नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उहाँले सिंहदरबार पुगेर पदबहाली गर्नुभएको हो ।
सो क्रममा उहाँले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताउनुभयो । आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उहाँले शिक्षा क्षेत्रका बारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।
तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।
राष्ट्रपतिको कार्यालयमा बिहीबार (११ वैशाख) आयोजित विशेष समारोहमा उहाँले शिक्षामन्त्री पन्तलाई शपथ गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवाराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।
नेकपा एमालेका नेता पन्तलाई प्रधानमन्त्री ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले शिक्षामन्त्री नियुक्त गर्नुभएको थियो । यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिनुभएको थियो ।
नव नियुक्त शिक्षामन्त्री पन्त समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
photo : rss
प्रतिक्रिया