यतिबेलाका लोकतन्त्रवादी भनिनेहरू न लोकतन्त्रवादी हुन सके न त गणतन्त्रवादी नै । लोकतन्त्र र गणतन्त्र भाषणमा फलाकेर मात्र कोही लोकतन्त्र र गणतन्त्रवादी हुन सक्तैन । लोकतान्त्रिक हुन त लोकको हितमा केही गरिनु र केही असल काम गर्नु पनि पऱ्यो नि ! अहिलेको लोकतन्त्रमा त लुटतन्त्र छ, नेतातन्त्र छ ।
✍ राजेश ढुंगाना
गएको सालको अन्तिम महिनादेखि मुलुक दुर्भाग्यपूर्ण रूपले गणतन्त्रवादी र राजतन्त्रवादी कित्तामा विभाजित भएको छ । सक्रिय राजतन्त्रको अन्त्य भएको डेढ दशक पनि बित्न नपाउँदै ह्वात्तै राजसंस्थावादीहरूको सक्रियता र वृद्धि कसैको लागि दुर्भाग्य होला, कसैको सौभाग्य होला, जसलाई जे होस्- मुलुकका लागि भने त्यो त्यति सुखद पक्ष होइन ।
लोकतन्त्रको विकल्प सक्रिय राजतन्त्र वा अन्य कुनै पनि प्रकारको तानाशाही शासन व्यवस्था हुन सक्तैन र हुनु पनि हुँदैन । त्यसमाथि पनि नेपालको इतिहासमा राजतन्त्र कहिल्यै पनि लोकतन्त्र सँगसँगै हिँड्न सकेन । यसमा लोकतन्त्रवादीहरूको जिम्मा र दोष छैन । सम्पूर्ण जिम्मा राजाहरूकै छ । यदि राजतन्त्रले लोकतन्त्रसँगै हिँड्न चाहेको र हिँडिदिएको भए शायद राजतन्त्रले वर्तमानको नियति भोग्नुपर्ने थिएन । त्यसमाथि पनि शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको चरम अनुचित महत्वाकांक्षा राजतन्त्र समाप्तिमा पूर्ण रुपले जिम्मेवार छ । कोनि के गरिसकेपछि दैलो देखो भनेझैं समय बितिसकेपछिको अरण्य रोदनले अब राजतन्त्र फर्किनेवाला छैन, कुनै ठूलै क्रान्ति भएन भने ।
यसको अर्थ मुलुक वर्तमानकै बेथिति र कुशासनमा रहन पनि सक्दैन, बस्नु हुँदैन पनि । राजाले गरेका एकाध वक्तव्य र राजावादीहरूको लोकप्रियताका कारणले राजा र राजतन्त्रवादीहरूको स्वर बलियो भएर आएको होइन; दलहरूप्रतिको जनअसन्तुष्टि नै यसको मुख्य कारण हो । त्यस बाहेक गइसकेको सक्रिय राजतन्त्र पुनः फर्कने कुनै सम्भावना अहिलेको लागि छैन, कम्तीमा ।
अब रह्यो, प्रतिगमनको कुरा । निश्चय नै सक्रिय राजतन्त्रको पुनःआगमन प्रतिगमन नै हुनेछ । तर, लोकतन्त्रवादी र गणतन्त्रवादीहरू कुन चाहिँ अर्थमा अग्रगमनकारी देखिए त ? मूल कुरो यहाँ लुकेको छ । प्रतिगमन आखिर राजाले मात्र गर्ने होइन रहेछन्, कथित लोकतन्त्र र गणतन्त्रवादीहरू पनि आफैँमा प्रतिगमनकारी हुँदारहेछन् भन्ने कुरा हाम्रो मुलुकको वर्तमान स्थितिले टड्कारो रूपमा देखाइरहेछ । भ्रष्टाचार, अनियमितता र कुशासन पनि शतप्रतिशतको प्रतिगमन नै हो । यस अर्थमा ओली, देउवा र प्रचण्डहरू स्वयम् नै वर्तमानका प्रतिगमनकारी भएका छन्, जसले मुलुकलाई सितिमिति उठ्नै नसक्ने दलदलमा फसाएका छन् ।
यति ठूलो कुशासन र अनियमितताको दलदलमा वर्तमान नेतृत्वले मुलुकलाई फसाएका छन् कि, जनता भन्न थालेका छन्- प्रजातन्त्रको लडाइँमा मरेर जाने शहीदहरू बरू भाग्यमानी रहेछन्, तर हाम्रो दुर्भाग्य ! आफ्नै भनिनेहरूबाट लुटिनु पऱ्यो, बलात्कृत हुनु पऱ्यो !
