जम्मू-कश्मीरको पहलगाममा पर्यटकमाथि आतङ्कवादी आक्रमण, एक नेपालीसहित कम्तीमा २६ जनाले गुमाए ज्यान

जम्मू-कश्मीरको पहलगाममा पर्यटकमाथि आतङ्कवादी आक्रमण, एक नेपालीसहित कम्तीमा २६ जनाले गुमाए ज्यान


भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मङ्गलबार (२२ अप्रिल) पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । यो आक्रमण कश्मीरमा विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको बताइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । दुःखद आतङ्कवादी आक्रमणको घटनापछि उनले आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएर राति नै भारत फर्किएका छन् ।

यो आक्रमण २२ अप्रिल सन् २०२५ मा जम्मुको बैसरान भन्ने स्थानमा भएको हो, जहाँ आतंककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन् । थप ३६ जना घाइते भएका छन्।

यस आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर-ए-तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छाया संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको एएफपीले जनाएको छ ।

प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, दोषीहरूलाई कारवाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् ।

यस घटनापछि भारतका गृहमन्त्री अमित शाह पनि सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू-कश्मीरको पहलगाममा भएको दुःखद आतङ्कवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गरेका छन् । सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहेको ह्वाइट हाउसको प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा समेत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘कश्मीरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्‍याएको छ। अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढतापूर्वक साथ दिनेछ। हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’