आतङ्ककारी हमलामा पाक सेनाको साथ !?

आतङ्ककारी हमलामा पाक सेनाको साथ !?


लामो समयको त्राशदीपूर्ण जिन्दगीबाट उन्मूक्ति पाएको महसूस गर्दै गरेका कास्मिरका बासिन्दामाथि पुनः अर्को बज्रपात भएको छ । मुस्लिम आतङ्ककारीको आततायी हमालाबाट निर्दोष छब्बीस पर्यटकहरूको हत्या भएपछि काश्मिरबासीहरूमा निराशा र अन्यौलको स्थिति उत्पन्न गराएको हो ।

पर्यटकीय आनन्द लिइरहेका मानिसहरूको भिडमा घुसेर मुसलमान आतङ्ककारीहरूले छानीछानी हिन्दूधर्मालम्बीहरूको हत्या गरेका थिए । उक्त घटनामा कास्मिर घुम्न गएका बुटवल निवासी सुदिप न्यौपानेको पनि हत्या भएको छ । आतङ्ककारीहरूले पर्यटकहरू मुसलमान भए/नभएको किटान गर्दै गैरमुस्लिमहरूको मात्र हत्या गरेका र यसक्रममा धार्मिक आस्थाबारे स्पष्ट हुन उनीहरूले गुप्ताङ्गसमेत जाँच गरेका थिए । कास्मिरमा धार्मिक आस्थाका आधारमा यसरी निर्दोष नागरिकको हत्या हुन छोडेको केही वर्ष भएको थियो ।

पाकिस्तानका सेनाप्रमुखले कास्मिरको शान्ति खल्बलिने प्रकारको उत्तेजक भाषण दिएलगत्तै भएको यो आततायी घटनामा पाकिस्तानी सेनाको समेत साथ रहेको विश्वास गरिन्छ । आतङ्ककारी हमलाको केही दिनअघि मात्र गैरआवाशीय पाकिस्तानीहरूको एक समारोहलाई सम्बोधन गर्दै पाक सेनापति असिम मुनिरले कास्मीर आफ्नो घाँटीको नसा (दिमाग र मुटु जोड्ने नसा जसलाई अङ्ग्रेजीमा जुगुलर भेन भनिन्छ) भएको र त्यहाँबाट कदापि पछि नहट्ने बरु डटेर मुकाबिला गर्ने बताएका थिए । मुनिरले आफूहरूको धर्म, सोच, शैली र महत्वाकाङ्क्षा भिन्न रहेको बताउँदै हिन्दू भन्दा मुसलमान अनेक दृष्टिले विशेष रहेको देखाउने प्रयास गरेका थिए । मुनिरले कास्मिरका मुसलमानहरूप्रति भातृत्व दर्शाउँदै भारतको नियन्त्रणबाट कास्मिरलाई मूक्त गर्न जस्तोसुकै कदम चाल्न पनि पछिनपर्ने बताएका थिए । उनको भनाइ थियो-‘भारतविरूद्ध लडिरहेका मुसलमान भाइहरूलाई आफ्नो जस्तोसुकै समर्थन र सहयोग रहनेछ, हामी पछि हट्नेवाला छैनौँ ।’

सेनापति मुनिरको यही उत्तेजक भाषणपछि कास्मिरमा आतङ्ककारी हमला भएकोले उक्त घटनामा पाकिस्तानी सेनाको समेत संलग्नता रहेको ठानिएको हो ।

केही वर्ष अघिसम्म कास्मिरमा भएका आतङ्की हमलामा पाकिस्तानी सेनाको प्रत्यक्ष र अप्रत्यक्ष संलग्नता रहने गरेको पाइएको थियो। र , भारतीय सेनाले पाकिस्तानी सीमाभित्रै पसेर आतङ्ककारीहरूलाई तह लगाएको थियो । अहिले पुनः त्यस्तै स्थिति पैदा भएको छ । आतङ्ककारी हमलाको खबर प्राप्त हुनेबित्तिकै साउदी अरेबियाको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तत्काल कार्यक्रम रोकेर स्वदेश फर्कनुभएको थियो भने गृहमन्त्री अमित शाह तुरुन्तै घटनास्थल पुग्नुभएको थियो । उक्त आतङ्की हमलापछि भारतले पाकिस्तानसङ्गको कुटनीतिक लगायत सबै प्रकारको सम्बन्ध तत्कालका लागि अन्त्य गरिदिएको छ ।