प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा

प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा


प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समा उहाँले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतङ्कवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्सर्ना गर्दछ ।’

उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।

परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि जम्मु कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ । साथै, उहाँले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ । ‘नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ’, एक्समा उहाँले लेख्नुभएको छ ।

परराष्ट्रमन्त्री डा. देउवाले उक्त दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताउनुभएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।