भारतीय विद्युतमन्त्रीको नेपाल भ्रमणले उर्जाक्षेत्रमा आशा जगाएको जिकिर

भारतीय विद्युतमन्त्रीको नेपाल भ्रमणले उर्जाक्षेत्रमा आशा जगाएको जिकिर


भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुईदिने नेपाल भ्रमण सकेर बुधबार (१० वैशाख) साँझ स्वदेश फर्किएका छन् । मन्त्री खट्टरको भ्रमणले नेपाल-भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति दिएको सम्बद्ध क्षेत्रमा चर्चा छ । नेपालमा उत्पादित विद्युत् निकासीका लागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने द्विपक्षीय सम्झौताले नेपाललाई सहयोग पुगेको बताइएको छ ।

प्रसारण लाइनको अभावमा नेपालमा उत्पादित विद्युत् खेर जानसक्ने चिन्ताकाबीच भारतसँग ४०० केभी क्षमताका अन्तर्देशीय दुई प्रसारणलाइन निर्माणका लागि सम्झौता हुनु ऐतिहासिक कदम मानिएको छ । सम्झौतासँगै अब बन्ने इनरुवा-न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ भने दोधारा-बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहनेछ । यी प्रसारण संरचनाले भारत-नेपाल विद्युत् कारोबारलाई सहज बनाउँदै ऊर्जा प्रवाहलाई भरपर्दो बनाउने आशा गरिएको छ ।

दुई देशबीच भएको सम्झौतामा नेपालको पूर्वी क्षेत्रमा उत्पादित विद्युत् इनरुवा-न्यु पूर्णिया अन्तरदेशीय प्रसारणलाइनबाट भारतसहित तेस्रो मुलुक बङ्गलादेशसम्म बिक्री गर्ने बाटो खुल्नेछ । नेपालको दोधारा र भारतको बरेली प्रसारण लाइन निर्माणपछि नेपालको पश्चिम क्षेत्रमा उत्पादित बिजुली भारतलगायत तेस्रो मुलुकमा बिक्री गर्न सहज हुनेछ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का इनरुवा-न्यु पूर्णिया र दोदोधारा-बरेली प्रसारण लाइन केबल संरचना मात्र नभएर दुई देशबीचको आपसी विश्वास र दीगो विकासतर्फको साझा यात्रा रहेको बताउँछन् । उनले भनेका छन्- ‘हामीले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौँ, भारतका समकक्षी मन्त्री खट्टरजीको भ्रमणले यो लक्ष्यप्राप्तिका लागि आवश्यक संरचना र सहकार्यमा महत्त्वपूर्ण टेवा पुऱ्याउनेछ ।’

भारतीय विद्युत्मन्त्री खट्टरले पनि नेपाल भ्रमणका क्रममा नेपालको ऊर्जा क्षेत्रमा भएको प्रगति भारतका लागिसमेत महत्त्वपूर्ण भएको बताएका छन् । अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा भएको उनको भनाइ थियो ।

भ्रमणका क्रममा मन्त्री खट्टरले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कासँग संयुक्त रूपमा सङ्खुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरे । दुवै मन्त्रीले आयोजनाको पावर हाउस र बाँधक्षेत्र निरीक्षण गर्दै निर्माण कम्पनीका प्रतिनिधिसँग आयोजनाको कामका बारेमा जानकारी लिएका थिए ।

यसैगरी, भारतीय मन्त्री खट्टरले पशुपतिनाथ मन्दिर र मुक्तिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरे । मुक्तिनाथ यात्राका क्रममा उनसँग ऊर्जामन्त्री खड्का र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी रहेका थिए ।

नेपाल भ्रमणकै क्रममा मन्त्री खट्टरले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

photo: rss