माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको प्रचण्डको विश्वास

माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको प्रचण्डको विश्वास


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिएका छन् । उनले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।

पार्टी संसदीय दलको आज (११ वैशाख) भएको बैठकमा उनले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद भइरहेको सुनाउँदै सरकारलाई पनि समस्या समाधानतर्फ लाग्न सुझाएको उनको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू संसदबाट पारित गराउन सबै सांसद सक्रिय हुनुपर्नेमा जोड दिए । तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उल्लेख गर्दै उनले जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको र त्यसले सङ्गठनलाई अझ मजबुत बनाएको बताए ।

बैठकमा पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे छलफल भएको बताइएको छ ।