउन, जान, बस्न, छोडन, बोल्न, आलोचना गर्न र आफूखुसी गतिविधि गर्ने ‘स्वतन्त्रता’ सबैलाई रहेको पाइन्छ । अधिवेशन हुन्छ । अर्काे अधिवेशन कुन समयमा हुने कुनै टुङ्गो हुँदैन । केन्द्रीय समितिको बैठक कहिले बस्ने हो कुनै ठेगान हुँदैन । वर्षमा दुई पटक बैठक बसेर पनि पार्टी चलेकै छ । केन्द्रमा विभाग छन्, सदस्य छैनन् । पूर्णता नपाउँदै अर्काे महाधिवेशन आइपुग्दछ । भातृसंगठन छन् । अधिवेशन गर्दैनन् । जिल्ला र वडास्तरसम्म कमिटी छन् । अपडेट छैनन् । नियमित बैठक हुँदैन । कसैले किन बैठक बसिनस् भनेर प्रश्न गर्दैन । बैठक नबसे पनि समिति कायम हुन्छ । बैठकमा नआएपनि सदस्यता कायम हुन्छ । समितिको खास आधिकारिक धारणा भन्ने हुँदैन । ‘दाइ वा दिदी’ले जे बोल्छन् त्यही हुन्छ । संस्था ‘जीवित’ छ । संस्थागत निर्णय केही छैन । देउवाले कहाँ कस्तो निर्णय गर्दछन् कसैलाई जानकारी हुँदैन । कसैको सल्लाह आवश्यक हुँदैन । संस्थागत निर्णय आवश्यक पर्दैन ।
‘कालीमाटीको तरकारी बजार’ जस्तो प्रकारले केन्द्रीय कमिटीको बैठक ‘लाइभ’मा गरेको पनि देखिन्छ । हल्ला गर्ने गरेका छन् । उठ्ने उठेका छन् । बस्ने बसेका छन् । सुत्ने सुतेका छन् । बाहिर जाने गएका छन् । भित्र पस्ने पसेका छन् । क्यान्टिनमा चिया खाने उतै छन् । मोवाइल खेल्ने खेलेका छन् । बोल्नेले बोल्छन् । ध्यान लगाएर सुन्ने कोही हुँदैनन् । यसरी पनि काङ्ग्रेसको पार्टी चलेकै छ । लाग्छ- काङ्ग्रेस विभिन्न ‘पेटी ठेकेदारहरू’को ‘दारु गफ गर्ने’ ‘महासंघ’ वा ‘पाटी’ हो । यो त भयो कार्यशैलीगत, व्यवस्थापन र संगठनको तरिका । त्यो भन्दा पनि गम्भीर अर्काे विषय छ । त्यो हो मुलुकको संवैधानिक, राजनीतिक र सार्वजनिक विषयमा नेपाली काङ्ग्रेस पार्टीको ‘दृष्टिकोण’ ।
काङ्ग्रेस ‘त्रिशुलीको रातो आलु’ जस्तो भइसक्यो, जेमा पनि मिल्ने ! समुन्द्रमा खोला, हिलो, मैलो, धुलो, फोहोर सबै बग्न सकेजस्तो अवस्था छ । जसलाई जे मन लाग्छ बोल्ने छुट काङ्ग्रेसमा रहेको छ । नीति, विचार, सिद्धान्त, दर्शन र मूल्यमा कोही बसेको देखिन्न । जुनसुकै प्रकारको ‘लाइफ स्टाइल’मा बाँच्न पाउने स्वतन्त्रता त्यहाँ छ ।
सर्वाधिक संवेदनशील र गम्भीर मुद्दामा समेत काङ्ग्रेस पार्टी ‘गतिहीन’ र ‘दृष्टिकोणविहीन’ प्रकारले चल्दैछ । संवैधानिक र राजनीतिक प्रणाली निर्माणमा काङ्ग्रेसको अग्रिणी भूमिका भए पनि संस्थागत निर्णय, प्रस्ट अडान र मुलुकको राजनीतिक, संवैधानिक र सार्वजनिक विषयमा दिशानिर्देश गर्नुपर्ने अवस्थामा चाहिँ काङ्ग्रेस ‘बाटोमा फुक्का छाडेको छाडा साँडे’ जस्तो बनिदिन्छ । बोल्नुपर्ने कुरामा ‘मौनता’ प्रदर्शन गरिदिन्छ । चर्काे राजनीतिक बहस भएको बेला देउवा देशभित्रै छन् वा देशबाहिर भन्ने थाहै हुन्न ।