यतिबेलाका लोकतन्त्रवादी भनिनेहरू न लोकतन्त्रवादी हुन सके न त गणतन्त्रवादी नै । लोकतन्त्र र गणतन्त्र भाषणमा फलाकेर मात्र कोही लोकतन्त्र र गणतन्त्रवादी हुन सक्तैन । लोकतान्त्रिक हुन त लोकको हितमा केही गरिनु र केही असल काम गर्नु पनि पऱ्यो नि ! अहिलेको लोकतन्त्रमा त लुटतन्त्र छ, नेतातन्त्र छ । त्यसमाथि मौखिक लोकतन्त्रवादीहरू राष्ट्रवादी त पक्कै हुन सक्तैनन् – लोकतन्त्र र गणतन्त्रका नाममा चरम राष्ट्रघात गरेपछि । लोक हितमा काम नगरिनु र नहुनु निश्चय नै राष्ट्रघात हो ।
यतिबेला मुलुकमा लोकतन्त्र छैन, नेतातन्त्र र चरम लुटतन्त्र छ । जसका कारणले मुलुक द्वन्द्व र अनिश्चयको भुमरीमा फसेको छ । झन् लोकतन्त्रवादी भनिनेहरूबाटै मुलुकलाई राजावादी र लोकतन्त्रवादी गरेर दुई कित्तामा बाँडेपछि लोकतन्त्रको विकल्प राजतन्त्र जस्तो देखिएको छ । यसरी दलहरूका अज्ञानी नेतृत्वले राजालाई स्थायी विकल्प र प्रतिपक्षका रूपमा स्थापित गरिदिएका छन् । र, आफ्नो खुट्टा आफैँ काटेका छन् । त्यो पनि आफ्नै दुष्कर्म छोप्नका लागि ।
तथापि वर्तमान नेतृत्वले आफ्नो दुष्कर्म छोप्न जति नै ठूलो प्रयत्न गरे पनि छोपिनेवाला छैन । देश र जनताका सामू वर्तमान नेतृत्व सम्पूर्णमा नाङ्गिइसकेको छ । मुलुकले कुशासन अनन्तकालसम्म सहिरहन सक्तैन भन्ने कुरा वर्तमान नेतृत्वले बुझ्ने प्रयत्न नगरे त्यसको उचित हिसाबकिताब नेपाली जनता स्वयम्ले गर्ने छन् । यति ठूलो कुशासन र अनियमितताको दलदलमा वर्तमान नेतृत्वले मुलुकलाई फसाएका छन् कि, जनता भन्न थालेका छन्- प्रजातन्त्रको लडाइँमा मरेर जाने शहीदहरू बरू भाग्यमानी रहेछन्, तर हाम्रो दुर्भाग्य ! आफ्नै भनिनेहरूबाट लुटिनु पऱ्यो, बलात्कृत हुनु पऱ्यो ! हो, आफ्नैहरूबाट र नितान्त आफ्नै भनिनेहरूबाट । जुन दुर्दशा कम्तीमा पनि मरेर जाने शहीदहरूले त देख्नु परेन !
प्रतिक्रिया