ताप्लेजुङमा बलेरो जीपमा करेन्ट लागेर मृत्यु भएका र घाइतेको खुल्यो पहिचान

ताप्लेजुङमा बलेरो जीपमा करेन्ट लागेर मृत्यु भएका र घाइतेको खुल्यो पहिचान


ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका-१० सेवारोचोकमा एक्कासी आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराईको रहेका छन् ।

त्यस्तै, घाइते हुनेमा ललितपुर-१० का ४५ वर्षीया सविना आचार्य उहाँका १० वर्षीय छोरा भविमय आचार्य छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आज (८ वैशाख) बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा बलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

photo: rss