लोकतान्त्रिक संघीय गणतन्त्र काङ्ग्रेस, एमाले र माओवादी सहितका तत्कालिन सात दल तथा नागरिक समाजको निरन्तरको संघर्षबाट प्राप्त भयो । २०६२/६३ को जुलुसले मात्र गणतन्त्र आएको होइन । २००७ सालदेखिको संघर्ष, बलिदान, द्वन्द्व र सशस्त्र संघर्ष समेत जोडिएको प्रस्टै छ । त्यहाँ काङ्ग्रेसले जनताको पक्षबाट लडेको हो । गाँठी कुरोचाहिँ जतिबेला मुलुकमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र लोकतान्त्रिक संविधानमाथि प्रतिगामी र अराजकतावादीको प्रहार हुन्छ, त्यसबेला काङ्ग्रेसको मूल नेतृत्व ‘मौन’ बसिदिन्छ । केन्द्रका पदाधिकारी र नेताचाहिँ आफूखुसी ‘भीडको पपुलिस्ट’ भाषा बोलिदिन्छन् । आफूखुसी बोल्नेलाई कसैले प्रस्टीकरण पनि सोध्दैन । तराईमा गए एउटा कुरा बोल्ने । पहाडमा गए अर्काे बोल्ने । हिन्दुमा गए धर्मनिरपेक्षता हुनुपर्ने भन्ने नेता धेरै छन् । नेतापिच्छेका बोली हुन्छ । कुन नेतालाई जनताले विश्वास गर्ने भन्ने अन्यौल भएकै छ ।
कोही नेता ‘म त ज्ञानेन्द्रलाई राजा नै भन्दछु’ भन्ने, कोही संघीयता खारेज हुनैपर्छ भन्ने, कोही गणतन्त्र काम छैन भन्ने, कोही हिन्दुराज्य बनाउनैपर्छ भन्ने ! यस्तै छ काङ्ग्रेस पार्टीको ‘विचार र दृष्टिकोण’ । यसरी पनि चलेकै छ काङ्ग्रेस । नेतापिच्छेका गुट । नेतापिच्छेका विचार । नेतापिच्छेका धारणा । नेतापिच्छेका ‘रेस्टुरेन्टे बैठक’ । नेतापिच्छेका भेला । सबै गर्ने ‘प्रजातान्त्रिक छुट’ काङ्ग्रेसमा देखिन्छ । बैठक समेत नगरी समय गुजारिएको पाइन्छ । सरकारमा पनि छ । सत्ताको प्रमुख निर्णायक शक्ति पनि हो । तर, कुनै प्रस्ट विचार, दृष्टिकोण, व्यवस्थापन, रेकर्डिङ र सिक्नलायक अभ्यास केही पनि देखिन्न ।
यसरी, काङ्ग्रेस पार्टी विभिन्न नेताका ‘गुटको महासंघ’ जस्तो ‘पाटी’का रूपमा चलेको छ । आफू पनि गर्दैन, अरूबाट पनि सिक्दैन । व्यवस्थापन, कला, सीप, दक्षता र पार्टी सञ्चालनमा उत्कृष्ट देखिएको सहयात्री एमालेको संगतले पनि नसुधारिएको काङ्ग्रेस पार्टी कहिले सुध्रिएला ? जनता हेरेकोहेऱ्यै भइरहेका छन् । लोकतान्त्रिक संघीय गणतन्त्रप्रति त प्रस्ट हुन सक्नुपर्ने हो । कोही बात छैन । यसरी पनि काङ्ग्रेस पार्टी चलेकै छ !
प्रतिक्रिया